पोखरा– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’का बाबा कर्णेल जिपि क्रस एक सय वर्षमा प्रवेश गर्नु भएको छ । सो अवसरमा उहाँको यहाँ स्थित निवासमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ठाडोभाका लोककला प्रतिष्ठान नेपालले उहाँलाई असार ८ गते अभिनन्दन गर्ने तयारी गरेको असार ६ गते खुलाइएको छ ।
उहाँको निवास स्थित पु्स्तकालयमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष पहाडी :
नेपाल पैतृक थलो भई नेपाली हुँ भन्नेहरूले धमाधम नेपाली नागरिकता त्याग गरेर विदेशको नागरिक बन्ने होड चलिरहेको बेलामा बेलायती नागरिक र ब्रिटिश सेनाको कर्णेल हुनु भएर पनि उहाँले उताको नागरिकता त्याग गर्नु भई नेपाली नागरिकता ग्रहण गर्नु आफैमा गर्वको विषय हो । उहाँले २०३२ सालदेखि नेपालमा स्थायी रुपमा बसोबास गर्न थाल्नु भएको हो । उहाँले नेपालको मौलिक कला संस्कृति, खेलकुद तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत विशेष सहयोग र सेवा गर्दै आउनु भएको छ । उहाँको संरक्षकत्व र प्रेरणा नभएको भए सायद ठाडोभाका लोककला प्रतिष्ठानले आजका दिनमा धम्पुलाई संरक्षकका रुपमा नपाउन पनि सक्यो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले भन्नुभएको छ । उहाँका अनुसार त्यसैले कर्णेल जेपि यो प्रतिष्ठानको पनि अभिभावक हुनुहुन्छ । त्यतिमात्र हैन उहाँले नेपाल बस्न थाल्नु भएपछि २२ कृतिहरू प्रकाशित भएका छन् भने तीन वटा कृतिहरू प्रेसमा जाने तयारीमा छन् । यस्तो अतुलनीय व्यक्तित्वलाई अभिभावकका रुपमा पाउनु प्रतिष्ठानको पनि गौरवको विषय हो अध्यक्ष पहाडीले उल्लेख गर्नु भएको छ ।
बेलायती भूमिमा जन्मे, हुर्केर ब्रिटिश सेनाको कर्णेल उपाधि हासिल गरेर पनि भू– स्वर्ग नेपाल र यहाँ बस्ने नेपालीको सेवामा उहाँले जीवन समर्पण गर्नु भएको छ । कोमल एवम् उदार हृदयका धनी तपाई सम्पूर्ण नेपालीका लागि उत्प्रेरक व्यक्तित्व हुनुहुन्छ । नेपाली जनजनमा पुगी कर्णेल जेपिले गर्नुभएको आर्थिक, भौतिक, नैतिक सहयोग हामी नेपालीजनका लागि सधैं अनुकरणीय रहने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष पहाडीले कर्णेल क्रस उच्चकद, लोभलाग्दो, आकर्षक शारीरिक बनोट, मिलनसार स्वभाव, मृदुभाषी, प्रेरणादायी व्यक्तित्व, शालिन बौद्धिकपन, उत्कृष्ट समन्वयकला, सरलता, कोमलता एवम् अद्वितीय त्याग र समर्पणका पर्याय उहाँका विशेष गुण हुन् भनु भएको छ । जसका कारण तपाई नेपालीहरूको उत्प्रेरक स्रोतका रुपमा जनजनको दिलदिमागमा स्थापित हुन सफल हुनुहुन्छ पहाडीले प्रष्ट्याउनु भएको छ । अध्यक्ष पहाडीले भन्नुभयो, ‘यस्ता अद्वितीय व्यक्तित्व तपाईको एक शताब्दी वर्षको शुभजन्मोत्सवको पावन अवसरमा यो प्रतिष्ठान कर्णेल जिपि.ले नेपालको लोक कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यमा गर्नु भएको अतुलनीय कार्यको उच्च कदरका गर्दै यहाँलाई कृतज्ञताका लागि अभिनन्दन गर्नु आफ्नो कर्तव्य ठानेका छौं ।’ 

अभिनन्दन समारोहमा हुने कार्यक्रममा सुनाउन प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कर्णेल जिपिको जीवनीमा आधारित एक छन्द कविताको समेत रचना गर्नु भएको छ ।
आकर्षक, बौद्धिक एवम् अनुभवले खारिनु भएको व्यक्तित्व कर्णेल जेपि क्रसलाई उक्त अवसरमा अभिनन्दन गर्नका लागि प्रतिष्ठानको एक टोली पोखरा जाने तयारीमा रहेको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको नेतृत्वमा प्रतिष्ठानको कार्यसमितिको टोली पोखरा जाने भएको हो । उहाँले भन्नुभयो, ‘सो टोलीमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष शोभा थापा, सीतादेवी दुरा, महासचिव अकल विरही गुरुङ, उपमहासचिव आशबहादुर विक, कोषाध्यक्ष सीता गुरुङ, उपकोषाध्यक्ष भुन्टीमाया तामाङ लगायत कार्यकारी सदस्यहरू सहभागी हुने भएका छन् ।’
प्रकाशित मिति २०८१ असार ६, बिहीबार १०:४९ गते