मिलन दनाईले चैत १२ गते लेखेको खण्डन, प्रेस काउन्सिलमार्फत बैशाख १९ गते प्राप्त

मिलन दनाईले चैत १२ गते लेखेको खण्डन, प्रेस काउन्सिलमार्फत बैशाख १९ गते प्राप्त

नवराज पहाडी

@antaranganews

२०८१ बैशाख २० गते बिहिबार १०:०९

खण्डन पत्रमा दावी गरिएझैं ऋण असुल्ने, बचत र सेयर रकम फिर्ता गर्ने कार्य गरेको भए यी समाचार नै बन्दैनथे । ती समाचार हामीले रहरले लेखेको होइन । पीडितहरूलाई न्याय दिन, उनीहरूका पक्षमा लेखिएको हो । जो कालिका सहकारीका मिलन, वेदराजजस्ता सञ्चालकले पीडितहरू प्रति गरेको अन्यायभन्दा बढी छैन, हुन सक्दैन ।

उजुरी हरुवाको छेरुवा दाउ जस्तै, फोटोमा देखिने यति राम्रा मान्छेले त्यति नराम्रो काम पनि गर्लान् भनेर कसरी पत्याउने ?

बेसीशहर– स्थानीय कालिका सहकारी संस्थाको बहुचर्चित रकम हिनामिना तथा ठगी काण्डका नायक मध्येका एक मिलन दनाईले अन्तरङ्गमा प्रकाशित भएका विभिन्न मितिका समाचारको गत चैत १२ गतेको मिति उल्लेख गरी लेखिएको खण्डन प्रेस काउन्सिल नेपालमार्फत बैशाख १९ गते हामीलाई प्राप्त भएको छ । फोटोमा देखिने यति राम्रा मान्छेले त्यति नराम्रो काम पनि गर्लान् भनेर कसरी पत्याउने ?
दनाई क्रिएटिभ मिडिया नेटवर्कद्वारा चलाइएको खबर कुञ्जन्यूज(अनलाइन)का कार्यकारी अध्यक्ष तथा लमजुङ आवाज साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् । उनले अन्तरङ्गका संपादक नवराज पहाडीका विरुद्ध पहाडीलाई उछिन्ने गरी व्यक्तिगत चरित्र हत्या हुने खालका शृंखलाबद्ध समाचार लेख्दै(गत पुस ३० गतेदेखि फागुन २० गतेसम्म झण्डै दर्जन) आएकै हुन् । सायद त्यसपछि उनले समाचार लेख्नभन्दा काउन्सिलमा उजुरी लेख्न उचित ठाने वा जे नियतले समाचार लेखिएको थियो त्यो प्राप्त नहुने भएपछि उजुरीतर्फ लागेको बुझिन्छ ।
झण्डै पाँच पेज लामो खण्डन पत्रमा मुल बुँदा ११ र उप बुँदा दुई छन् । जसमा आफ्नो छुद्रता लुकाउँदै संयम र शिष्ट देखिने प्रयास छ । त्यसैले कतै स्पष्टिकरण जस्तो, कतै अनुनय जस्तो त कतै पूर्वाग्रह त कतै आक्रोश जस्तो पनि देखिन्छ सो खण्डन पत्रमा ।
ती बुँदाका संक्षेप रुप :
१) म कुनै दिनको कोषाध्यक्ष हुँ, ऐले छैन तर कोषाध्यक्ष नै किटान गरी समाचार प्रकाशन गरिएको छ ।
२) कालिका साकोसमा समस्या छ, नैतिक रुपमा जिम्मेवार पनि छु तर भागेको छैन । दोषि भएको थोरै पनि प्रमाणित गर्न चुनौती दिन्छु ।
३) तपाई न्यायाधीश र सञ्चारमाध्यम अदालत हो ?
४) एसएलसी पास गरेको तपाईलाई देखाउँदै हिड्नु पर्ने हो ?
५) पत्रकारले आचारसंहिताको पालना गर्नु पर्दैन ?
६) तीन वटै सहकारीका तत्कालीन सञ्चालक, हालका सञ्चालक र लेखा समिति विरुद्ध प्रहरीमा ३४ जना विरुद्ध उजुरी परेको हो । समाचार आधारहीन छ ।
७) आमसञ्चार सन्तुलित हुनु पर्ने र आचारसंहिताको ख्याल गर्नु पर्नेमा मेरो बारेमा समाचार लेख्दा एक पटक पनि सोधिएन ।
८) तपाई पनि शेयर सदस्य हो, खराब सञ्चालकहरूलाई हटाउन किन पहल गर्नु भएन ? ९) जथाभावी विशेषण झुण्ड्याउन पाइन्छ ?
