नयाँदिल्ली– विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज बैशाख ७ गतेबाट आम चुनाव सुरु हुँदैछ । सात चरणमा गरिने सो चुनाव लोकसभाको ५ सय ४३ सिटका लागि हुने र समयावधि डेढ महिना लाग्ने तालिका छ । सो चुनावको परिणाम भने ४ जुनमा मात्रै आउने छ ।
भारतमा नयाँ सरकारका लागि भारतमा पहिलो चरणको लोकसभा चुनाव आज, १ सय २ सिटका लागि मतदान हुने तयारी छ । पहिलो चरणमा उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको सबै ५ सिटका तथा पश्चिम बंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २, छत्तीसगढको १ महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागालैंडको १, सिक्किमको १ र त्रिपुराको १ सिटका लागि २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।
नेपालसँग सिमा जोडिएको उत्तराखण्डको अलमोडा र नैनिताल, त्यस्तै उत्तरप्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।
सत्तारुढ भाजपा र विपक्षी कांग्रेस नेतृत्वको गठबन्धन पूरा शक्ति लगाएर चुनावी मैदानमा उत्रिएका छन् ।
सन् २०१४ देखि लगातार दोस्रो कार्यकाल भाजपाले चुनाव जितेको छ । उनले आफूले तेस्रो कार्यकाल पनि जित्ने पूर्ण आत्मविश्वास देखाएका छन् । ‘अबकी बार चार सय पार’ अर्थात ५ सय ४३ मध्ये चार सय सिट आफूहरूले जित्ने उनले दाबी गर्दै आएका छन् । १० वर्षमा सरकारले गरेको काम र उपलब्धीहरूलाई मोदीले जनता समक्ष बताइरहेका छन् । नरेन्द्र मोदी १० वर्षदेखि प्रधानमन्त्री छन् ।
पहिलो चरणमा केन्द्र सरकारका आठ जना मन्त्री, तीनजना पूर्व मुख्यमन्त्री प्रतिस्पर्धामा छन् । केन्द्रीय सडक तथा यातायात मन्त्री नितिन गडकरी नागपुर सिटबाट चुनावी प्रतिस्पर्धामा छन् ।
दक्षिणको सबैभन्दा ठूलो राज्य तमिलनाडुमा विपक्षी गठबन्धन बलियो मानिन्छ । अघिल्लो चुनावमा त्यहाँ भाजपाले एक सिट पनि जित्न सकेको थिएन । यसपटक भाजपाले त्यहाँबाट सिट हात पार्न पूरा जोड लगाएको छ । उत्तर प्रदेशको पिलिभित, सहारनपुर, बिजनौर, नगीना, मुरादाबाद, रामपुरमा भाजपालाई विपक्षी ‘ईन्डिया’ गठबन्धनले चुनौति दिने बताइन्छ । त्यहाँ द्विपक्षीय प्रतिस्पर्धा मानिएको छ । बिहारको औरंगाबाद, गया, जमूई र नावादमा पनि द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
भाजपाले आफ्नो घोषणा पत्रमा युवा शक्ति, महिला शक्ति, किसान र गरीबलाई सशक्त बनाउने विषयलाई प्राथमिकता दिएर हरेक वर्गको मतदातालाई आकर्षित गर्ने प्रयास गरेको छ । त्यस्तै, भारत विश्व शक्ति बन्न लागेको सन्देश दिन २०३६ मा ओलम्पिमको आयोजनादेखि वन नेशन वन एलेक्सन अर्थात हरेक तहको चुनाव एकै दिनको विषयलाई पनि घोषणा पत्रको मुख्य मुद्दाका रुपमा राखिएको छ ।
कोभिडका बेला गरीबलाई दिन थालिएको निःशुल्क रासनको अभियानलाई अर्को ५ वर्ष पनि निरन्तरता दिने, खाना पकाउने ग्यासको कनेक्सन र बिजुलीमा हरेक परिवारलाई आत्मनिर्भर बनाउन हरेक घरमा सोलार बिजुलीको कनेक्सन आदि घोषणा पत्रमा गरिएको छ । त्यस्तै, ५ लाख रुपैयाँ सम्मको निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टीलाई निरन्तरता, औषधिमा ८० प्रतिशतसम्म छुट भाजपा घोषणा पत्रको विशेषता छ ।
भाजपाले भ्रष्टाचार र परिवारवादको विरोध गर्दै विपक्षीभन्दा आफू अब्बल पार्टी रहेको भन्दै आएको छ । एकपछि अर्का विपक्षी नेताहरूमाथि प्रवर्तन निर्देशनालयद्वारा गरिएको कारवाहीलाई देखाउँदै विपक्षी नेताहरू भ्रष्ट रहेको भाजपाका नेताहरूले चुनावी भाषणमा आरोप लगाएर मतदातालाई भ्रष्टाचारविरोधी शक्तिलाई मतदान गर्न आव्हान गर्दै आएका छन् ।
यसैगरी, हिन्दु मतदातालाई आफू तर्फ ध्रविकृत गर्न हिन्दुत्वको कार्डलाई पनि भाजपाले सार्दै आएको छ । अयोध्यामा राम मन्दिर निर्माणको जस लिंदै त्यसलाई चुनावी प्रचारको मुद्दा बनाएको छ । भारतमा ८० प्रतिशत हिन्दु छन् । त्यस्तै, जम्मु कश्मिरले पाउँदै आएको विशेषधिकारको संवैधानिक धारा ३७० को खारेजी र मुस्लिम देशबाट भारत आएर बसेका गैर मुस्लिमलाई नागरिकता प्रदानको कानुन ल्याएको विषयलाई प्रचार गरेर हिन्दु मतदातालाई आफूतर्फ ध्रुविकृत गर्न अधिक बल लगाएको छ ।
