गरीबीको पीडा झेल्न नसकी आत्महत्या गरेकी अप्सराको काजक्रिया गर्ने खर्चको पनि अभाव

गरीबीको पीडा झेल्न नसकी आत्महत्या गरेकी अप्सराको काजक्रिया गर्ने खर्चको पनि अभाव

नवराज पहाडी

@antaranganews

२०८१ साउन १ गते मङ्गलबार १०:२४

‘सास छउञ्जेल आश’ भनेझैं यस्तो अवस्थाका श्रीमान्लाई उपचार नगरी टुलुटुलु हेरेर बस्न सक्ने अवस्था अप्सराको थिएन । उनमा न त छोरीहरूलाई स्कूलमा पढ्न नजाओ भन्न सक्ने आँट थियो, न त उनीहरूलाई भोकै राख्न सक्ने अवस्था थियो । कमाउन आफै जाउँ भने पनि श्रीमान्को स्वाहार कस्ले गर्ने ? तैपनि उनी सकेसम्म काम पाएको दिनमा मजदुरी गर्न जाने गर्नुहुन्थ्यो । यी र यस्ता समस्याले जकडिदै आएकी अप्सराले अन्ततः गरीबीको त्यस्तो पीडा झेल्न नसकेपछि आत्महत्याको बाटो रोजेको उहाँका छिमेकीहरूले बताए । 

