इलमपोखरी(लमजुङ)– चैतपूर्णिमाको शुभ अवसरमा इलमपोखरी स्थित सप्तकन्या मन्दिर परिसरमा लाग्ने मेलामा यो वर्ष विगतकाभन्दा फरक दृश्यहरू देखिए । एकातर्फ सरकारी सहयोगमासमेत तामझाम चल्दै थियो अर्कोतिर लोकसंस्कृति प्रेमीहरूले स्वस्फुर्त रुपमा लोकसंस्कृति संरक्षण कार्यमा व्यक्तिगत खर्च संकलन गरेर जुटिरहेका थिए । बैशाख ११ गते चैतपूर्णिमा लागेको मेलाका अवसरको त्यो दृश्य निकै रोचक, मनन, अध्ययन एवम् विश्लेषणयुक्त थियो ।
दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको सप्तकन्या मन्दिर परिसरमा हरेक वर्ष विशेष मेला लाग्ने गर्दछ । त्यो मेलाका मुख्य तीन विशेषता अर्थात बढी आकर्षणमध्येको ठाडोभाका एक हो । तर पछिल्ला वर्ष अर्थात मुलुकमा सशस्त्र द्वन्द्व चर्किदै गएको बेलामा यस स्थानमा एक युवाको हत्या हुनु, २०७२ सालमा भूकम्प जानु, त्यसपछि कोरोना– १९ को प्रकोपले बजारको रौनकमा शून्यता छाएको थियो ।
यही बीचमा मूलतः जिल्लामा रहेका मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ठाडोभाका लोककला प्रतिष्ठान नेपाल वामे सर्दै थियो । त्यो संस्थाका पदाधिकारीहरूका सामुमा ‘इलमपोखरी बजारको चैतपूर्णिमाको मेलामा २२– २५ खालसम्म ठाडोभाका गाउनेहरू हुन्थे, पाँच– सात दिनसम्म मेला चल्थ्यो’ भन्ने जानकारी आयो । त्यसपछि संस्थागत रुपमा नै ठाडोभाकाको जगेर्नामा लागेको पदाधिकारीहरूलाई त्यो क्षेत्रमा प्रतिष्ठानको तर्फबाट पनि कार्यक्रम गर्नु पर्छ भन्ने हुटहुटी जागृत भयो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार ०७९ सालको चैत पूर्णिमा मेलामा करिब दुई महिना अघिदेखि प्रचारप्रसार गरी ठाडोभाकाको कार्यक्रम लगिएको थियो । त्यो देखेपछि दूधपोखरी गाउँपालिकाकी तत्कालीन अध्यक्ष छुपीमाया गुरुङले ‘यो मेलाको गरिमा बढाउन ठाडोभाका लोककला प्रतिष्ठानले खेलेको भूमिकाको जत्ति प्रशंसा गरेपनि पुग्दैन ।’ भन्नुभएको थियो ।
त्यस वर्ष पनि दिनमा मात्र नभई रातभर जाग्राम बसेर समेत ठाडोभाकाको प्रस्तुतिका कार्यक्रम गरियो । गत वर्ष स्थानीय आयोजकबाट ठाडोभाकालाई वाइपास गरी छु्ट्टै कार्यक्रम तयार गरी प्रचार थालियो, त्यसप्रति ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आपत्ती व्यक्त गर्दै कार्यक्रम बहिस्कार गर्यो । यो वर्ष पनि ठाडोभाकालाई पुछनी गर्ने सम्मका काम गरिएन । ‘गाउँपालिकामा हामी पनि कार्यक्रम गर्छौंं, आर्थिक सहयोग दिनुस्’ कार्यक्रमका संयोजक एवम् प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टिमाया तामाङले भन्नु हुँदा ‘दूधपोखरी गाउँपालिकाका अध्यक्षबाट कार्यक्रम गर्न त रोकतोक छैन, आर्थिक सहयोग सुको दिन सकिंँदैन ।’ भन्ने जवाफ दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठान उपर प्रतिष्ठाको प्रश्न उठ्यो । त्यसपछि जनस्तरको सहयोगबाट जे जस्तो हुन सक्छ त्यस्तै कार्यक्रम गर्ने निर्णय गरी ठाडोभाकाको प्रस्तुति एवम् छायांकनको कार्यक्रम बैशाख ११ गते गरिएको हो ।’
लोकसंस्कृतिको महत्व कहिले बुझ्छन् जनप्रतिनिधिहरूले ?