१०) अशिष्ट शब्दावलीको प्रयोग गरी चरित्र हत्या गर्ने प्रयास भयो ।
११) विदाको दिन बाहेक सहकारी बन्द भएकै छैन तपाईको समाचारमा ‘केही दिन बन्द भएर खुलेको’ भनिनु भ्रम र अतिरञ्जित कुरा हो । उक्त खण्डन पत्रमा उल्लेखित उप बुँदाहरू :
(क) एकीकरण गर्नु अघिल्लो दिनसम्मको हिसाव दुरुस्त हुनुपर्नेमा एक आव अघिको लेखा परीक्षण प्रतिवेदनका आधारमा एकीकरण गरी बदमासी गर्ने सहकारीकर्मीलाई उन्मुक्ति दिने प्रयास भन्ने समाचार बारेमा ‘आन्तरिक लेखा परीक्षण गरिएको, फजुल खर्च जोगाउन यसो गरिएको हो’ भनिएको छ ।
(ख) १० करोड मध्ये ८० प्रतिशत कर्जा खराब कर्जामा परिणत भएपछि सफा र ठगी गर्ने नियत नभए एकीकरण गरिदैन भन्ने समाचार बारेमा ‘खराब कर्जा हुनु भनेको डुबेको हुँदैन भन्ने दावी गरिएको छ । ऋणीसँग तमसुक गर्ने, धितो राख्ने आदि गरिएको हुन्छ । ऋण असुल गर्न सकिने अवस्था हुँदाहुँदै बिना आधार ठगी भनेर कसरी समाचार लेखियो ? खण्डन जस्ताको तस्तै छापियोस् ।’
सो खण्डनको अन्तिम पाना कुन हो भन्ने पनि प्रष्ट छैन । सायद मिति उल्लेख भएकै अन्तिम पेज हुनुपर्छ अन्यत्र कतै मिति उल्लेख नभएको हुँदा त्यसै पेजलाई हामीले अन्तिम पेज ठानेका छौं ।
हरुवाको छेरुवा दाऊ :
स्मारणीय छ, मिलन दनाई कार्यकारी सम्पादक र अध्यक्ष रहेको सञ्चारमाध्यमले पनि अन्तरङ्ग र यसका सम्पादक पहाडीको चरित्र हत्या हुने गरी आधारहीन समाचार धाराबाहिक रुपमा लेखेकै छन् । के त्यतिबेला उनले आचारसंहिता, समाचारमा सन्तुलन हुनु पर्ने भन्ने हेका राखेका छन् ? त्यसबारेमा के उनलाई उन्मुक्ति दिन मिल्छ ? सो उजुरी ‘हरुवाको छेरुवा दाऊ’ भने जस्तै हो, उनले सकेको समाचार लेखेर ठोक्ने, ठेगान लगाउने नियत राखेकै हुन् र पार नलाग्ने स्थिति देखेपछि कथित उजुरीतर्फ लागेको बुझ्न कठिन छैन ।
कानुनलाई छले पनि आत्मा र व्यवहारिकतालाई छल्न सकिदैन :
मिलन दनाईले एकातिर सहकारीमा समस्या भएको र मुद्दा अदालतमा पुगेर विचाराधिन रहेको स्वीकार गरेका छन् भने अर्कोतिर दोष प्रमाणित गर्न चुनौती दिन्छु पनि भनेका छन् । यो भनाई आफैमा तर्कपूर्ण अनि विवेकयुक्त छ ? एकीकरण भएका तीन सहकारीमध्ये एक कर्पुरेश्वर सहकारीको अध्यक्ष र एकीकरणपछि कोषाध्यक्ष पनि दनाई महोदय भएकै हुन्, उनी अध्यक्ष हुँदा कर्पुरेश्वर सहकारीका नाउँमा २८ लाखमा किनेको घडेरी(सही मूल्य कति तिरिएको हो या थियो भन्ने त त्यो घडेरी हेर्ने र बेहोर्नेले पनि सहज आंकलन गर्न, बताउन सक्छन्)लाई एकीकरण गर्दा हालको मन्दीको यस्तो बेलामा दोब्बर ५४ लाख मूल्य कायम गरी एकीकरण गरेको भन्ने सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशको प्रतिवेदनमा समेत उल्लेख छ । यो घोटाला, शेयरधनी तथा बचतकर्ताहरूको शोषण र ठगी होइन भन्ने आत्मा साक्षी राखेर कस्ले भन्न सक्छ ? अध्यक्ष एवम् कोषाध्यक्ष रहेका उनलाई प्रमुख वा नायक सञ्चालक किन नमान्ने ? नभन्ने ? ती सञ्चालकहरूले बितेका तीन वर्षसम्म बचत र शेयर रकम फिर्ता गर्ने मौका पाउँदा पनि त्यस्तो कार्य गर्नुको सट्टा पैसा माग्नेहरूलाई ‘सकेको गर, मलाई सोधेर पैसा राखेको थिइस्, उजुर गरे हुन्छ, के नापिन्छ ?’ जस्ता जवाफ दिएर पीडितहरूलाई झन् पीडित र आक्रोशित बनाउने काम गरेकै हुन् ।
