दुराडाँडाको सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडकको कालोपत्रे सुरु

दुराडाँडाको सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडकको कालोपत्रे सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख २३ गते आईतबार ०६:४३

उक्त सडकका लागि थप काम गर्नका लागि बजेट बिनियोजन लगायतका कार्य गर्न शहरी विकास मन्त्री धनवहादुर बुढालाई एक पटक उक्त सडकमा भइरहेको कामको निरीक्षण आफैले गर्न अनुरोध गरिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारीले बताउनु भएको छ ।

उक्त सडकको निर्माण कार्य आउँदो आवमा सबै सकिने आशा गरिएको छ ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडाको सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडकको कालोपत्रे सुरु भएको छ । चालु आव २०८०/८१ मा करिब अढाई किमि सडक कालोपत्रे गर्ने गरी उक्त कार्य थालिएको हो ।
मध्यपहाडी लोकमार्गको किरिञ्चे खोला नजिक खण्डबाट सुरु भएको सो सडक स्तरोन्नति सहित कालोपत्रे गर्नका लागि शून्य प्याइन्ट क्षेत्रबाट कालोपत्रे थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वय इकाई अन्तरगत सो योजना स्वीकृत भई कार्य थालिएको हो । त्यसका लागि चालु आवका लागि दुई करोड ४२ लाख ६६ हजार ३५३ रुपैयाँबजेट भ्याट बाहेक स्वीकृत भई काम सुरु भएको हो ।
सो आयोजनाको बोर्डमा बजेट र काम थाल्ने र सम्पन्न गर्ने मिति उल्लेख भए पछि दुरी र कालोपत्रे कुन स्तरको हुने भन्ने बोर्डमा उल्लेख गरिएको देखिएन ।
यसबारेमा निर्माण कम्पनीसँग सम्पर्क गर्दा सो सडकको कालोपत्रे निमार्णको काम आईडि निर्माण कम्पनी, पोखरा– २७ ले गरिरहेको सो कम्पनीका प्रोपाइटर ध्रुव भट्टराईले बताउनु भयो । उहाँका अनुसार चालु आवमा २२ सय मिटर कालोपत्रे गर्ने जिम्मा हामीले पाएका हौं त्यो काम समयमै सक्छौं । उक्त कालोपत्रे निर्माणको काम सम्पन्न गर्ने समयावधि यही बैशाख मसान्त रहेको जानकारीमा आएको छ ।

यसैबीच, उक्त सडकको कालोपत्रे २० एम.एम. हुने सो सडकको साइट हेर्नु हुने इन्जिनियर सुरज साहले बताउनु भएको छ । उहाँका अनुसार ऐले फोटोमा देखिएको सडकको कालोपत्रे गर्दा गरिने पहिलो चहिलो चरणको लेयरको काम हो जसमा अलकत्रा र मट्टितेलमात्र पोतिएको छ । त्यसमाथि २० एमएम (दुई सेमी)को कालोपत्रे हुन्छ साहले जानकारी दिनुभयो ।
अब आउँदो आवमा सकेसम्म बाख्रे जगतसम्मकै खण्डमा कालोपत्रे सक्ने गरी बजेट प्रवन्ध गर्न माग गरिएको सो सडकका सुपरभाइजर पशुपति खनियाले बताउनु भयो । उहाँका अनुसार त्यसका लागि विभागीय अर्थात शहरी विकास मन्त्री धनबहादुर बुढा नेकपा एसका हुनुभएको हुँदा पार्टीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी सो कार्यमा लागि रहनु भएको छ ।
सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडकको निर्माण कार्य सबै सकिने आशा गरिएको छ ।
बाँग्रेजगतसम्म कालो पत्रे भएपछि दुरडाँडाको माथिल्लो क्षेत्रबाट जिल्ला सदरमुकाम बेसीशहर जानका लागि पनि सुन्दरबजार घुम्नभन्दा सोही सडक छोटो हुुनेछ । बाँग्रेजगतबाट सित्तलेस्वाँरा हुँदै बेसीशहरको डिहीथोकसम्म सडक जोड्ने हो भने बेसीशहरका लागि यो सडक झन् छोटो हुने त्यसक्षेत्रका बासिन्दाले बताएका छन् ।
उक्त सडकका लागि थप काम गर्नका लागि बजेट बिनियोजन लगायतका कार्य गर्न शहरी विकास मन्त्री धनवहादुर बुढालाई एक पटक उक्त सडकमा भइरहेको कामको निरीक्षण आफैले गर्न अनुरोध गरिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार मन्त्रीले आफैले सडकमा भइरहेको काम र बाटोको अवस्था हेर्नु भयो भने बजेट विनियोजन गर्न सहज हुन्छ भन्ने लागेको छ । जे होस् सो कार्य सम्पन्न गर्नका लागि मन्त्री सकारात्मक हुनुहुन्छ अधिकारीले भन्नुभयो । आगामी आ.व.मा बाँकी सबै खण्ड कालोपत्रे गर्ने गरि वजेट बिनियोजनका लागि हालका शहरी विकास मन्त्री वुढासँग विषेश अनुरोध गरिएकोमा मन्त्री यस आयोजनाप्रति सकारात्मक हुनु भएको समेत अधिकारीले जानकारी दिनुभयो ।
उहाँले दुराडाँडाको सामाजिक, आर्थिक विकासका लागि मेरुदण्डका रुपमा रहेको यो सडकको कालोपत्रे गर्ने कार्यको माग चर्को रुपमा उठे पनि केन्द्रमा सुनुवाई नभएको अवस्थामा विभागीय मन्त्री हाम्रो पार्टीेको प्रतिनिधि भएको मौकामा योजना स्वीकृत गर्ने मौका मिलेको स्मरण गर्नु भएको छ । उहाँले दुराडाँडाबासी हामीहरूको वर्षौंदेखिको यो सपना अब छिटै पुरा हुने क्रममा छ भन्दै यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैप्रति हाम्रो पार्टीेकोतर्फबाट र मेरो व्यक्तिगत रुपमा पनि तपाईको सञ्चार संस्थामार्फत धन्यवाद ज्ञापन गर्दछु भन्नु भएको छ ।
तत्कालीन शहरी विकास मन्त्री मेटमणि चौधरीले दुराडाँडाको सत्रसय– चिहानपाटा– तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडकको कालोपत्रे गर्ने कामको २०७९ असोज ३ गते शिलान्यास गर्नु भएको थियो ।
उक्त सडक कालोपत्रे हुनुपर्छ भन्ने सबै दुराडाँडेको ‘सपना’ हो । यसका लागि रामबाबुजी लगायत जो जो राजनीतिक, सामाजिक व्यक्तित्वहरूले पहल गर्नु भयो र गरिरहनु भएको छ उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ दुराडाँडा सेवा समाज काठमाडौंका महासचिव देशबन्धु अधिकारीले समाजको मेसेञ्जर ग्रुपवालमा उल्लेख गर्नु भएको छ ।

सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकाका केही वडा छुने उक्त सडकको लम्बाइ डिपिआरअनुसार १५.२ किलोमिटर रहेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले जनाएको छ । सो कार्यालयका अनुसार डिपिआरमा कुल लागत ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लाग्ने उल्लेख छ । सो सडक खण्ड निर्माण सम्पन्न भएपछि दुई हजार घरधुरीका नौ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्ने आंकलन छ ।

प्रकाशित मिति २०८१ बैशाख २३, आईतवार १८:४३ गते
हजुरको प्रतिक्रिया