
भोटेओडार(लमजुङ)– नेपाल निवृत्त शिक्षक समाज लमजुङले गुरुपूर्णिमाका अवसरमा ७५ वसन्त पार गर्नुभएका १० जना गुरुहरू सम्मान गरिएको छ । भोटेओडारको भक्ति नमूना माविको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सम्मान, २११ औँ भानु जयन्तीका साथ दुई कृतिको विमोचन समेते साउन ६ गते गरिएको हो ।
उक्त कार्यक्रममा १० जना ७५ वसन्त पार गर्नुभएका सम्मानित निवृत्त गुरुहरूमा होतृराज ढकाल, मीनप्रसाद ढकाल, नारायणप्रसाद ढकाल, कृष्णकान्त खनाल, गणेशवहादुर पराजुली, रामकृष्ण घिमिरे, विष्णुप्रसाद अधिकारी, सोमकान्त नेउपाने। हरिकृष्ण नेउपाने र हरिप्रसाद अधिकारी हुनुहुन्छ ।
भानुभक्तीय कृति पाठका साथै १५ जना कविहरूले कविता वाचन गर्नुभएको थियो ।
सोही अवसरमा गुरु ध्रुववहादुर कुँवरको ‘चालेका पाइला’ (आत्म संस्मरण) र कवि तीर्थराज अधिकारीको कृति ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे शोक काव्य’ विमोचन भएको थियो । चालेका पाइला कीर्तिका बारेमा आनन्द घिमिरे समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । त्यस्तै ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे शोक काव्य’ कृतिमा कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका कवि विजयराज न्यौपानेले समीक्षा गर्नु भएको थियो ।
समाजका जिल्ला अध्यक्ष खुशीराम डौलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रम समाजका उपाध्यक्ष रामहरि नेउपानेले स्वागत तथा सल्लाहकार संयोजक गुरु गोविन्दवहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको जिल्ला सचिव टीकाराम घिमिरेले सञ्चालन गर्नुभएको थियो ।
ध्रुवबहादुर कुँवर– सात हजार रुपैयाँ, तीर्थराज अधिकारी तीन हजार रुपैयाँ र कमलराज खनिया एक हजार पाँच सय रुपैयाँ आफ्नो जन्मदिनको उपलक्ष्यमा सो कार्यक्रमका लागि प्रदान गर्नु भएको थियो ।
सो कार्यक्रममा सुन्दरवजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता तथा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज नेउपानेको विशेष आतिथ्यता रहेको थियो ।
– मधुविलास पौडेलको सहयोगमा ।
प्रकाशित मिति २०८१ श्रावण ८, मंगलवार १३:०९ गते