कालिका सहकारीको रकम हिनामिना गरी ठगी गरेको खुलासा भएको दुई वर्ष बिते पछि तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रनाउ कृष्णबहादुर कार्कीको रोहबर जिल्ला प्रहरी कार्यालयमा ३÷३ महिनाको भाका राखेर एक वर्ष भित्र सबै बचतकर्ताहरूको सम्पूर्ण रकम फिर्ता गर्छौं भन्दै गरेको कागजको प्रतिवद्धता समेत हावा खाएपछि आजको स्थिति आएको विदितै छ ।
पीडितहरूलाई घेराबन्दी गरी आजका दिनमा पनि रित्तो चेक लिएर बस्न दबाब :
कालिका सहकारीका मिलन दनाई, वेदराज खनियासहितका पीडकहरूले पीडितहरूलाई घेराबन्दी गरी आजका दिनमा पनि रित्तो चेक लिएर बस्न दबाब दिएकै छन् । ‘हाम्रा बैंक खाताहरू जग्गाजमिन आदि सबै रोक्का छन् । हामीले कसरी पैसा तिर्ने ? पहिलो ती फुकुवाको वातावरण बनाइदिनु पर्यो, अनि तिर्छाैं, तिर्दैनौं भनेका छैनौं’ भन्दै कतिपय पीडितका आफन्तमार्फत समेत दबाब दिएको जानकारीमा आएको छ । यस्तो मौका त उनीहरूले वितेका तीन वर्षसम्मको अवधि बिताई सकेको छन् । लाग्छ अब त्यस्तो रोदनको अर्थ छैन सायद हुँदैन ।
कालिका सहकारीको घोटालाले ठगीको रुप लिएर आज मुद्दा बनेर अदालतमा दर्ता हुँदा समेत रित्तो चेक थमाएर पीडितहरूलाई मिल्न दबाब दिन पछि नपर्ने मिलन दनाई, वेदराज खनियाहरूले यदि उनीहरूले अदालतबाट उम्कने मौका पाए भने त्यो सहकारीका पीडितहरूले जाने बुझे हुन्छ कि ! त्यो पैसा अब फिर्ता हुँदैन, मिल्दैन । त्यो रकम उनीहरूका लागि ‘कुकुरलाई मासु पैंचो दिए’ जस्तो हो भनेर माया मार्नुको अर्को विकल्प देखिदैन ।
खराब कर्जा हुनु डुब्नु होइन ?
सहकारीको खराब कर्जा हुनु डुब्नु होइन भन्ने दावी मिलन दनाइले गरेका छन् । त्यसो हो भने सहज ढंगले त्यो कालिका सहकारीका बचत तथा सेयर सदस्यले मागेको रकम किन दिन नसक्या होला ? यस्तो सफेद झुठ बोल्न, लेख्न सक्नेले व्यवहारमा के गरेका होलान् ? सहज अनुमान गर्न सकिन्छ । जो पछिल्ला तीन वर्षदेखि देख्दै र भोग्दै आइएकै छ ।
पत्रकारले आचारसंहिता पालन गर्नु पर्दैन ?
अर्कालाई पाठ सिकाउनेले पहिले आफूले त्यसको उपयोग गरेर देखाउन सक्नु पर्छ । त्यसमा पनि सहकारीमा घोटाला भएकै हो र ठगी गर्ने नियत पनि व्यवहारतः पुष्टि भएकै छ । यसबारेमा फेरि सोध्न किन पर्यो ? आजसम्म यो मुलुकमा कुन चाहिँ चोरले म चोर हुँ भनेको छ र दनाई आदि गरिएकाहरूले के भन्छन् भनेर सोध्ने ? यस्ता समाचारहरू एकतर्फी रुपमा आउने गरेको त नेपाली पत्रकारितामा आम प्रवृत्ती एवम् परम्परा नै बसेको अवस्था छ एकातिर भने अर्कोतिर त्यसको साक्षी स्वयम् मिलन दनाईका निम्न समाचारहरू साक्षी छन् । जसमा उनले अन्तरङ्गका सम्पादकको पनि त राय बुझ्ने, सोध्नु पर्छ भन्ने आचारसंहिता पालना नगरी उल्लंघन गरेकै छन् । कि दनाइको हकमा त्यो नियम लागू हुँदैन ?
