काठमाडौं– गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाका नाउँमा पेश भएका नागरिकता प्रमाणपत्रको कम्पनी पिच्छे फरक–फरक नागरिकता नम्बर प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । नागरिकता प्रकरणबारेमा प्रहरी अनुसन्धानमा रहेका सिरोहियाले भिन्न–भिन्न कम्पनीको शेयर लिँदा भिन्न–भिन्न नागरिकता नम्बर प्रयोग गरेको देखिएसँगै त्यस्तो रहस्य बैशाख २६ गते खुल्न आएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि प्रहरी अनुसन्धानमा रहेको छ । अनुसन्धानस्रोतका अनुसार हालसम्म कैलाश सिरोहिया र उनको बाबुको नागरिकता जारी भएको एकिन मिति र नागरिकता जारी गर्दा प्रक्रियाका निर्णय र टिप्पणीहरू फेला पर्न सकेको छैन ।
गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध सिरोहियोले दिए रिट :
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन् । सिरोहियाको रिट दायर गरेकोमा सर्वोच्चले बैशाख २४ गते दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको छ ।
प्रतिषेध भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारबाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो ।
यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्न सक्छ । आदेश स्थायी प्रकारको हुने कानुन व्यवसायीहरू बताउँछन् ।
धनुषामा प्रहरीले जाहेरी दर्ता गरे पनि पक्राउ आदेश लिने वा पक्राउ गर्ने प्रक्रिया शुुरु गरेको छैन । तर उनी पहिल्यै अदालत गएका हुन् ।
सिरोहिया आफैँले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा राखेको नागरिकताको नंबर टाइप गर्दा नम्बर गलत भएको दाबी थियो । तर यसबारे हिमालयन रि इन्स्योरेन्सको शेयर लगतमा धनुषाबाट जारी भएको नागरिकता नम्बर र हिमालय रि–इन्स्योरेन्सको नम्बर फरक फेला परेको छ ।
तर, कान्तिपुर पब्लिकेसन्स प्रालिको सेयर लगतमा सिरोहियाले काठमाडौंबाट जारी भएको नागरिकता नम्बर राखेको खुल्न आएको छ । सिरोहियाको दावी अनुसार धनुषाको नागरिकता नम्बर आधिकारिक हो । तर हिमालय रि इन्स्योरेन्समा दिएको नागरिकता नंबर ती दुवैसँग मिल्दैन ।
शेयर लागतमा सिरोहियाको नागरिकता नम्बर ३२८ र जारी भएको जिल्ला काठमाडौं उल्लेख छ । कम्पनी रजिस्टार कार्यालयमा नागरिकताको प्रतिलिपि फेला पर्न सकेको छैन । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ३२८ नम्बरसँगै जारी मितीबाट नम्बर कायम हुने गरेको देखियो ।
कैलाश सिरोहियाको विवरणमा नम्बर छ तर मिति नै छैन । उनको श्रीमती स्वस्तिका सिरोहियाको नाममा जारी भएको नागरिकताको नम्बर कैलाशसँग मिल्छ । स्वस्तिकाको ३२८÷०५१÷५२ लेखिएको छ ।
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडमा समेत कैलाश सिरोहियाको नागरिकता नम्बर धनुषाको नभई काठमाडौंको र नम्बर ३२८ राखिएको छ ।
तर कान्तिपुर पब्लिकेसन्सको सेयर लगतमा स्वस्तिका सिरोहियाको अर्कै नागरिकता नम्बर प्रयोग गरिएको छ । काठमाडौंबाट जारी भनेर स्वस्तिका सिरोहियाको जुन नागरिकता नम्बर राखिएको छ, जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भने सो नागरिकता नम्बर अर्कैको नाममा जारी भएको देखिएको छ ।
