
लमजुङ– २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोसव २०८१ को अवसरमा लमजुङका चार किसान नगद सहित पुरस्कृत भएका छन् । ती किसानलाई जनही १० हजार नगद र प्रशंसापत्रसहित सो अवसरमा आयोजित विशेष कार्यक्रममा असार १५ गते सम्मान गरिएको हो ।
उन्नत तरकारी, गाई र बाख्रा पालकका साथै एकीकृत कृषि समूहबाट एक एक जना किसानलाई छनौट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र, लमजुङले जनाएको छ । सम्मानित हुने कृषकहरूमा तरकारी खेतीतर्फ क्ब्होलासोथार गाउँपालिका– ७ मपिङकी केशकुमारी गुरुङ, एकीकृत कृषितर्फ मध्यनेपाल नगरपालिका– ६ का नन्दलाल लामीछाने, गाईपालक कृषि सुन्दरवजार नगरपालिका– ७ का धु्रवराज पोख्रेल र मस्र्याङदी गाउँपालिका– ७, का बाख्रा पालक कृषक डम्वरसिँङ गुरुङ रहेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताउनु भयो । उहाँका अनुसार ती किसानलाई जनही १० हजार रुपैयाँ, प्रशंसा पत्र, दोसल्लाद्वारा सम्मान गरिएको हो ।
डम्वरसिँङ गुरुङले २०६२ सालदेखि बाख्रा पालन कार्य थाल्नु भएको हो भने उहाँले ०७२ सालदेखि आफ्नो गोठमा बोयर जातका कम्तिमा एक सय बाख्रा पाल्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसैगरी, केशकुमारी गुरुङले विगतको सात वर्षदेखि २६ वटा टनेलमा गोलभेडा सहितको मैसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएकी छन् ।
२०६९ सालदेखि गाई पालन व्यवसाय थालेका ध्रुव पोखरेलले दैनिक पाँच सय लिटर दूध विक्री गर्दै आएका छन् । उनले पालेको गाई देखेर उनकै नेतृत्वमा लमजुङमा गाई पालन व्यवसाय फस्टाउदै आएको हो ।
यसैगरी एकीकृत कृषि गर्ने नन्दलाल लामीछानेले २०४४ सालदेखि नै व्यवसायिक कृषिमा जोड दिदै आएका छन् । उनकोमा यतिबेला सातवटा टलेन छन् भने त्यत्तिकै संख्यामा गाई, पाँच वटा दूधालु भैंसी रहेका छन् । धानको वीउ उत्पादन गर्ने कार्यमा नेतृत्वदायी भूमिका निभाउनुका साथै भोर्लेटारमा दूध चिस्यान केन्द्र स्थापनामा समेत योगदान रहिआएको छ ।
सम्मानित कृषकहरूलाई औपचारिक कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए । उनले कृषिलाई आत्मनिर्भर मात्रै गर्नसके पनि मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भयो । कृषिजन्य उत्पादन बृद्धि गर्न तीनै तहका सरकारले विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले उल्लेख गर्नुभयो । अर्को एक प्रसङ्गमा सरकार गठन भएको छोटो अवधीमै नीति तथा कार्यक्रम र बजेट तयार पार्नुपर्ने बाध्यात्मक अवस्था भएकोले कृषिमा विषय केन्द्रित भएर बजेट विनियोजन गर्न नसकिएको जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरुङ, सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला लगायतले मन्तव्य राख्दै कृषि पेशा प्रत्येक व्यक्ति परिवारका लागि अतिनै महत्वपूर्ण पेशा भएकोले कृषि उद्यमीहरूलाई प्रोत्साहन र पेशालाई सम्मान गर्नुपर्नेमा जोड दिनु भएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ सहित विभिन्न कार्यालयहरूका प्रमुख एवम् प्रतिनिधी तथा कृषकहरूको सहभागिता रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यसैबीच, सुन्दरवजार नगरपालिका– ४ को सत्रसयमा धान दिवसको एमाले निकट अखिल नेपाल कृषक महासंघ जिल्ला समितिको आयोजना र सुन्दरबजार कृषि शाखाको समन्वयमा रोपाई मेला गरिएको हो । एमाले केन्द्रीय उपमहासचिव एवम् प्रतिनिधी सभा सदस्य पृथ्वीसुव्वा गुरुङको प्रमुख अतिथ्यतामा सो मेला भएको हो ।
उहाँले नेपालको प्रमुख खाद्यान्न बालीका रुपमा धान रहेकाले कृषकहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका नेता गुरुङले असार १५ लाई रामरमिताका रुपमा मात्र लिन नहुने उल्लेख गर्नुभयोे ।
सो अवसरमा एमालेका केन्द्रीय सदस्य एवम् लमजुङ इन्चार्ज रामशरण बस्नेत, अखिल नेपाल किसान महासंघ गण्डकी अध्यक्ष गोवर्धन गौली लगायतको सहभागिता थियो ।
त्यसैगरी राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका सबै स्थानीय तहहरूले छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना गरी आ–आफ्नो तरिकाले मनाएको जनाएका छन् ।
उक्त कार्यक्रम कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (लमजुङ, मनाङ), सुन्दरबजार नगरपालिका कृषि विकास शाखा र सुन्दर बीउ कृषि उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई कृषकहरुलाई सम्मान गरिएको हो ।
असार १५ गतेलाई नेपाली समाजमा ‘दही चिउरा खाने’ पर्वका रुपमा समेत मनाउने प्रचलन रहेको छ ।
प्रकाशित मिति २०८१ असार १६, आईतवार १७:१२ गते