दोषि भएको थोरै पनि प्रमाणित गर्न चुनौती :
दनाइलाई हालसम्म दोस्रो श्रेणीको दोषिको रुपमा जिल्ला अदालतले पनि ठहर गरेको अवस्था छ । अन्यथा, उनले १२ लाख धरौटी राखेर तारेख धाउनु पर्दैनथ्यो । त्यसमा पनि यो देशको कानुन त्यस्तै बनाइएको रहेछ । दनाई, वेदराज खनिया आदि गरिएकाहरूले कथंकदाचित कानुनी रुपमा सफाई पाए भने पनि त्यो सहकारीका सेयर सदस्यहरू र बचत रकम संकलन गर्नेको दिलदिमागमा पनि त निर्दोष ठहर्न सक्नु पर्छ । बरु सर्वसाधारणको नजरबाट गिर्ने काम भयो भने कानुनको सजाय खासै लछारपाटो नलगाउने समेत देखिदै र भोगिदै आएको छ । के मिलन दनाई, वेदराज खनियाहरू त्यसरी निर्दोष ठहर हुन सक्छन् ?
३४ जना विरुद्ध उजुरी :
कालिका सहकारी एकीकरण गर्नु अघिका तीन सहकारीका तत्कालीन सञ्चालकहरू, हालका सञ्चालकहरू र लेखा समितिका ३४ जना विरुद्ध प्रहरीमा उजुरी परेको हो भनिएको छ तर ती समितिमा बस्ने केही मान्छे जहाँ वेदराज खनियाको भोजभतेर चल्ने गर्दथ्यो– वर्तमानकै सञ्चालकहरूलाई त उजुरमा छुटाइएको छ । यसबाट पनि पछिल्लो पटक मुछिएका २६ जना विरुद्धको उजुरी त्यसअघि पक्राउ परेका दनाई, खनियाको डिजाइनमा तयार गरी दर्ता गर्ने गराउने गरिएको हो भन्ने मध्याह्नको घाम जस्तै छर्लङ भएको विषय हो ।
खण्डन पत्रमा दावी गरिएझैं ऋण असुल्ने, बचत र सेयर रकम फिर्ता गर्ने कार्य गरेको भए यी समाचार नै बन्दैनथे । ती समाचार हामीले रहरले लेखेको होइन । पीडितहरूलाई न्याय दिन, उनीहरूका पक्षमा लेखिएको हो । हावा नआई पात हल्लिदैन भनेझैं पछि समाचारमा दोहोरी चल्न थालेपछि केही उचनिच लेखिन सक्छ । जो कालिका सहकारीका मिलन, वेदराजजस्ता सञ्चालकले पीडितहरू प्रति गरेको अन्यायभन्दा बढी छैन, हुन सक्दैन । त्यस्तो तिल बराबरको कुरालाई पहाड बनाएर उचाल्न जरुरी छैन ।
यसप्रकार ती समाचारको पृष्ठभूमि तयार गर्न बाध्य पार्ने कालिका सहकारीका थोरै नायक सञ्चालकमध्ये मिलन दनाई एक भएको अदालतबाट आजसम्म भएको कारवाही(अन्तिम किनारा बाँकी) १२ लाख धरौटी मागेर तारेखमा रिहा गरेकोले समेत पुष्टि गरेकै छ । सेयर सदस्य भएर खराब सञ्चालकहरूलाई हटाउन किन पहल नगरेको ? भन्नेमा हिजो पदमा बस्न र्याल काड्ने, पदमा बसेर सहकारी डुबाउने, अनि पद छाडेर भाग्न, उम्किन खोज्ने ? मिल्छ ? त्यस्तो हुन सक्दैन । जो आजसम्मका दिनले पुष्टि गरेकै छ ।
जहाँसम्म एसएलसी पास नभएको भन्ने प्रश्न छ । त्यस्ता योग्यता विहीन ठालु पत्रकार यस जिल्लामा बेलाबखत नदेखिने होइन । उनलाई समेत प्रयोग गरी अन्तरङ्ग र त्यसका संपादक विरुद्ध समाचार लेखाउने काम भएपछि त्यस्तो लेख्नु परेको हो । चोरको खुट्टा काट् भन्दा हत्तपत्त उचाल्न किन परेको होला ? यो पनि खोजीको विषय हुन सक्छ ।

प्रकाशित मिति २०८१ बैशाख २०, बिहीबार १०:०९ गते
हजुरको प्रतिक्रिया