कान्तिपुर पब्लिकेसन्स प्रालिको हकमा पनि हिमालयन रि–इन्स्योरेन्समा जस्तै टाइप गर्दा गल्ती भएको वा श्रीमान्÷श्रीमतीको विवरण एकै शेयर लगतमा राख्दा झुक्किएकी भन्ने पनि छ तर यतिका वर्षसम्म किन त्यो सच्याइएन ? यसले गम्भिर कानुनी जटिलता उत्पन्न गरेको छ । त्यसो त कान्तिपुर टेलिभिजनमा स्वस्तिकाको शेयर छैन । त्यहाँ कैलाशलगायत चार जनाको नाममा सेयर देखिन्छ ।
कैलाशले सार्वजनिक गरेको धनुषाबाट जारी भएको नागरिकता नम्बर ३९६९८८८६ रहेको छ । तर त्यो नम्बर पनि शिवजी साहु तेलीको नाममा उनको जारी मिति भन्दा अघि नै जारी भएको जिल्ला प्रशासन कार्यालय धनुषाको रेकर्डमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख १६ गते झुटो विवरण दिई विदेशी नागरिकले किर्ते नागरिकता बनाएर प्रचलनमा ल्याएको दाबी गर्दै कारबाहीको माग गर्दै जाहेरी दर्ता भएको थियो ।
सिरोहिया विरुद्ध धनुषामा दर्ता भएको जाहेरी अनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले बताउनु भयो । उहाँका अनुसार ‘अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप विवरण सार्वजनिक गर्न मिल्दैन ।
आफू विरुद्ध जाहेरी दर्ताको समाचार सार्वजनिक भएपछि सिरोहियाले एक ध्यानाकर्षण पत्र बैशाख २४ गते सार्वजनिक गर्दै राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्ने भन्दै जिम्मेवार नागरिकको रूपमा स्वागत गर्ने भनिएको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएको सिरोहियाको नागरिकताको नम्बर र धनुषाकै अर्का व्यक्तिको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको रहस्य भने खुलिसकेको छ ।
सिरोहियाको नागरिकताको प्रतिलिपिमा नागरिकता लिएको पूरा मिति उल्लेख नभई ‘२०३३÷०३४ को रेकर्ड अनुसार मात्र उल्लेख छ । तर उनकै नागरिकताको नम्बरमा अर्को व्यक्तिको नाममा जारी भएको नागरिकता २०३६ भदौ २० गते जारी भएको देखिन्छ ।
सिरोहियाले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा आफूले २०३४ सालमा नागरिकता लिएको र आफूपछि कसैका नाममा जारी भएको नागरिकतामा उही नम्बर छ भने त्यो आफ्नो जिम्मेवारीको विषय नभएको उल्लेख गरेका थिए ।
दुवै नागरिकता वंशज :
दुवै नागरिकताको प्रकार वंशज रहेको छ । अहिले प्रहरीले सिरोहिया र दोस्रो व्यक्तिको नाममा नागरिकता जारी हुँदा पेश भएका प्रमाण, जिल्ला प्रशासन कार्यालय धनुषामा सिरोहिया र दोस्रो व्यक्तिबारे रहेको कागजपत्र, नागरिकता दर्ता पुस्तिका, निर्णयको आधार र निर्णय गर्ने पदाधिकारीबारे विवरण संकलन गरिरहेको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता पुस्तिकामा सिरोहियाको नाममा जारी नागरिकताको विवरण रहेको पन्ना च्यातिएको अवस्थामा फेला परेको अनुसन्धान स्रोतले जनाएको छ । स्रोतका अनुसार सिरोहियाको नाममा नागरिकता जारी गर्ने अधिकृतको नाम र हस्ताक्षर छैन ।
फोटोसहितको विवरण पुस्तिकामा उनको विवरण छ । तर, नागरिकता जारी भएका अन्य व्यक्तिको हकमा तस्बिरसहित राखिएको दर्ता पुस्तिकामा सबै विवरण दुरुस्त छ ।
धनुषाबाट सिरोहियाको नाममा जारी भएको नागरिकता वंशजको आधारमा भन्ने छ । त्यसकारणले पनि प्रहरीले सिरोहियाका बाबुको नागरिकताको विवरण खोज्ने काममा जुटिरहेको छ ।