.यस घट्नाले लोकसंस्कृतिको महत्व जनप्रतिनिधिहरूले कहिले बुझ्छन् ? भन्ने प्रश्न मात्र उब्जिएको छैन आधुनिक टाइपका गीत तथा दोहोरीहरूबाट नेपालको मौलिकता बाचिरहन सक्छ ? भन्ने प्रश्न समेत उठेको छ ।
तर त्यही मन्दिर परिसरको सन्मुखमा भने दूधपोखरी गाउँपालिकाकै अध्यक्षको प्रमुख आतिथ्यतामा तामझामका साथ आधुनिक सांस्कृतिक कार्यक्रम गरिएको थियो । यसबाट एकातर्फ सरकारी सहयोगमा समेत तामझाम चल्दै थियो, अर्कोतिर लोकसंस्कृति प्रेमीहरूले स्वस्फुर्त रुपमा व्यक्तिगत खर्च जुटाएर लोकसंस्कृति संरक्षणका कार्य गरिरहेको दृश्य निकै रोचक, मनन, अध्ययन एवम् विश्लेषणयुक्त रहेको प्रत्यक्षदर्शीहरूले बताए ।
इलमपोखरी मेलाको विशेषता : ठाडोभाका, ठेलो र जुवा :
इलमपोखरीमा लाग्ने चैत पूर्णिमाको मेलाको विशेषता भनेको ठाडोभाका, ठेलो र जुवा हो भन्ने पुराना पाका मानिसहरू बताउँछन् । सकारात्मकतातर्फ भन्दा नकारात्मकतर्फ लाग्न उद्दत नेपाली समाजले ठाडोभाका जस्तो मौलिक पहिचानको विषय वस्तुलाई जगेर्नाको कामलाई अन्देखा गरे पनि ‘जुवा’ जस्तो लत छाड्ने कुरै भएन । अघि पछिका दिनमा प्रहरी प्रशासनको पहुँच भएको स्थानमा त जुवाको खालबाट जुवाडे, जुवाका सामग्री तथा नगद बरामद भएका समाचार बारम्बार आइरहन्छन् भने इलमपोखरीमा चैत पूर्णिमाको अवसरमा लाग्ने मेलामा प्रहरी प्रशासनको पहुँच पुग्न सक्ने प्रश्नै भएन । त्यहाँ त्यस्ता गतिविधि हुन्छन् भन्ने कटुसत्य तथ्यबाट प्रशासन जानकार छैन भन्न मिल्दैन । गैर पोशाकधारी कति सुत्र र स्रोत हुन्छन् प्रशासनका भने हिजैको दिउँसो मेलामा पनि २, ४ जना प्रहरी नदेखिएको भने हैन । तर उनीहरूले जुवा खेलेको सायद नदेखेझैं गरे । त्यस वरपरको भित्री जंगलमा कौडा समेत हानि(खेलि)एको (गएराति) जानकारीमा आएको छ ।
ठेलो हान्नेमा पनि यु्वापुस्ताको आकर्षण न्यून :
इलमपोखरीमा चैत पूर्णिमाको अवसरमा लाग्ने मेलाको मुख्य विशेषतामा ठेलो हान्ने पनि एक हो । यो वर्ष ठेलो हान्ने युवाको संख्यामा पनि उल्लेख्य संख्या देखिएन । यसखेलमा पनि मुलुकबाट युवा पलायन भएको प्रष्ट दृश्यको आंकलन गर्न सकिन्थ्यो । त्यसैले सो प्रतियोगितामा जम्मा ११ जनाले मात्र भाग लिएको बताइएको छ । तीमध्ये दोर्दी गाउँपालिका– ५ फोर्जुङका गोविन्द गुरुङ पहिलो भए भने र सोही स्थानका कुमार गुरुङ र दूधपोखरी गाउँपालिका– २ ठूलोढुंगाका बीरबहादुर तामाङले बराबर टुममा ठेलो फ्याँक्न सफल भएको काररण दुवै पुरस्कृत भएको आयोजकको भनाइ छ ।
मेलाका नाउँमा मनपरी शुल्क :
उक्त मेलाका अवसरमा स्थानीय युवा क्लबका नाउँमा स्वयम् सेवकको काम गरिएको भएता पनि उनीहरूले त्यसलाई पैसा जोड्ने माध्यम बनाएको खुल्न आएको छ । त्यहाँ पुगेको दर्जनौं मोटरसाइकललाई एक सय रुपैयाँ, जिप, भ्यानको तीन सय रुपैयाँ र ठूलो बसको पाँच सय रुपैयाँ पार्किङले शुल्क लिएको देखियो । त्यसरी पैसा असुलेर स्वयम्सेवाको काम हुन्छ ? कतिपयले प्रश्न गरेका थिए ।
