दुराडाँडा (लमजुङ)– ऐतिहासिक स्थल दुराडाँडालाई ऐतिहासिक बनाउने विविध आयाममध्येको एक महत्वपूर्ण आयाम हो– हलोक्रान्ती । त्यो दिनले हिरक अर्थात ७५ वर्ष(दिवस)सम्म आउँदा पनि विशेष महत्व नपाई औपचारिकतामा सीमित भएर २०८१ सालको साउन ११ गते बितेको छ । त्यो दिवसमा गरिएका कार्यक्रमले त्यसको नेतृत्वकर्ता तथा कार्यक्रमका सहभागी ठूलादेखि साना पाहुनासम्महरू पनि भाषणमा रमाउने प्रवृत्तीमा यो वर्षमा पनि कुनै कमी रहेन ।
हलोक्रान्ती नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानद्वारा विगतका वर्षझैं यो वर्ष पनि सो दिवसको आयोजना गरिएको हो । हलोक्रान्ति स्थल परिसरमा बृक्षरोपण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । सो अभियानलाई सफलपार्नका लागि त्यो बेलामा हलो जोते भनिएका २७ जनाका परिवारका सदस्यहरू सबैलाई एकतृत गरी कार्यक्रम गर्नु पर्नेमा सो समितिले त्यसतर्फ पनि लामोसमयदेखि चासो राखेको देखिदैन । त्यसमा पनि विगतका वर्षमा यो दिवसका दिनमा प्रतिनिधित्व गर्ने गरिआएका पं. तोयनाथको परिवारका सदस्यहरूको समेत यो वर्ष गैर उपस्थिति रह्यो । यसबाट पनि हिरक जयन्तीलाई आयोजकले के कति महत्व दिएका रहेछन् भन्ने थप बताइरहन परोइन सो क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् । त्यतिमात्र हैन ‘सिंहदरवार गाउँघरमा’ भन्ने नारा फलाक्दै स्थानीय सरकार भनिने वडामार्फत त्यस स्थलको प्रवद्र्धनका लागि योजना बनाई नगरपालिका लगायतका स्थानमा पेश गर्नु पर्ने दायित्व बोकेका वडाध्यक्षको समेत सो कार्यक्रममा उपस्थिति देखिएन । वडाध्यक्षलाई ननिम्त्याइएको हो वा आफ्नो मानमनितो पुग्दैन, अपमानित हुन किन जाने ? भन्ने ठानेर वडाध्यक्षको अनुपस्थित रहेको हो त्यो समेत चासोको विषय बनेको छ ।
सो दिवसमा उपस्थित भएर भाषण ठोक्नेहरूमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला(प्रमुख अतिथि), सर्बोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया, हलोक्रान्ती संरक्षण समिति तनहुँका अध्यक्ष तथा पत्रकार बाबुराम खनाल, कास्कीका हलो जोत अभियानका अगुवा मुक्तिनाथ स्मृति प्रतिष्ठानका कास्कीका बरिष्ठ संरक्षक मोहन थापा, कास्कीका हलो जोत अभियानका अगुवा मुक्तिनाथका कान्छा छोरा किरण शर्मा, प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिपक पौडेल, समाजसेवीद्वय बिष्णुभक्त अधिकारी र टिकाराम घिमिरे, साहित्यकार लक्ष्मीप्रसाद मिश्र, नेपाली काँग्रेस सुन्दरबजार– ४ का सभापति कृष्णविलास न्यौपाने, दलित अगुवा रामबहादुर बि.क. लगायतले आफ्नो शुभकामना मन्तव्यमा हलोक्रान्ती नेपाललाई राष्ट्रिय करण गर्न पर्ने, यसका अभियान्ताहरूलाई राष्ट्रिय बिभुति घोषणा गर्नु पर्ने बताए ।
