बेसीशहर– स्थानीय लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको सभाहलमा महिलाहरूका लागि मादल बजाउने पाँच दिने तालिम सुरु भएको छ । बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख किसानराज चिलुवालले सो तालिमको बैशाख २० गते उदघाटन गर्नु भएको हो ।
चिलुवालले मादल बजाउँदै व्यानर पढेर उदघाटन गर्नुै भएको हो । उहाँले यो सिकाई केन्द्रले अहिलेसम्म राम्रो काम गरिआएको स्मरण गर्दै यो तालिमको आयोजना गरेर लोकसंस्कृतिको संरक्षण गर्न अग्रसर भएको छ, यस्ता सराहनीय कार्य भोलिका दिनमा पनि हुँदै जाउन् भन्नुभयो ।
सो तालिमको उदघाटन सत्र लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा शुभकामना व्यक्त गर्नु हुनेहरूमा वरिष्ठ पत्रकार नवराज पहाडी, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष नारायण घिमिरे, लक्ष्मीनारायण सिकाई केन्द्रका सल्लहकार तेजनारायण अधिकारी, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका सचिव सरोज दनाई, सिकाई केन्द्रकी सदस्य खातुन मिया लगायत हुनुहुन्थ्यो ।
तालिममा बेसीशहर क्षेत्रमा रहेको विभिन्न आमा समूह तथा आयआर्जन समूहका २/२ जनाका दरले ३० जनाले भाग लिएको तालिम संयोजक लक्ष्मीनारायण सिकाई केन्द्रकी प्रमुख एवम् तालिम संयोजक कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ । तालिममा प्रमुख प्रशिक्षक देवेन्द्र गुरुङ हुनुहुन्छ भने मीना विकले सहायक प्रशिक्षकको भूमिका निभाउनु भएको छ ।
प्रशिक्षक गुरुङले मादलको स्याहार, मादलका प्रकार, मादल बजाउने गाउँघरको तरिका र प्रविधियुक्त तरिका लगायतका विषयमा जानकारी दिनु भएको थियो । तालिम सुरु हुनु अघि उहाँहरूको टोलीले बाँसुरी र मादलको मन्त्रमुग्ध बनाउने धुन प्रस्तुत गर्नु भएको थियो ।
लक्ष्मीनारायण सिकाई केन्द्रले विगतमा साक्षरता अभियान, ब्युटिसियन, तरकारी खेती(मौसमी बेमौसमी)ंको तालिम, विउ वितरण, प्रविधि मैत्री तालिम, चुरापोते तालिम, चप्पल बनाउने तालिम, दुना टपरी बनाउने तालिम, च्याउ खेती तालिम, हाते कडाई जस्ता तालिम सञ्चालन गर्दै आएकोमा अहिले मादल बजाउने तालिम दिएको तालिम संयोजक कान्ता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निकट भविष्यमा एसईई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम दिने योजना रहेको छ ।
सो अवसरमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका सल्लाहकार शोभा थापाले स्वागत गर्नु भएको भने कार्यक्रमको सञ्चालन तालिम संयोजक कान्ता घिमिरेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ बैशाख २१, शुक्रबार ०८:११ गते