यस्तै रबैयाले पार्टी अघि बढ्न नसक्ने रास्वपाको ठहर

यस्तै रबैयाले पार्टी अघि बढ्न नसक्ने रास्वपाको ठहर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख २२ गते शनिवार ०९:३५

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रास्वपा उम्मेदवारले एक हजार ३८० मत पाएका थिए भने हाल लिम्बुले ५ हजार ५० मत पाएका छन् । तर रास्वपाले प्राप्त गरेको समानुपातिक मतबाट लिम्बुले ३६३ मत मात्रै बढेको देखिन्छ । सो निर्वाचनमा रास्वपाले इलाम– २ बाट समानुपातिक मत चार हजार ६८७ पाएको थियो ।

संगठन बिना, पदाधिकारीहरूको ‘ओभर कण्फिडेण्ट्स’का कारण हार व्यहोर्नु परेको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमानको रबैयाले पार्टी अघि बढ्न नसक्ने रास्वपाको ठहर गरेको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको सचिवालयको बैठकले निष्कर्ष वैशाख २१ गते निकालेको हो । कमजोरीहरू पहिल्याउनका लागि देशभर भ्रमण गरी अध्ययन प्रतिवेदन पेस गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
इलाम– २ को उपनिर्वाचनमा चौथो स्थानमा खुम्चिन पर्नुलाई पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको छ । पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने जनाएको छ । सो उपनिर्वाचनमा संगठन बिना, पदाधिकारीहरूको ‘ओभर कण्फिडेण्ट्स’का कारण हार व्यहोर्नु परेको हो । प्राप्त परिणामका बारेमा धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने जनाएको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले बताउनु भयो । उहाँका अनुसार इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल गर्ने भएको हो । उहाँले भन्नुभयो, ‘जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको रूपमा ग्रहण गर्ने निर्णय भएको छ ।’ ‘पुनर्मूल्यांकन गर्दा पार्टीले लिएको संगठनको आधार, क्याडर बेस्डमा जाने वा मास बेस्डमा जाने जस्ता सबै विषयमा पुनरावलोकन गर्ने निर्णय भएको छ ।’ उहाँले जानकारी दिनुभयो ।
महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गर्ने भएको छ । अध्ययन भ्रमणका बारेमा ढकालले पेस गर्ने प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।
नेताहरू तथा केही कार्यकर्ताहरूको अपेक्षा जस्तो तनहूँ– १ को जस्तो परिणाम आएको नभएता पनि पार्टीको पक्षमा जनमत नबढेको भने होइन । बाराको हारका बारेमा पनि निर्मम समीक्षा गर्नुको सट्टा तनहूँको जीतमा रमाउने काम बढी भएका कारणले पनि यो परिणाम दिएको भन्ने पनि कतिपयको बुझाइ छ ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रास्वपा उम्मेदवारले एक हजार ३८० मत पाएका थिए भने हाल लिम्बुले ५ हजार ५० मत पाएका छन् । तर रास्वपाले प्राप्त गरेको समानुपातिक मतबाट लिम्बुले ३६३ मत मात्रै बढेको देखिन्छ । सो निर्वाचनमा रास्वपाले इलाम– २ बाट समानुपातिक मत चार हजार ६८७ पाएको थियो ।
शहरी क्षेत्रले पनि नपत्याइनु विडम्बना ः
रास्वपाले ग्रामिणभन्दा शहरी क्षेत्रबाट मत बढाउने अपेक्षा गरिएको थियो । शहरी क्षेत्रमा पनि सोचे अनुसारको मत आउन सकेन । त्यसो हुनुमा अन्य दलले चलाएको अनर्गल प्रचारलाई चिर्न नसक्नु हो । सभापति रविले पनि गृहमन्त्रीमा बहाल गर्र्दै गर्दा बोलेका कतिपय कामको परिणाम देखाउन नसक्नु पनि एक कारकका रुपमा रहेको बताइन्छ । प्रशिक्षण दिएर कार्यकर्ता तथा नेताहरूलाई जुन रुपमा दीक्षित गर्नु पथ्र्यो त्यसतर्फ पनि रास्वपाले खासै ध्यान दिएको देखिदैन ।
अन्य दलले चलाएको भ्रमको निवारण गर्नलाई संगठनको आवश्यकता रहेको विचार बैठकमा आएको ढकालले बताउनु भयो । उहाँका अनुसार बैठकमा संगठनको आवश्यकता हुनुपर्ने र हुनु नहुने विचार व्यक्त भएका छन् ।

प्रकाशित मिति २०८१ बैशाख २२, शनिबार ०९:३५ गते
हजुरको प्रतिक्रिया