कैलाश सिरोहियाको नाममा नागरिकता जारी गर्दाको निवेदन लगायतका प्रक्रियाको फाइलमा समेत उनको बुवाको नागरिकता फेला नपरेको अनुसन्धानरत स्रोतले बतायो । अनुसन्धानमा जुटेको प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको विवरणमा सिरोहियाका बाबु घाँसीराम सिरोहियाको नेपाली नागरिकताको विवरण फेला परेको छैन ।
प्रहरी प्रधान कार्यालयमा आइपुगेको प्रारम्भिक अनुसन्धान विवरणमा ‘कैलाश सिरोहियाको बुवा घाँसीरामको नेपाली नागरिकता फेला नपरेको हुँदा त्यसबारेमा बुझ्ने काम भइरहेको बताइन्छ ।
‘जिल्ला प्रशासनमा फेला परेका कागजपत्र अपूर्ण र थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । पूर्ण कागजपत्रहरू भेटिएको छैन । प्रशासनिक त्रुटि हो या अन्य केही त्यसबारे अनुसन्धान केन्द्रित छ, अनुसन्धानरत स्रोतको भनाइ छ ।
कैलाशका बुवा घाँसीरामको २०६९ साउनमा निधन भएको थियो । उनी जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महासचिव समेत थिए । उनको ६ छोरी र तीन छोरामध्ये कैलाश सिरोहिया कान्छा सन्तान हुन् ।
अन्य दुई जना व्यापारमा संलग्न रहेकाले प्रहरीले अनुसन्धानको क्रममा प्रमाण संकलनका लागि उनीहरूको विवरण समेत संकलन थालिएको छ ।
बुबा, दुई दाइ, श्रीमतीको नागरिकतामा पनि अनुसन्धान केन्द्रीत ?
कैलाससँगै उनको बुबा, दुई दाइ, श्रीमती लगायतकाको नागरिकताको रेकर्ड र जारी हुँदाका प्रमाण केन्द्रित भएर अनुसन्धान भइरहेको देखियो अनुसन्धान स्रोतले जनाएको छ । स्रोतका अनुसार कैलाससँगै उनका एक दाजु काठमाडौँका मतदाता हुन् । अर्को धनुषाकै । उनीहरूले धनुषाबाटै नागरिकता निकालेको देखिन्छ । तर तीनै जनाको नागरिकताको प्रकार एकै नदेखिएको र आवश्यक कागजपत्रहरू समेत फेला नपरेकाले अहिले थप कागजपत्र खोज्ने काम भइरहेको छ ।
पछि फेला पर्ने प्रमाणले अन्यथा प्रमाणित भए बेग्लै नत्र त अहिलेसम्मको अनुसन्धानले जारी भएको नागरिकतामा कैफियत देखिन्छ स्रोतले उल्लेख गरेको छ ।
त्यही नागरिकता नम्बर प्रयोग गरी सिरोहियाले रातो राहदानीसमेत समेत लिएका रहेछन् । उनले लिएका पछिल्ला तीन वटा पासपोर्ट नम्बरहरू हुन् :
सन् २०१३ मार्च २१ मा जारी भएको ०६३८३६३९ नम्बरको राहदानी, सन् २०१७ जुलाई १२ मा जारी भएको १०४६५११५ नम्बरको राहदानी, सन् २०२३ सेप्टेम्बर १५ मा जारी भएको डीए०००१७९३ नम्बरको राहदानी, तीन राहदानीमध्ये तेस्रो रातो पासपोर्ट अर्थात कूटनीतिक राहदानी हो ।
सिरोहिया विरुद्ध धनुषामा नागरिकता किर्तेमा जाहेरी परेपछि उनले एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्र्दै आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका छन् । ध्यानाकर्षण पत्रमा २०३३÷३४ मा लिएको नागरिकताबाहेक अन्य नागरिकता नलिएको र २०५७ मा प्रतिलिपि मात्र निकालेको उनको दाबी छ । ‘२०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३÷३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन भन्ने प्रष्ट्याएका छन् ।
कस्तो हुन सक्छ कारबाही ?
नेपालको नागरिकता ऐनले झुटो वा कीर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यसैगरी कसैले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा त्यस्तो प्रमाणपत्र रद्द गर्ने व्यवस्था पनि नागरिकता ऐनले गरेको कानुनव्यवसायीहरूको भनाइ छ ।
प्रकाशित मिति २०८१ बैशाख २५, मंगलवार १४:३४ गते