दलित अधिकारकर्मीहरूको खोजीमा छिमेकी 

खत्रीठाँटी(लमजुङ)– लमजुङकी एक ३६ वर्षीया चार छोरीकी आमाले गरीबीको पीडा झेल्न नसकेपछि आत्महत्याको बाटो रोजेकी छन् । उनको काजक्रियाको खर्चको जोहो समेत हुन नसकेको परिवार स्रोतले बताएको छ ।
यो घट्ना लमजुङको सुन्दरबजार नगरपालिका– ६ को खत्रीढाँटीमा भएको हो । खत्रीठाँटीको कुडुले गाउँकी ३६ वर्षीया चार छोरीकी आमा अप्सरा विकले आफ्नो घर नजिकैको धायराको रुखमा झुण्डिएर चारदिन अघि (असार २८ गते, बिहान) आत्महत्या गरेकी हुन् । विहानदेखि हराएकी उनलाई दिउँसो करिब ३ बजेतिर घर नजिकै पाँच सय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएको अवस्थामा गाउँलेहरूले फेला पारेको प्रहरीले जनाएको छ ।
गरीबीका कारण उनको काजक्रिया गर्ने खर्चसमेत नभएको यो प्रतिनिधिले त्यो परिवारसँग कुरानाकीका क्रममा जानकारी पाएको हो । आमाको शवलाई बेसीशहरमा पठाउने पोष्टमार्टम गर्ने, सदगद आदि गर्दानै ३० हजार जति खर्च भइसकेको सुनाउनु भएको छ, त्यो रकम आफन्तजनहरूले सापटीको रुपमा जम्मा गरेर खर्च गर्नु भएको छ रे ! अप्सराकी माहिली छोरी रुसविनाले बताइन् । उनले भनिन् ‘अब आमाको काजक्रिया गरेर उम्कनका लागि पनि कम्तिमा २२– २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ तर त्यसको जोगाड के कसरी गर्ने भन्ने अन्योल छ ।’
बाबा विरामी भएको हुँदा ७ दिनको दिनमा काजक्रिया सुरु गरी ९ दिनको दिनमा गहुत खाई चोकिने घर सल्लाह भएको छ, धार्मिक परम्पार अनुसार चोखिने दिनमा मलामीहरू र आउने पाहुनाहरूलाई खाना, प्रसाद खुवाउनु पर्छ यस्तो महंगी छ कसरी गर्जो टार्ने ? उनले सुनाइन् ।
अप्सराका श्रीमान् रुपबहादुर विकले आरनको कामबाट कमाई गरी परिवारको पालनपोषण गर्ने तथा छोरीहरू पढाउने काम गरिआउनु भएको रहेछ । उहाँको मानसिक सन्तुलन खल्बलिएर मासिक २ हजार २५ सय रुपैयाँको औषधि खानु पर्ने, त्यो औषधि पनि यतातिर नपाएर काठमाडौंबाट मगाउनु पर्ने रहेछ । चार छोरीमध्ये जेठी रसिलाले कक्षा १२ को पढाई पुरा गरी नतिजाको प्रतिक्षा गरिरहेकी, माहिली रुसविना कक्षा १२ मा भर्नाको तयारीमा रहिछन् । यसैगरी, साहिली रोजिना कक्षा– १० मा र कान्छी छोरी कक्षा– ३ मा अध्ययन गरिरहेकी रहेछन् । उनीहरू चारैजना दिदी बहिनी सामुदायिक भएर पनि बोर्डिङ शैलीमा पढाई गर्ने स्थानीय विद्याज्योति माविमा अध्ययन गर्दा रहेछन् । माहिली रुसविनाले कक्षा– १२ मा भर्ना गर्दा नै चार हजार रुपैयाँ लाग्छ भनेका छन्, आफूसँग चार पैसा छैन, कमाइ गर्ने बाबुको यो अवस्था र आमाले त्यसरी विदा लिदा लिएपछि यो परिवारको सबै बोझ मैले कसरी सहज गर्ने ? आँखाभरी आसु बनाउँदै उनले सुनाइन् ।
उनकी दिदीमा जन्मदैमा अपाङ्गता रहेछ त्यसैले शारीरिक परिश्रमको काम गर्न नसक्ने हुँदा आफू माहिली भएको हुँदा अब परिवारको सबै बोझ ममाथि आएको जिम्मेवारी र दायित्वले थिचिएकी रुसविलाले बताइन् । उनले भनिन्, ‘आमा हुँदा त्यो सबै बोझ उनले लिएकी थिइन् …. ’ रुसविनाको गला अवरुद्ध भयो, उनले थप बोल्न सकिनन् ।
अप्सराका श्रीमान्का नाउँमा पैतृक सम्पत्तीका भनेको एक रोपनी पाखो बारी मात्र रहेछ । त्यसमै सानो दुई कोठे घर, त्यो पनि तीनवर्ष अघि च्वाइस नेपाल नामक संस्थाले बनाइ दिएको रहेछ । घरसँगै यौटा भैंसीको पाडी बाँधिएको, अन्य २, ३ वटा गाई भैंसी पाल्न मिल्ने सहितको कटेरो, घर अगाडि शौचालय र भाञ्सा घर लगायतको संरचनाले आधा रोपनी जति ओगटेको अनुमान छ । बाँकी रहेको आधा रोपनीको उब्जनीले हिजो अप्सरा छँदाका दिनसम्म छ जना र अब पाँच जनाको परिवार कसरी पालिने ? पिरलो थपिएको छ ।
अप्सराकी कक्षा– १० मा पढ्ने साहिली छोरी रोजिना पढाईमा पनि राम्रो रहेको ६०÷६२ जनाको कक्षामा टप टेनभित्रै पर्ने गरेको उनका छिमेकीले बताए । उनका अनुसार यो नानीले राम्रोसँग पढ्ने मौका पाउने हो भने पहिलो, दोस्रो सहजै हुन्छे भन्ने लाग्छ ।
तर अब त कसरी पढ्ने र बाबाको यो अवस्था छ रोजिनाले पनि दुःखेसो पोखिन् । उनका अनुसार बाबाको उपचारका लागि साढे दुई लाख रुपैया ऋण लिएको थियो बैंकबाट । त्यो ऋण तिर्नका लागि बैंकका मान्छेहरूले फोनबाट आमालाई कराइरहने, कहिले काही त घरमै पनि आएर के गरेको छिटो ऋण तिर भन्ने गर्थे, कमाइ नभएपछि कसरी तिर्ने ऋण ? बाबाको औषधि खर्च, हामीहरूको खानाखर्च जुटाउँदैमा सास्ती थियो आमालाई पनि । उनले भनिन्, ‘आमाको बढी आत्तिने र पिर लिने बानी थियो, त्यसैले लग्यो, जे जस्तो भए पनि आमा हुँदा ढुक्क थियो, मेरो पढाईमा मासिक ३ हजार फिस, ट्युसन आदिमा खर्च लाग्ने गरेको छ, अब त ’ उनले आखाभरी आसु बनाउँदै अर्कोतिर टाउको फर्काइन् ।
अप्सराका श्रीमान् रुपबहादुरको पहिलेदेखिनै अलिक मुर्ख स्वभाव रहेछ । त्यसै कारणले एक पटक कर्तव्य ज्यानको मुद्दा समेत खेप्नु परेको रहेछ । उनलाई कुन बेलामा रोगले असर गर्छ भन्ने एकिन नहुने, रोगले असर गरेपछि उनको होस पुरै हराउने, उनले आफ्नो अघि वा वरपर रहेका मानिसहरू कसैलाई पनि नचिन्ने र जे पायो त्यसैले मानिसहरूलाई आक्रमण गर्ने गरेको उनका छिमेकीहरू बताउँछन् । ती छिमेकीले भने, ‘बाबुको यस्तो स्वभाव भएका कारणले अब छोरीहरूको समेत सुरक्षाको चिन्ता छ ।’
‘सास छउञ्जेल आश’ भनेझैं यस्तो अवस्थाका श्रीमान्लाई उपचार नगरी टुलुटुलु हेरेर बस्न सक्ने अवस्था अप्सराको थिएन । उनमा न त छोरीहरूलाई स्कूलमा पढ्न नजाओ भन्न सक्ने आँट थियो, न त उनीहरूलाई भोकै राख्न सक्ने अवस्था थियो । कमाउन आफै जाउँ भने पनि श्रीमान्को स्वाहार कस्ले गर्ने ? तैपनि उनी सकेसम्म काम पाएको दिनमा मजदुरी गर्न जाने गरेको छिमेकीहरूले जानकारी दिए । यी र यस्ता समस्याले जकडिदै आएकी अप्सराले अन्ततः गरीबीको त्यस्तो पीडा झेल्न नसकेपछि आत्महत्याको बाटो रोजेको उनका छिमेकीहरूले बताएका छन् । उनीहरू भन्छन्, ‘दलित अधिकारकर्मी हौं भन्नेहरू यतिबेला कहाँ होलान् ?’
लमजुङमा गरीबीकै पीडा सहन गर्न नसकी आत्महत्याको बाटो रोज्ने अप्सरा सम्भवतः पहिलो महिला हुन् ।
प्रहरीले मृतक अप्सराको शव जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पतालमा ल्याएर पोष्टमार्टम सहितका आवश्यक कार्य पुरा गरी परिवारलाई बुझाई सकेको र सदगत गरिएको जनाएको छ ।
फोटोमा :१) अप्सराका चार छोरी ।
२) परिवारका लागि च्वाइस नेपालले बताइदिएको दुई कोठे घर ।
३) चारछोरीको पृष्ठभूमिका बाबु रुपबहादुर विक ।
प्रकाशित मिति २०८१ श्रावण १, मंगलवार १०:२४ गते
हजुरको प्रतिक्रिया