इलाम– २ मा अन्ततः एमालेका सुहाङ नेम्बाङले पहिरिनु भयो विजयी माला

इलाम– २ मा अन्ततः एमालेका सुहाङ नेम्बाङले पहिरिनु भयो विजयी माला

एजेन्सी

@antaranganews

२०८१ बैशाख १८ गते मङ्गलबार ०६:३१

त्यसो त बिना संगठन रास्वपाले पाएको मतलाई पनि कम आक्न मिल्दैन किनकि, सो दलका प्रत्यक्ष उम्मेदवारले ०७९ मा एक हजार मत पनि कटाउन सकेका थिएनन् ।

सुहाङलाई आज बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने छ ।

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा अन्ततः नेकपा एमालेका उम्मेदवार ३२ वर्षीय सुहाङ नेम्बाङले विजयी माला पहिरिनु भएको छ । पाँच हजार ८३० मत अन्तरले उहाँलाई त्यस्तो सफलता मिलेको बैशाख १७ गते राती घोषणा गरिएको हो ।
सुहाङले २७ हजार ७७२ मत पाउनु हुँदा निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाउनु भएको छ ।
पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउनु भएको छ भने मिटन ०८४ को सपना बाडिरहेको रास्वपा उम्मेदवार मिलन लिम्बुलाई ५ हजार ५० मत मात्र प्राप्त भएको छ ।
यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भयो । बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।
२०७९ मा सम्पन्न प्रतिनिधि सभा चुनावमा इलाम– २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुनु भएको थियो । त्यस समयमा तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत पाउनु भई ११४ को झिनो मतान्तरले पराजित हुनु भएको थियो ।  यसैगरी, राजालाई पुनःस्थापित गर्ने अभियानमा जुटेको राप्रपाले मात्र ४०४ मत पाएको छ ।
उपनिर्वाचनमा सुहाङलाई एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम– २ मा उमेदवार बनाएका थिए ।
सुहाङलाई आज बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
इलाम– २ बाट सुहाङले प्राप्त गरेको सहज जीतलाई एमाले कार्यकर्ताहरूले सुवास नेम्वाङप्रतिको सम्मान र सुहाङप्रतिको भरोसाका रूपमा अर्थ्याएका छन् ।
उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उमेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात रिक्त पद पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुनुहुन्छ । कानुन विषयमा स्नात्तकोत्तर अध्ययन गर्नु भएका सुहाङ २०४६ सालमा काठमाडौंमा जन्मनु भएको हो ।
इलाम– २ को चुनावलाई सबैजसो दलहरूले आफ्नो मध्यावधि मूल्यांकनको कसी ठानेका थिए । त्यसैले सबैजसो दलहरूले भएभरको शक्ति इलाम– २ मा खर्चिएका थिए ।
विजेता बनेको एमाले होस् या उपविजेता कांग्रेस, चौथो बनेको रास्वपा नै किन नहोस्, सबैले जोडबल लगाएर इलामलाई प्राथमिकताका साथ भिडेका थिए । सबभन्दा धेरै शक्ति त रास्वपाले इलाममा खन्याएको थियो । पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेदेखि पार्टीबाट मन्त्री बनेकाहरू, सांसदहरू सबै नै इलाममा बाक्लो उपस्थिति थियो । तर पनि रास्वपाले अपेक्षित मत प्राप्त गर्न भने सकेन । त्यसो त बिना संगठन रास्वपाले पाएको मतलाई पनि कम आक्न मिल्दैन किनकि, सो दलका प्रत्यक्ष उम्मेदवारले ०७९ मा एक हजार मत पनि कटाउन सकेका थिएनन् ।
सुवासले २०५६ देखि इलाम– २ मा अनवरत चुनाव जित्दै आएर यो क्षेत्रमा आफ्नो पकड बलियो बनाउनु भएको थियो । उहाँको निधनलगत्तै चुनाव हुन लागेकाले सहानुभूतिको मत सुहाङतिर जान सक्ने आंकलन एमाले कार्यकर्ताको थियो, परिणाम पनि त्यस्तै आएको छ ।
मतदाताले इलाम– २ मा मात्र हैन बझाङ प्रदेश सभामा पनि एमाले उम्मेदवारलाई नै रोजेका छन् ।

प्रकाशित मिति २०८१ बैशाख १८, मंगलवार ०६:३१ गते
हजुरको प्रतिक्रिया