वेदान्त शिरोमणि डिल्लीजङ गुरुङको ११९ औँ स्मृति दिवसको अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङद्वारा आयोजित प्रथम खुला राष्ट्रव्यापी कविता प्रतियोगिता २०८० को सन्दर्भमा स्मारिका प्रकाशन गरिएको हो ।
‘लोक संस्कृतिको उत्थान : हाम्रो अभियान ।’ ‘ठाडोभाका लमजुङको पहिचान र गौरव’ नारा भएको ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी यसको सम्पादकको भूमिकामा हुनुहुन्छ भने प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ स्मारिकाको विशेष सहयोगी रहनु भएको छ ।
छोटो सम्पादकीयमा वेदान्त शिरोमणी कवि डिल्लीजङलाई चिनाउन कार्यक्रम आयोजना गरिएको र अबका दिन साहित्यका अन्य विधाजस्तै लोकसाहित्य पनि लेखिनु पर्ने कुरामा जोड दिइएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री लगायत नौ जना विशिष्ट व्यक्तित्वहरूका गहकिला शुभकामना मन्तव्य स्मारिकामा पढ्न पाइन्छ ।
कवि डिल्लीजङ गुरुङका कनिष्ठ सुपुत्र मेजर गोपालबहादुर गुरुङले आफ्ना पिता कवि डिल्लीजङ गुरुङको स्मृतिमा कवि गोष्ठीको आयोजना गरिएको र सो अवसरमा सालिक राख्ने ठाउँ वडाकार्यालयले तयार गरेको र कविको सालिक आफ्नो परिवारले तयार गरी अनावरण गरिएको जानकारी दिनुभएको छ ।
कविता प्रतियोगितामा वाचनका लागि छनौट भएका १८ जना स्रष्टाहरू १. विनायक पन्त (तनहुँ) २.शरद शोभा (ललितपुर) ३.तुलसीप्रसाद भट्टराई (इलाम) ४. भोलानाथ सुवेदी (ओखलढुङ्गा) ५. विवेक पराजुली (पर्वत) ६. अनाम उपेक्षित (खोटाङ) ७. कमल विक्स मगर (रोल्पा) ८. जमुना क्षेत्री (सुनसरी) ९. शंभु गजुरेल (नुवाकोट) १०. विजयराज न्यौपाने (लमजुङ) ११. सरस्ती भट्ट सरु (गोरखा, हाल– लमजुङ) १२. सुमी पोखरेल (उदयपुर) १३. बिमला कार्की सुसं (मकवानपुर, हाल– चितवन) १४. रामचन्द्र न्यौपाने (पाँचथर) १५. प्रज्वल अधिकारी (लमजुङ) १६. कल्पना अधिकारी भट्टराई (लमजुङ, हाल– काठमाडौ) १७. कर्ण दयाल सोराडी (बैतडी) १८. सजीना पौडेल (पर्वत)का कविताहरू स्रष्टाहरूको परिचयसहित प्रकाशित गरिएको छ ।
स्मारिकमामा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेको स्वागत कविता पनि छ ।
स्मारिकामा लेख रचनातर्फ यो पङ्क्तिकारको ‘कवि डिल्लीजङ र प्रथम खुला कविता २०८०’, प्रभा भट्टराई आचार्यको ‘एउटा सुन्दर कामको थालनी’, संस्थगत लेख ‘ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको संक्षिप्त चिनारी’ डा बमबहादुर थापा जितालीको ‘गुरु डिल्लीजङ गरुङको गुन’ नवराज पहाडीको ‘कविवर डिल्लीजङ गुरुङको संक्षिप्त चिनारी’ बुद्धिमान दुरा ‘धम्पु’को, ‘ठाडोभाकाको गायन, नाच र बाद्यवादन बारे संक्षिप्त जानकारी’ शीर्षकका लेखहरू समावेश गरिएको छ ।
बुद्धिमान दुरा ‘धम्पु’को लेखले ठाडोभाका कसरी गाइन्छ, कसरी नाचिन्छ र यसमा के कस्ता वाद्यवादनहरू प्रयोग गरिन्छ भन्ने उदाहरण सहित स्पष्ट गरेको छ ।
स्मारिकाको अन्तिम पृष्टहरूमा कविता प्रतियोगिताका निर्णायक समितिको बैयक्तिक विवरण दिइएको छ । त्यसमा संयोजकमा कवि भुवनहरि सिग्देल र सदस्यहरूमा साहित्यकार प्रभा भट्टराई आचार्यका साथै यो पङ्क्तिकार पनि छ ।
स्मारिकामा अक्षय कोष सहितको सम्मान तथा पुरस्कार विवरण र प्रतिष्ठानसँग आवद्ध व्यक्तित्त्वहरूको तस्वीर पनि छन् ।
यो स्मारिकाले मुख्यतः सन्त कवि डिल्लीजङ् गुरुङ र ठाडोभाकालाई चिनाउने काम गरेको छ । साथै १७२ जना कविहरू सहभागी भएको राष्ट्रव्यापी कविता प्रतियोताको बारेमा विस्तृत रुपमा जानकारी छ ।
प्रथम खुला राष्ट्रव्यापी कविता प्रतियोगिता २०८० को नतिजा यस प्रकार रहेको थियो ।
प्रतियोगितामा तीन चरणमा गरी अन्तिम नतिजा घोषणा गरिएकोमा पर्वतकी सजीना पौडेल पहिलो, खोटाङका अनाम उपेक्षित (लविन राई) हाल मलेसिया निवासी दोस्रो, विजयराज न्यौपाने लमजुङ हाल : काठमाडौं तेस्रो, उदयपुरकी सुमी पोखरेल र झापाका तुलसीप्रसाद भट्टराईले सान्त्वना स्थान हासिल गरेको घोषणा गरिएको थियो ।
बैतडीका कर्णदयाल सोराडीलाई विशेष सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । सोराडी चार दिन लगाएर उक्त कार्यक्रममा भाग लिन आउनु भएको थियो ।
विजयी कविहरूलाई कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरुङ, विशेष अतिथिहरू गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ र प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई १०÷ १० हजार रुपैयाँ र विशेष सान्त्वना पुरस्कार प्रप्त गर्नेलाई ६ हजार रुपैया पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
ठाडोभाकाको संरक्षण, सम्बर्धनमा लाग्दै आएको ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले गृह जिल्ला लमजुङमा प्रथम राष्ट्रव्यापी खुला कविताको सफल आयोजना गरेर स्मारिकासमेत प्रकाशन गरेकोमा प्रतिष्ठान परिवारलाई हार्दिक बधाई छ !
प्रतिष्ठानले भविष्यमा पनि यस्तै रचनात्मक कर्महरूलाई अविश्रान्त रुपमा निरन्तरता दिँदै जाओस् ! हार्दिक शुभकामना !
प्रकाशित मिति २०८१ असार ११, मंगलवार ०७:५६ गते