बेसीशहर(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठाने नेपाल, लमजुङको अक्षयकोषका लागि अमेरिकामा बस्नु हुने लमजुङे र ठाडोभाकाका शुभचिन्तकहरूबाट तीन लाख रुपैयाँ अक्षयाकोष प्राप्त भएको छ । सो रकम प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’मार्फत प्राप्त भएको हो ।
‘लमजुङको पहिचान र गौरव’को रुपमा रहेको ठाडोभाकाको संरक्षण एवम् प्रवद्र्धनका लागि अमेरिकामा बस्नु हुने कला, संगीत एवम् साहित्यका पारखीहरूले सो रकम सहयोग गर्नु भएको हो ।
लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाकाको संरक्षण एवम् प्रवद्र्धनका लागि स्थापन भएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ अमेरिकको २६ दिने भ्रमणमा अमेरिका रहनु हुँदा उक्त सहयोग प्राप्त भएको हो । उहाँ निजी (पारिवारिक) भ्रमणमा जानु भएको हो तर पनि त्यहाँ रहनु भएका गण्डकी प्रदेशका ठाडोभाका प्रेमीहरूले नेपाली तीन लाख रुपैयाँ प्रतिष्ठानको अक्षयकोषमा प्रदान गर्नु भई अविस्मरणीय गुण लगाउनु भएको छ । सो भ्रमण सकेर धुम्पु जेठको पहिलो साता नेपाल फर्किनु भएको हो ।
प्रतिष्ठानका संरक्षक धम्पु अमेरिकामा बस्नु हुँदा त्यहाँका केही साथीभाइहरूको आग्रहमा उहाँले अमेरिकामै रहनु भएकी वरिष्ठ लोक गायिका बिमाकुमारी दुरा, ओमकुमारी गुरुङका साथमा ठाडोभाकाको लाइभ प्रस्तुत गर्नु भएको थियो । सो क्रममा उहाँले प्रतिष्ठानद्वारा ठाडोभाकाको संरक्षण, प्रवद्र्धनका साथ साहित्यको उत्थानका लागि सञ्चालन गरिआएका विभिन्न कार्यक्रमहरूमा प्रकाश पार्नु भएको थियो । प्रतिष्ठानको स्थायित्व एवम् कार्यक्रमहरूको प्रभावकारिताका लागि अक्षयकोषको सञ्चालन गरी आएको उहाँले जानकारी दिनु भएको थियो । प्रतिष्ठानका ती गतिविधिका बारेमा जानकारी पाएपछि कार्यक्रमका सहभागीहरूले स्वस्फूर्त रुपमा उक्त सहयोग प्रदान गर्नु भएको धम्पुले जानकारी दिनु भएको छ ।
अमेरिकामा बस्दा धम्पुले बोष्टर्न सहितका विभिन्न छ प्रान्तको भ्रमण गर्नु भएको र ती सबै स्थानमा आफ्ना लागि स्वागत सम्मानको कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभएको छ । बोष्टर्नमा अनेसासका संस्थापक एम पौडेलले संयोजकको भूमिका निभाउनु भएको थियो । आफ्नो निजी निवासको मट्टिखान कक्ष(स्याङ्जा) मा विशेष कार्यक्रमको आयोजना गर्नु भएको थियो । सो अवसरमा अनेसासका अध्यक्ष गोवर्धन पुजा, निवर्तमान अध्यक्ष महेश्वर पन्त, भिक्षु दुर्गाबहादुर लामा, तमु समाजका अध्यक्ष सोम गुरुङ, डा. मोहन पहारी, मिन केसी, सुशीला गौतम लगायत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी, सो अवसरमा बोष्टर्न लोक सुशेलीका अध्यक्ष सुन्दर तमुको नेतृत्वमा रोधिं कार्यक्रम गरी ठाडोभाका महानायक धम्पुको स्वागत सम्मानको कार्यक्रम समेत गरिएको थियो । सो स्थानमा तमु समाजले समेत छुट्टै कार्यक्रमको आयोजना गरेको थियो ।
