भारतमा लोकसभा निर्वाचन : तेस्रो चरणको मतदान आज, १२ राज्यका ९३ सिटका लागि मतदान सुरु

भारतमा लोकसभा निर्वाचन : तेस्रो चरणको मतदान आज, १२ राज्यका ९३ सिटका लागि मतदान सुरु

एजेन्सी

@antaranganews

२०८१ बैशाख २५ गते मङ्गलबार ०८:००

संसद्को तल्लो सदन लोकसभाका ५४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ । यसअघि १९ र २६ अप्रिलमा गरी १९० सिटका लागि मतदान भइसकेको छ ।

आज तेस्रो चरणको निर्वाचन, प्रधानमन्त्री मोदी, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा

नयाँदिल्ली– विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान सुरु भएको छ । आज वैशाख २५ गते बिहान भारतीय समय अनुसार ७ बजेबाट मतदान सुरु भएको बताइएको हो ।
आज तेस्रो चरणको निर्वाचन, प्रधानमन्त्री मोदी, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा छन् । आज हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदावादको रानीपस्थित निशान विद्यालयमा रहेको मतदान केन्द्रमा गएर मतदान गर्नु भएको हो ।
आज भइरहेको निर्वाचनमा वर्तमान सरकारका गृहमन्त्री अमित शाह, ज्योतिरादित्य सिन्धिया, मनसुख माण्डवीया, प्रह्लाद जोशी, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान, कांग्रेस नेता दिग्विजय सिंह, एसपी सिंह बघेल लगायतका चर्चित र ठूला नेताको पनि भविष्य तय हुनेछ ।
उता, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवकी श्रीमति डिम्पल यादव, महाराष्ट्रका पूर्व उप मुख्यमन्त्री अजित पवारकी श्रीमति सुनेत्रा पवार, सरद पवारकी छोरी सुप्रिया सुले पनि मैदानमा छिन् । मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान, कंग्रेस नेता तथा पूर्वमुख्यमन्त्री दिग्विजय सिंहको भाग्यको फैसला पनि आजै हुनेछ ।
असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ ।
यस्तै जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेशका गरी तीन सिटका लागि पनि आजै मतदान थालिएको छ ।
आज ९३ क्षेत्रका लागि १ हजार ३ सय ५१ जना उम्मेदवार मैदानमा रहेको चुनाव आयोगले जनाएको छ । आयोगका अनुसार आज १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिदैछन् ।
मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ भने गर्मीलाई ध्यानमा राखी खानेपानीको पनि व्यवस्था गरिएको छ ।
संसद्को तल्लो सदन लोकसभाका ५४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ । यसअघि १९ र २६ अप्रिलमा गरी १९० सिटका लागि मतदान भइसकेको छ ।
यो लोकसभा निर्वाचनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने महत्त्वाकांक्षामा छन् । उता, कंग्रेस नेतृत्वको विपक्षी इन्डिया गठबन्धन र त्यसका नेता राहुल गान्धीले नरेन्द्र मोदीलाई पुनः सत्तासीन हुन नदिन सक्दो जोड लगाउँदै छन् ।
मोदी ‘अबकी बार चार सौ पार’ नाराका साथ अघि बढेका छन् । राहुलले मोदी पुनः सत्तासीन भए लोकतन्त्र खतरामा पर्ने र तानाशाही स्थापना हुने भन्ने प्रचारमा छन् ।
कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको भारतको पहिलो निर्वाचन भनेर प्रचार गरिएको यो निर्वाचनमा एआईको प्रयोग गरी फेक भिडियो बनाउने र प्रतिस्पर्धीविरुद्ध मिथ्या खबर फैलाउने कार्य पनि व्यापक रुपमा भएको पाइएको छ ।
यो निर्वाचनमा पैसाको पनि ठूलो खेलो भएको बताइएको छ । हिजो प्रवर्तन निर्देशनालय (ईडी) ले छापा हानेर झारखण्डका ग्रामीण विकासमन्त्री तथा कांग्रेस नेता आलमगीर आलमका निजी सचिवको घरेलु कामदारको निवासबाट कम्तिमा ३० करोड नगद फेला पारेको जनाएको छ ।
निर्वाचन अवलोकन गर्न ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि आमन्त्रित ः
विश्वको ठूलो निर्वाचनको अवलोकन गर्न भारतीय निर्वाचन आयोगले २३ देशका निर्वाचन व्यवस्थापन निकाय (ईएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि आमन्त्रित गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिहरूमा नेपाललगायत भुटान, मंगोलिया, अष्ट्रेलिया, माडागास्कर, फिजी, किर्गिज रिपब्लिक, रुस, मोल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, फिलिपिन्स, श्रीलंका, जिम्बावे, बंगलादेश, कजाकिस्तान, जर्जिया, चिली, उज्वेकिस्तान, माल्दिभ्स, पपुवा न्युगिनी र नामिबियाको प्रतिनिधित्व गर्नेछ । साथै अन्तर्राष्ट्रिय फाउन्डेसन फर इलेक्ट्रोल सिस्टमका सदस्यहरू, भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुने जनाइएको छ ।
विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरु बारे परिचित गराउन खोजेको निर्वाचन आयोगले बताएको छ । आयोगले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र ईएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्येक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति २०८१ बैशाख २५, मंगलवार ०८:०० गते
हजुरको प्रतिक्रिया