त्यस्तै, खानाप्रति छाक पाँच सय रुपैयाँ, एक मिनरल वाटरको ५० रुपैयाँ लिइएको थियो भने अन्य प्रायः सबै वस्तुको मूल्य दोब्बर रहेको जानकारीमा आएको छ । उमालेको सादा एक ग्लास पानीको समेत ५० रुपैयाँ लियो, खान लागेको त्यो पनि रक्सी राखेको ग्लास रहेछ पिउनै नसकेर फ्याँके, पैसामात्र खेर गयो लमजुङ रत्न साप्ताहिकका प्रकाशक एवम् समाचार संयोजक सुधा ढकालले बताउनु भयो । तुलनात्मक रुपमा सेल रोटी प्रति गोटाको २५ रुपैयाँ रहेछ, अन्य वस्तुभन्दा सस्तो लाग्यो नेपाल अर्वुद रोग निवारण संस्थाका जिल्ला उपाध्यक्ष नवराज बरालले बताउनु भयो ।
यसरी महंगो शुल्क तिर्नु पर्दा मनमनै ‘प्रशासनले किन निगरानी नगरेको होला ?’ भनेर सोच्ने तथा त्यसबारेमा खासखुस कुरा गर्ने धेरै भेटिन्थे तर उनीहरू प्रतिकार गर्न सक्ने हैसियतमा नभएका कारण वर्षदिनमा एक दिन मेलामा आइएको छ, २, ४ सयको के लोभ गर्ने भन्दै चित्त शान्त गर्दै मनपरी शुल्कको मूल्य चुकाइरहेका देखिन्थे । त्यो दृश्यले यो देशमा सरकार पनि छ र ? भन्ने वस्तुगत तथ्य नराम्रोसँग उदाङ्गिएको थियो ।
मेला भनेपछि रक्सी पर्यायका रुपमा आइहाल्छ । रक्सीले मातेका युवा बीचमा आपसी मनोमालिन्य नहुने प्रश्नै भएन । यो मेलामा पनि गएराति करिब ११ बजेतरि त्यस्तो मुडभेडको स्थिति देखिएको थियो । एक जनाको टाउकोसमेत फुटेको थियो । पछि दुवै पक्षमा लाठी लिएरै तयार देखिन्थे तर मध्यस्थकर्ताहरूको भूमिकाले अप्रिय घट्ना घट्न पाएन । करिब एक दशक अघि एक युवाको त्यस्तै झगडामा ज्यान समेत गएको छ तर पनि प्रहरी प्रशासनले त्यो ठाउँमा गस्ती बढाउन यो समाचार तयार गर्दासम्म अनुभूति गरेको देखिदैन/पाइएको छैन ।
पैसा लिएर उफ्रने राष्ट्रिय कलाकार र निःशुल्क कलाकारिता पस्किने ठाडोभाकाका गायक कुन ठीक ?
सो अवसरमा स्थापित दुई मञ्चको दृश्यले पैसा लिएर उफ्रने राष्ट्रिय कलाकार र निःशुल्क कलाकारिता पस्किने ठाडोभाकाका गायक कुन ठीक ? भन्ने प्रश्न समेत उब्जिाएको छ । राष्ट्रिय कलाकारको जमघट हुने भनिएको स्थानमा स्थानीय पालिकाका पदाधिकारीहरू समेत देखिन्थे मात्र हैन प्रखुम र विशेष अतिथि समेत बनेका थिए ।
उता, ठाडोभाकाको कार्यक्रममा स्थानीय सरकारका कुनै प्रतिनिधि देखिएनन् । त्यसबारेमा सो कार्यक्रममा प्राविधिक सहयोग गरिरहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालसँग सम्पर्क गर्दा जिल्लामा भएको मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनको जिम्मा स्थानीय सरकारको समेत हो । हामी उनीहरूलाई सहयोग गर्न तयार छौं, हामीले छुट्टै भत्ता पनि खोजेको छैनौं, कार्यक्रमस्थलसम्म आउने जानेका त्यो दिनको खाना, खाजा खर्च मञ्च व्यवस्थापन आदि हेरिदेउ भन्दा पनि ‘पैसा त सुको दिन सकिन्न’ भन्ने जवाफ पाएपछि दूधपोखरी गाउँपालिकाका पदाधिकारीलाई बोलाउनु पर्ने आवश्यकता देखिएन । कालकारको यातायात खर्च बेहोर गर्ने बचन दिएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी जिल्ला बाहिर हुनुभएको हुँदा सो पालिकाका उपाध्यक्ष विच्छा घलेलाई प्रमुख अतिथिका रुपमा निम्ता गरेको हो, उहाँ पनि अबेरसम्म आउनु भएन, कति कुर्ने भनेर कार्यक्रम सुरु गरियो, उहाँ आएपछि उदघाटन लगायतका मञ्चको काम हुन्छ सो कार्यक्रममा प्रविधिक सहयोग गर्ने प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो ।