सो अवसरमा काँग्रेसका सुन्दरबजार नगर सभापति प्रकाश सेढाई, सोही नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपाने लगायत हलोक्रान्तीका जानकारहरू, परिवारका सदस्यहरू, स्थानीय बुद्धिजीवी समाजसेबीको उपस्थिति रहेको थियो ।
सो अबसरमा कास्की र तनहुँबाट आउनु भएका हलोजोत अभियानका परिवारका सदस्यहरू ‘को अछुत ?’, ‘मुक्तिनाथ स्मृती ग्रन्थ, सामन्त अवशेष’ नामक पुस्तक आयोजक प्रतिष्ठानका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो ।
२०६४ साल यता बर्षेनी लमजुङको दुराडाँडामा साउन ११ गते हलोक्रान्ति दिवसको औपचारिक कार्यक्रम सञ्चालन गर्न थालिएको हो तर त्यो ऐतिहासक महत्वको दिनलाई दिवसको रुपमा केही मानिस भेला भएर भाषण गर्ने स्तरबाट माथि उठाउन सकेको भने देखिदैन । सो कार्य गरिएपछि दुराडाँडा क्षेत्रका ब्राम्हणहरूले कयौं दुःख र पिडाहरू(महिलाहरूले घरमाइत गर्न नपाएको, पुरुषहरूले जेल यात्रासम्मको स्थिति)समेत सहन गर्नु परेको हलो क्रान्तिका जानकारहरू बताउँछन ।
हलोक्रान्तीका जानकारहरूले हलोक्रान्तिका नाउँमा साउन ११ गते दुराडाँडामा बर्षेनी ‘हलाकर्षक दिवस’ मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा गर्ने काम आजका दिनसम्म पनि गर्न नसक्नुले प्रतिष्ठानका साथै स्थानीय सरकारको नेतृत्वमा बस्नेहरूको क्षमतामा दह्रो प्रश्न उठेको छ । पाठक वर्गलाई थाहै हुनुपर्छ, प्रतिष्ठानमा नयाँ नेतृत्व आएको डेढ वर्ष बित्दै छ भने स्थानीय सरकार(नगरपालिका)मा नेतृत्व परिवर्तन भएको दुई वर्ष बितिसकेको छ ।
यस तथ्यबाट पनि नेतृत्वकर्ताहरूमा भाषणको आत्मरतिमा रमाउने बाहेकका काम गर्न क्षमता नभएको अर्को तथ्य खोज्न सायद आवश्यक परोइन । त्यतिमात्र हैन ‘पं. तोयनाथले हलो जोतेको शालिक’ निर्माण गर्ने भन्दै शिलान्यास गरिएको समेत आधा दशक बित्न लाग्दा र शिलान्यासकर्ता गण्डकी प्रदेशमा हाल अर्थमन्त्री हुँदा समेत त्यस कार्यका लागि सुको पैसा नछु्ट्याइनुले नेतृत्वकर्ताहरूको कार्यशैलीलाई कुरीकुरी गरी रहेको जानकारहरू बताउँछन् ।
दुराडाँडा किन ऐतिहासिक स्थाल ?