ती सबै कार्यक्रममा वरिष्ठ लोकगायिका बिमाकुमारी दुरा, उधोखोले गायिका ओमकुमारी गुरुङ, कमला गुरुङ (लोकदोहोरी गायिका, गोरखा) समेतको उपस्थिति रहेको थियो । यसैगरी, संरक्षक धम्पुलाई स्वागत सम्मानको कार्यक्रम न्यूह्याम्पसायरमा तमु समाजका अध्यक्ष हितमान गुरुङको नेतृत्वमा भएको थियो । त्यहाँ वरिष्ठ समाजसेवी सोम गुरुङ, प्रकाश गुरुङ र कमला गुरुङ, धना गुरुङको समुपस्थिति रहेको थियो ।
बाल्टिमोर, म्यारिल्याण्डमा लमजुङ समाजका अध्यक्ष गणेश अधिकारी, निवर्तमान अध्यक्ष शशीकाजी थापाको पहलमा भएको कार्यक्रमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक ‘धम्पु’मार्फत प्रतिष्ठानको अक्षयकोषका लागि लमजुङ समाजको तर्फबाट दुई लाख रुपैयाँ प्रदान गरिएको थियो । सो कार्यक्रममा बाल्टिमोर एसोसिएसन (बान)का सुबोध पन्त तथा कस्केली समाजका अध्यक्ष भरत बरायलीको विशेष उपस्थिति थियो । 
दोहोरी गायिका सिर्जना विरहीद्वारा एक लाख प्रदान :
सोही कार्यक्रममा सहभागी हुनु भएकी दोहोरी गायिका सिर्जना विरही थापा(स्याङ्जा)ले व्यक्तिगततर्फबाट एक लाख रुपैयाँ ठाडोभाकाको अक्षयकोषमा उपलब्ध गराउनु भएको छ । सो रकमबाट आउने व्याजबाट प्रतिष्ठानले सञ्चालन गर्ने प्रशिक्षणमा ठाडोभाका राम्रो सिक्ने प्रतिभाहरू तीनलाई आउँदो वर्षबाट ‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ तीन जनालाई ५÷५ हजार रुपैयाँका दरले प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ । यसैगरी, न्यूयोर्कमा विमला शाही श्रेष्ठले नेपाली भाञ्साघरमा स्वागत सम्मानको कार्यक्रम गर्नु भएको थियो ।
उक्त अवसरमा सिर्जना विरही थापाका साथै परशुराम गिरि, विमल पण्डित र हिरा गुरुङ प्रतिष्ठानको वरिष्ठ आजीवन समस्य समेत बन्नु भएको जानकारी प्रतिष्ठानका संरक्षक धम्पुले दिनु भएको छ ।
अक्षयकोष रकमको चेक हस्तान्तरण :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु नेपाल फर्कनु भएपछि पोखरामा एक कार्यक्रम बीच उक्त अक्षयकोष तथा वरिष्ठ आजीवन सदस्यको रकम बारबरको चेक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई जेठ १४ गते हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा धम्पुले अमेरिकामा बस्नु हुँदा भएका कार्यक्रमको संक्षिप्त जानकारी दिनु भएको थियो । सो रकमको चेक ग्रहण गर्दै प्रतिष्ठानका अध्यक्ष पहाडीले अमेरिकामा बसेर आफ्नो मातृभूमिप्रति र यहाँको लोकभाका, कला, संस्कृति तथा साहित्यप्रति चिन्ता गरेर त्यसमा पनि खासगरी ठाडोभाकाका लागि प्रतिष्ठानको अक्षयकोषका लागि रकम प्रदान गर्नु हुने सबै– सबै सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
उहाँले स्याङ्जाकी चेली सिर्जना विरही थापाले लमजुङको ठाडोभाकाप्रति देखाउनु भएको सदभाव र सहयोगको जत्ति प्रशंसा गरेको पनि पुग्दैन भन्नुहुँदै विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले प्रतिष्ठान परिवार र आफू उहाँसहितका सबै सहयोगदाताहरू प्रति सदैव कृतज्ञ रहने उल्लेख गर्नु भयो ।