तर दोर्दीका उपाध्यक्ष विच्छा घले पनि राती १०ः४५ बजे कार्यक्रमस्थलमा पुग्नु भएको हुँदा मञ्चका औपचारिक कुनै कार्यक्रम नगरी ठाडोभाकाको प्रस्तुति र छायांकनको काम मात्र गरियो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार हामी कहाँ छौं ? के सोच्छौं ? स्थानीय तहका पदाधिकारीहरू कहाँ छन् ? र उनीहरूको सोच कतातिर छ ? उहाँले भन्नुभयो, ‘के भौतिक निर्माणका काम गर्नु मात्र विकास हो ? मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका कार्य गर्नु राज्यको दायित्व हैन ? तथा स्थानीय तहको भूमिका हुँदैन ?’ सिंहदरबार घरघरमा आयो भनिएको छ तर यस्तो लोक कलाकारिताको स्थिति छ, हामी कलासंस्कृति, साहित्यका क्षेत्रमा बस्नेहरूले राज्य आफ्नो अभिभावक भएको अनुभूति गर्न कहिले पाउने हो ? लोकतान्त्रिक गणतन्त्र आएको यतिका वर्ष बित्दा पनि हामी अझै कति दिन टुहुरो भएर रहनु पर्ने हो ? पहाडीले प्रतिप्रश्न गर्नुभयो ।
बरु साँझपख राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ पुग्नु भएको थियो । उहाँलाई प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा सहितले स्वागत गर्नु भएको थियो ।
७४ वर्षीयदेखि १९ टिमद्वारा ठाडोभाका प्रस्तुत :
उक्त कार्यक्रममा ८३ वर्षका तन्नेरी प्रतिष्ठानका कार्यकारी सदस्य अमरध्वज गुरुङसमेत सहभागी हुनुहुन्थ्यो । उहाँ गायनमात्र हैन बाध्यवादनमा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो । त्यसबाहेक ७४ वर्षीय मानसिंह गुरुङले प्रतिष्ठानकी उपाध्यक्ष एवम् स्थापित गायिका सीतादेवी दुरासँग ठाडोभाका गाउनुमात्र भएन नाच्नु समेत भएको थियो । त्यस्तै, दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छा घले र सीता दुरा, आशबहादुर विक र देउकुमारी गुरुङ, अमरध्वज गुरुङ र भुन्टीमाया तामाङ, गुमानसिंह तामाङ र सीतादुरा बीचको प्रस्तुतिको निकै तारिफ गरिएको थियो । सो अवसरमा पोखराबाट आउनु भएका रमाना भण्डारी, हरिबहादुर रानाभाट, नामार्खुकी कुमारी गुरुङ, श्रीमान् तामाङ, नरबहादुर गुरुङ, चित्रबहादुर गुरुङ, लक्ष्मण गुरुङ, मीना गुरुङ लगायत १९ जोडीको प्रस्तुति पनि उत्तिकै रोचक रहेको थियो ।
सातकन्या देवीको शक्ति र महिमा अपार :
इलमपोखरीमा रहेकी सातकन्याका रुपमा चिनिने देवीको शक्ति र महिमा अपार रहेको स्थानीयले बताएका छन् । त्यहाँ मानिसले चिताएको जुनकुनै पनि मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ । उक्त मन्दिरमा कोरी र बली दुवै प्रकारको पुजा गर्ने चलन रहेको सो मन्दिरमा २१ वर्षको उमेरदेखि पुजारी रहेका दोर्दी गाउँपालिका– ५ पाचोक निवासी ६८ वर्षीय आशबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार मन्दिरमा जिउँदो जोडी परेवा चढाउने वा नरिवल चढाएर कोरी पुजा गर्ने भक्तजन पनि आउँछन् । उहाँले भन्नुभयो ‘यस मन्दिरमा कुखुरा, हाँस र बोकाको बली दिइन्छ । त्यसबाहेक पञ्चवली दिने चलन पनि छ । पञ्चवली दिदा नौमती बाजा सहित मन्दिरमा आफ्नो मानोकामना पुरा भएपछि पञ्चवली दिने चलन रहेको अर्का पुजारी दूधपोखरी गाउँपालिका– ३ को ठूलो काभ्रे गाउँका मानसिंह गुरुङले बताउनुभयो । उहाँसँग यो प्रतिनिधिले कुराकानी गर्दागर्दै गर्दा छिमेकी पाचोक गाउँबाट एक पञ्चवली आएको थियो ।
