
पोखरा– मुक्तककारका रुपमा समेत चर्चित प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । त्यसो त उनी साहित्यकार तथा गीतकार हुन् । ७० वर्षीय उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बैशाख ४ गते दिउँसो निधन भएको हो ।
तीन घण्टाअघि मात्र ‘शब्दपथ’ले ‘प्रकट पगेनी शिव आईसीयूमा’ भन्ने समाचार पोस्ट गरेको थियो तर करीब करीब सोही समयमा अघि दिउँसो साढे ३ बजे उनले यो संसार छाडेको दुःखद खबर बाहिरियो ।
कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनी जन्डिस र निमोनियाबाट गम्भीर बिरामी परेका थिए । स्वास्थ्यमा एक्कासी समस्या आएपछि अघिल्लो दिनमा मात्र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज दिउँसो करिब साढे ३ बजेतिर निधन भएको उनका भतिज प्रज्वल पगेनीले जानकारी दिए ।
प्रकटका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ उनको चर्चित गीत हो । उनका गजल वाचन पनि साहित्यका पारखीहरू माझ प्रिय छन् । ‘अक्षरभरि अक्षता’, ‘प्रणय वेदका ऋचाहरू’, ‘यो मन कतै अल्झेको छ’ लगायतका कृतिका रचयिता प्रकट पछिल्लो समय पोखराको आफ्नो जन्मस्थान रूपा गाउँपालिकामा बसेर ‘यशस्वी कटेज’ सञ्चालन गरिरहेका थिए ।
पगेनीको वास्तविक नाम ‘शिवराज पगेनी हो । उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’ लगायतका कृति प्रकाशित छन् । पगेनीका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन् । २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कारबाट सम्मानित भएका थिए । उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन् भने प्रणयवेदका ऋचाहरू गजल संग्रह र अक्षरभरी अक्षता कविता संग्रह पनि प्रकाशित छन् ।
पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकट श्रृङ्गारिक गजल बहुचर्चित छन्् ।
पछिल्लो समय कास्कीको रुपा गाउँपालिकास्थित गाउँमै फार्म र कटेज बनाउँदै गरेका पंगेनी ३० को दशकदेखि साहित्य सिर्जनामा क्रियाशील भएका थिए ।
उनले नयाँ वर्षको सन्दर्भमा लेखेको मुक्तक यस्तो छ ः
मनमा राग पराग भए पो नयाँ बर्ष मनाउनु
भाइरलको प्रकोपले ग्रसित छु कस्तो खुशी जनाउनु
अर्को वर्ष बाँचिएछ भने तीनदिन अघि माया साटौला
त्यतिबेला यशस्वी कटेजलाई कटेज जस्तै बनाउनु ।
प्रस्तुत मुक्तकले नै उनी त्यो दिन भाइरल ज्वरोबाट ग्रसित भइरहेका रहेछन् भन्ने प्रष्ट हुन्छ । त्यति हुँदाहुँदै पनि सिर्जनामा रमाउने उनको विशेषता हो । भाइरल ज्वरोले उनीलाई मणिपाल शिक्षण अस्पताल पुर्यायो । अस्पतालले उनीलाई निमोनियालगायतको समस्या भएको थप पत्ता लग्यो । त्यसपछि सघन उपचार कक्षभित्र भेन्टिलेटर राखेर उपचार गरिएको थियो ।
उपचारमा मोटो रकम लाग्ने भएपछि आर्थिक संकलन अभियान थालिएको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । पोखरेली सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले २५ हजार राखेर उपचार कोष स्थापना गरेरै सार्वजनिक अपिल गरेका थिए । तर त्यसै दिन उनको निधन भएको हो ।
उनको भोलि दिउँसो १२ः१० बजे अस्पतालबाट आर्यघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।
प्रकाशित मिति २०८१ बैशाख ४, मंगलवार २०:०३ गते