उता प्रमुख विपक्षी दल कांग्रेसले घोषणा पत्रमा भाजपामाथि बेरोजगारी, महँगी बढाएको र समाजलाई विभाजित गरेको आरोप लगाएको छ । चुनावी बन्ड(इलेक्टोरल बन्ड) मार्फत सत्तारुढ भाजपाले भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसलाई भाजपा बिरोधी हतियारको रूपमा प्रयोग गरेको छ । लगातार तेस्रो कार्यकाल जितको खण्डमा भाजपाले लोकतन्त्रलाई नै संकटमा पु¥याउने कांग्रेसको दावी छ । कांग्रेसले आफ्नो सरकार बनेको खण्डमा ३० लाख नोकरी, २५ लाखको स्वास्थ्य विमा, जातिगत सर्भे र जातिगत जनसंख्या अनुसारको सरकारी लाभ, गरीब परिवारको एकजना महिलालाई वाषिएक एक लाख रुपैयाँ, बेरोजगार स्नातकलाई वाषिक एक लाख रुपैयाँ प्रदान गरिने विषयलाई महत्वका साथ ल्याएको छ ।
कृषि उपजलाई न्यूनतम मूल्य तोकिने र मजदुरको दैनिक ज्याला बढाइने जस्ता विषय प्राथमिकतामा राखिएको छ । भाजपालाई चुनौति दिन देशैभर कांग्रेसले क्षेत्रीय पार्टीहरुसँग चुनावी तालमेल गरेको छ । तर, पश्चिम बंगाल, पञ्जाब र केरलमा गठबन्धनमै रहेका दलहरूसँगै कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्नु पर्ने स्थितिले विपक्षीहरूबीच देशैभर कसिलो गठबन्धन हुन सकेको छैन ।
सर्वेक्षणको नतिजा भाजपाको पक्षमा ः
यसै साता आएको दुईवटा चुनावी सर्वेक्षणको नतिजा भाजपाको पक्षमा देखिएको छ । इंडिया टिभी र एबिपी टिभीको सर्वे रिपोर्टमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले अघिल्लो पटकको तुलनामा बढी सिट जितिरहेको दावी गरिएको छ ।
इण्डिया टिभीले एनडिएलाई र ३७८ सिट र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई ९८ सिट जित्ने सम्भावना देखाएको छ । त्यस्तै, एबीपीले एनडीएलाई ३७३ र विपक्षी गठबन्धन इन्डियालाई १५५ सिट दिएको छ । विपक्षी ‘ईण्डिया’ गठबन्धनले उक्त सर्वेलाई गलत भन्दै ईभिएमसँग(विद्युतीय मतदान उपकरण)सँग छेडछाड नगरिएको खण्डमा भाजपाले १ सय ८० सिट नकटाउने दाबी गरेको छ ।
मोदीले सन् २०४७ सम्ममा भारतलाई विकसित अर्थतन्त्रमा लैजाने लक्ष्य लिएका छन् । विश्वको पाँचौं अर्थतन्त्रको रुपमा अघि बढिरहेको भारतलाई आगामी निर्वाचनमा आफूले जितेमा यसलाई तेस्रो अर्थतन्त्रमा पु¥याउने मोदीको लक्ष्य छ ।
यसैक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार समाचार एजेन्सी एएनआइलाई करिब सवा घण्टाको अन्तर्वार्ता दिएका छन् जुन अहिले निकै चर्चामा छ । जसको सबै मेनस्ट्रिम टेलिभिजन च्यानलमा प्रसारित भएका थिए । सो अन्तर्वार्तामा प्रधानमन्त्री मोदीले राम मन्दिर, सनातन धर्म, दक्षिणको राजनीति आफ्नो विदेशनीति जस्ता मुद्दामा कुरा राखेका थिए । तर, इलेक्टोरल बन्डलाई लिएर उनले जे भने त्यसको निकै चर्चा र विवाद भइरहेको छ ।
विश्वको पाँचौ आर्थिक शक्ति बनेको भारतलाई आगामी कार्यकालमा तेस्रो र सन् २०४७ सम्ममा विकसित राष्ट्रको पंक्तिमा उभ्याउने ‘मोदी ग्यारेन्टी’का रूपमा प्रचार गरिएको छ ।
९६८ मिलियन मतदाता दर्ता ः
भारतको आगामी निर्वाचनमा करिब एक अर्ब आधिकारिक मतदाता रहेका छन् । अर्थात कूल ९६८ मिलियन मतदाता दर्ता गरिएकामा ४९७ मिलियन पुरुष र ४७१ मिलियन महिला छन् ।
तल्लो सदन लोकसभाका ५४३ सिटका लागि ५ वर्ष अवधिका लागि यो मतदान हुँदैछ । त्यहाँ सरकार बनाउनका लागि २७२ सिट चाहिन्छ । अघिल्लो पटक भारतीय जनता पार्टीले ३०३ सिट जितेको थियो । दोस्रो प्रतिस्पर्धीको रुपमा इन्डियन नेशनल कांग्रेसले ५२ सिट जितेको थियो । लोकसभामा राष्ट्रपतिले २ जना मनोनयन गर्ने भारतको संवैधानिक व्यवस्था रहेको छ ।
अहिलेसम्मको चुनावी माहोल हेर्दा भावी प्रधानमन्त्रीमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी नै अगाडि मानिएका छन् । प्रधानमन्त्रीका लागि मोदी तेस्रोपटक दौडमा छन् । यसअघि जवाहलाल नेहरु मात्र तीनपटक भारतको प्रधानमन्त्री भएका थिए ।
प्रकाशित मिति २०८१ बैशाख ७, शुक्रबार ०७:३८ गते