आफ्ना सात जना छोरी जन्मदा पनि छोरा भएनन् । त्यति धेरै छोरी हुँदा एउटा त छोरा भैदिए हुन्थ्यो भन्ने लाग्यो मैले आफ्नो श्रीमतीसँग त्यस्तो गुनासो गर्दै ‘यी सातकन्या देवीको पुजा पनि के गर्ने र खै ? आफ्नै छोरा भएन, देवीका चिजबिज सबै लगेर फ्याँकिदे, अब पुजामा पनि जान्न !’ भने श्रीमतीले मलाई सम्झाउँदै भन्यो, ‘हामीले देवीमातासँग त्यसरी छोरा होस् भनेर माग गरेकै छैन नि ! एक पटक मागी हेरौं !’ हुन्छ भनेर दुवैजना मन्दिरमा पुजा गर्न आयो र हाम्रो छोरा आजसम्म पनि भएन होस् भनेर मागेको त नभन्दै त्यही वर्ष गर्भ रह्यो र छोरा नै जन्म्यो, आज उ १७ वर्षको भएको छ पुजारी आशबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार यसप्रकार मानिसहरूमा देवीसँग मागेको कुरा पुरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
उक्त मन्दिरमा तामाङ र गुरुङ जातका पुजारीहरू रहेका छन् । मन्दिर आसपासमा रहेका विभिन्न गाउँका प्रतिनिधिहरू पुजारीका रुपमा रहेका छन् । कुनै वर्ष १७ जनासम्म पुग्छौं । यसवर्षको भने १४ जना भयौं सो मन्दिरका पुराना पुजारी स्व. नन्द घलेका छोरा नवराज घलेले बताउनु भयो । उहाँका अनुसार आफ्नो बाबाले सो मन्दिरको ३८ वर्ष पुजारी भएर ९१ वर्षको उमेरामा निधन भएको हो । म भारतीय सेनामा कार्यरत थिएँ, निवृत्त भएपछि १३ वर्षदेखि पुजारी रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘देवीको शक्ति अपरम्पार छ, सिद्धि हुन्छ ।’
मन्दिरको व्यवस्थापन पक्ष कमजोर : उचित प्रचारप्रसार भए यो ठाउँ धार्मिक पर्यटनको हव बन्न सक्छ
इलमपोखरीको सप्तकन्या देवीको शक्ति निकै गहन भएता पनि मन्दिरको व्यवस्थापन पक्ष भने निकै कमजोर देखिएको छ । मन्दिरमा कोरी पुजा गर्ने स्थान र बली चढाउने स्थान एकै ठाउँमा रहेको, बली दिइएको रगतको व्यवस्थापन समेत गरेको देखिदैन । त्यस्तै, कुखुरा, बोका खुइल्याउने÷पोल्ने ठाउँको पनि निश्चित स्थान तोक्नु पर्ने देखिएको दूधपोखरी गाउँपालिका– २ बिचौर गाउँकी लक्ष्मी दवाडीले बताउनु भयो । उहाँका अनुसार सप्तकन्या मन्दिरको महिमा ठूलो छ, हाम्रो गाउँमा त धानको विउ राख्ने बेलामा तथा न्वागी खाने बेलामा पनि यहाँ आएर बोकाको बली नै चढाएर पूजा गर्ने प्रचलन छ । उहाँले भन्नुभयो, ‘देवीको महिमाको प्रचारप्रसार कम भएको जस्तो लाग्छ ।’ उचित प्रचारप्रसार भएमा यो ठाउँ धार्मिक पर्यटनको हव बन्न सक्छ ।’
लमजुङमा लाग्ने यो मेला मध्यनेपाल नगरपालिका– ७ को करापुटार स्थित ईशानेश्वर महादेव मन्दिर परिसरमा शिवरात्रीका अवसरमा लाग्ने मेलापछिको यो दोस्रो ठूलो मेला भएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छा घलेले बताउनु भयो ।
प्रकाशित मिति २०८१ बैशाख १२, बुधबार १८:११ गते