पोखरा– आज चैत शुक्ल अष्टमी अर्थात चैत दशैं । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा प्रदेशभर वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताउनु भयो ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरूमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
लमजुङ कालिका मन्दिर गाउँशहर तथा दुराडाँडाँको तुर्लुङकोट कालिका मन्दिर परिसरमा मेला :
लमजुङको लमजुङ कालिका मन्दिर परिसर गाउँशहर तथा दुराडाँडाँको तुर्लुङकोट कालिका मन्दिर परिसरमा ठूलो मेला लाग्ने परम्परा छ । आज लमजुङ कालिका मन्दिर परिसर गाउँशहरमा धार्मिक महोत्सवको आयोजना स्थानीय लमजुङ कालिका क्लबले गरेको छ ।
प्रकाशित मिति २०८१ बैशाख ४, मंगलवार ०८:०३ गते