
काठमाडौं– विश्वकै सबैभन्दा धनी मिडिया उद्धमी रुपर्ट मर्डकले पाँचौं पटक विवाह गरेको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । उनले अवकाशप्राप्त मलेक्युलर वैज्ञानिक एलेना जुकोभासँग विवाह बन्धनमा जेठ २१ गते बाधिएका हुन् । उनकी नवविवाहिता पत्नी वैज्ञानिक एलेना ६७ वर्षीया छन् ।
हाल मर्डकले फक्स टेलिभिजन तथा न्युज कर्पका अध्यक्षबाट अवकाश लिएर बसेका छन् ।
मर्डकको लस–एन्जेलस् स्थित आलिशान रिसोर्ट समानको निवासमा सम्पन्न भएको सो विवाहमा निकै कम पाहुना बोलाइएको थियो भने मर्डकले कालो सुट र एलेनाले सेतो गाउन लगाएकी अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
उनका बुवा सर किथ मर्डक पनि प्रसिद्ध पत्रकार र प्रकाशक थिए । अष्ट्रेलियामा जन्मेका अमेरिकी नागरिक मर्डकको अहिलेको सम्पत्ती करिब २० अर्ब डलर छ । अष्ट्रेलिया बेलायत तथा अमेरिकामा आफ्नो मिडिया व्यवसाय फैलाउन सफल व्यवसायी मर्डकले अष्ट्रेलियामा सन् १९५४ मा पत्रिका खोलेर व्यवसायमा हात हालेका थिए । उनले पत्रिका सफल बनाउन अपराध, यौन, स्क्याण्डल तथा रोचक समाचार दिनु पर्दछ भन्ने तथ्य मनन गरे ।
अष्ट्रेलियामा बाबुको मृत्यु पछि उनले सर किथको पत्रिकालाई सनसनीपूर्ण बनाए र व्यापारिक सफलता पनि प्राप्त गरे ।
सन् १९६९ मा बेलायतको न्युज अफ द वर्ल्ड तथा द सन पत्रिकाको स्वमित्व किने । त्यसपछि सन् १९७३ मा अमेरिका प्रवेश गरेर विभिन्न पत्रिका किन्ने, ठूलो बनाउने र बेच्ने काम गरे । जसमध्ये प्रमुखमा न्युयोर्क पोष्ट, बस्टन हेराल्ड आदि छन् । उनले धेरै पुस्तक प्रकाशन कम्पनीका साथै सिनेमा निर्माता कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सको पनि स्वामित्व समेत किने ।
सन् १९९३ मा स्टार टेलिभिजन नेटवर्कमा लगानी गरे पश्चात संसारभर टेलिभिजनमा उनको पकड भयो । अमेरिकाको फक्स न्युज सन् १९९४मा उनले किनेपछि रिपब्लिकन दलको मुखपत्रको रुपमा सशक्त रुपमा अघि बढेको छ । उनको कम्पनी न्युज कर्पले सन् २००७ मा अमेरिकाको प्रख्यात आर्थिक दैनिक द वाल स्ट्रिट जर्नल किनेको थियो ।
हाल उनी फक्स टेलिभिजन तथा न्युज कर्पका अध्यक्षबाट अवकाश लिएर बसेका छन् ।
उनले मिडिया व्यवसायी बन्नु अघि उनी बेलायतको लण्डन डेली एक्सप्रेसमा सम्पादकको रुपमा काम गरेका थिए ।
प्रकाशित मिति २०८१ जेष्ठ २१, सोमबार १९:५५ गते