त्यसैगरी, वरिष्ठ आजीवन सदस्य बन्नु हुने चारजना महानुभावलाई पनि अध्यक्ष पहाडीले धन्यवाद व्यक्त गर्दै उहाँहरूलाई प्रतिष्ठान परिवारको सदस्यका रुपमा स्वागत गर्न पाउदा झनै खुशी लागेको बताउनु भयो ।
अर्को एक प्रसङ्गमा अध्यक्ष पहाडीले प्रतिष्ठानको अक्षयकोषको एकमुष्ट रकम १९ लाख ५२ हजार ९५५ रुपैयाँ पुगेको जानकारी दिनुभयो । तीमध्ये चारवटा पुरस्कार सञ्चालन गरिएको, तिनका लागि एक एक लाखका तीन वटा र दुई लाख ३७ हजार बराबरको अक्षयकोष राशिको एक पुरस्कार रहेको, त्यस्तै, एक लाख रुपैयाँको छात्रबृत्तीका लागि अक्षयकोष राखिएको छ भने बाँकी अक्षयकोष रकम अन्य प्रतियोजन अर्थात प्रतिष्ठानको गतिविधि सञ्चालनका लागि खर्च गर्ने गरी सञ्चालनमा रहेको पहाडीले उल्लेख गर्नुभयो । 
पोखरामा आयोजित चेक हस्तान्तरण कार्यक्रमको समापनमा ठाडोभाका महानायक धम्पुले आफ्नो भ्रमणको संक्षिप्त अनुभव सुनाउनु हुँदै यो भ्रमण अनेसास अमेरिका तथा आफ्नो ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार तीर्थ अधिकारीको राय, सुझाव, सल्लाहबाट सम्भव र सहज भएको जानकारी दिनु भयो । उहाँले अमेरिका प्रस्थान गर्ने समयमा आफ्नो विदाईको बेला लमजुङ लोकसांस्कृतिक मञ्चका अध्यक्ष मोहन गुरुङसहित यरपोर्ट पुग्नु भएको थियो भने फर्कने बेलामा स्वागतका लागि प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराको नेतृत्वमा ठाडोभाकाका पदाधिकारी तथा सदस्यहरूका साथै श्रुति संगीत विश्वविद्यालयका प्रतिनिधिहरूले स्वागत गर्नु भएको जानकारी दिनु भयो । उहाँले आफ्नो अमेरिका बसाईलाई सहज र उपलब्धीपूर्ण बनाउन सहयोग गर्नु हुने कलाकार तथा संगीत, साहित्य प्रेमी विशिष्ठ व्यक्तित्व, समकर्मी मित्रजन तथा कनिष्ट व्यक्तिहरु सबै सबै प्रति एकदमै अनुगृहित भएको बताउनु भएको थियो ।
उक्त अवसरमा अमेरिकाको सफल भ्रमण गर्नुका साथै ठाडोभाकालाई अमेरिकामा समेत पुर्याउन सफल हुनुहुने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’लाई फेला र खदा तथा टीकाद्वारा सम्मान गरिएको थियो ।
ठाडोभाकाको मौलिकता बचाउने चुनौति :
उक्त सहयोग रकम तथा वरिष्ठ आजीवन सदस्यता शुल्क हस्तान्तरण कार्यक्रम गर्नु अघि ठाडोभाकाको मौलिकता बचाउने चुनौति खडा भएको र त्यसको निराकरण के कसरी गर्न सकिन्छ ? भन्ने बारेमा छलफल गरिएको थियो । छलफलमा ठाडोभाका, तीज लगायतका नाउँमा गाइने गीतमा भित्रिएको विक्रिति विसंगतिका बारेमा अन्तरक्रियाका साथ व्यापक छलफल गरिएको थियो ।
उक्त अवसरमा वरिष्ठ गायक प्रजापति पराजुली, दोहोरीका हस्ती त्रिलोचन पौडेलसमेत खुलेर आफ्ना धारणा राख्नु भएको थियो । ठाडोभाका लोककला प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा, आजीवन सदस्य त्रय सावित्री शाही, तुलसा शाही, रमाना भण्डारी समेत सो अवसरमा उपस्थिति रहेको थियो ।
मौलिक लोकभाकाहरूमा विक्रितिहरू भित्रन नदिन संस्थगत रुपमा प्रतिष्ठानले पहल गर्दै भूमिका निर्वाह गर्नु पर्नेमा सहभागीहरूले जोड दिनु भएको र सोही निष्कर्ष निकालिएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ १७, बिहीबार २०:१४ गते