दुराडाँडालाई त्यत्तिकै ऐतिहासिक स्थल भनिएको होइन । शाहवंशको श्रीगणेश गराउने दुराडाँडा । एक साथ (हलो क्रान्तिमार्फत) सामाजिक, राजनीतिक, आर्थिक, आध्यात्मिक एवम् शैक्षिक जागरणको अभियान छेड्ने दुराडाँडा । शैक्षिक जागरणका लागि २००८ सालमा १२ प्राविहरूको स्थापना, सबैको नाम ‘स’बाट उच्चारण गरी सबैका नाउँमा ‘सदन’ समेत जोडेर स्थापना गर्ने विद्वतापूर्ण व्यक्तित्वहरूलाई जन्माउने उर्बर भूमि हो दुराडाँडा । एक जमाना थियो, लमजुङमा जम्मा २५ मावि हुँदाका खबतमा २२ वटामा दुराडाँडाका उपजहरू प्रधानाध्यापक थिए– त्यस्तो क्षमता राख्ने दुराडाँडा । त्यसबाहेक अल्पसंख्यक दुराजातिको उद्म स्थल एवम् मौलिक लोककला, संस्कृति र साहित्यले समेत भरिपूर्ण भएको स्थल हो– दुराडाँडा । जसका कारण यो स्थलोलाई ऐतिहासिक भन्दा अतिशयोक्ति हुनुको सट्टा गर्वको अनुभूति हुने गर्दछ ।
हलोक्रान्तिको मुल उद्देश्य :
हलोक्रान्तीको उदघोष गर्दै त्यसको अगुवा बनेर सो कार्य गर्ने गराउनु हुने पण्डित तोयनाथ अधिकारीका अनुसार हलोक्रान्तीका मूलतः चार उद्देश्य थिए । पहिलो उदेश्य थियो, ‘हलियाहरूको उन्मुक्ति र छुवाछुतको अन्त्य ।’ दोस्रोे, कृषि(आर्थिक)क्रान्ति, निर्बाह मुखी नभई व्यवसायिक कृषि (कतिपय ब्राह्मण परिवारमा हलीका लागि दिने खर्च नहुँदा नहुँदै र आफू काम बिहीन रहँदा पनि हलो जोत्न हुन्न भन्ने मान्यताको पीडाबाट उन्मुक्ति दिने) परिपाटीको विकास गर्ने । तेश्रो, जातीय र लैङ्गिक विभेद बिनाको समाबेसी शिक्षा । चौथो उद्देश्य थियो, रुढीबादी सामन्त संस्कारद्वारा सञ्चालित शासन पद्दतीको अन्त्य अर्थात प्रजातन्त्रको उदय । सायद यिनै चार उद्देश्यको सांकेतिकरुप होला त्यो दिन तोयनाथले जोत्नु भएको चार सिया सामाजिक अभियन्ता दामोदर अधिकारी बताउनु हुन्छ । उहाँका अनुसार प्रतेक बर्ष हलोक्रान्ती दिवस भनेर आयोजना गरिने कार्यक्रमलाई यस दिन अर्थात साउन ११ गते हलिया मुक्ति दिवस, जातीय भेदभाव अन्त्य दिवस, कृषि क्रान्ति दिवस, समावेसी शिक्षा दिवश र सामन्त शासन पद्दतिको अन्त्यका निम्ति शुभारम्भ दिवसका रुपमा यो दिनलाई हेरिने गरेको छ ।
राणा शासनको विरोधमा हलो जोतेको भन्दै तत्कालीन वडाहाकिमले सामूहिक हलो जोत्नेहरूलाई ११ साउन २००७ सालमा पक्राउ गरी जेलसमेत हालेका थिए । त्यसको प्रतिवाद गर्दै ब्राम्हणले हलोजोत्न हुन्न भन्ने कुन शास्त्रमा र कानूनमा छ ? प्रश्न गर्ने, अगुवा पं. तोयनाथका अगाडि वडा हाकिमको केही लागेन, त्यसपछि उनीहरूलाई थुना मुक्त गरिएको थियो ।
तिनताका सो अभियानको विरोध गर्नेहरूले ‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, पं. तोयानाथ तिग्रे हलो जोती बिग्रे ।’ भन्दै गीत नै गाउने गर्दथे ।
‘हलोक्रान्ति’मा सहभागी २७ ब्राह्मण ?
दुराडाँडामा भएको सो ‘हलोक्रान्ति’मा २७ ब्राह्मणहरूले पहिलो पटक भाग लिएका थिए भनिन्छ । पाठक वर्गले कल्पना गर्न सक्नु हुन्छ कि राणा शासनको त्यो जर्जर बेला(२००६ साल)मा एकै दिन एकै ठाउँमा २७ जना ब्राह्मणहरूले लाइन लागेर हलो जोते होलान् ? पत्याउन कठिन हुन्छ । त्यसो त इतिहास जित्नेको मात्र लेखिने गरेको छ । जे होस् ती २७ जनालाई हेला, होचो गर्न आवश्यक पनि देखिदैन, मात्र त्यस बेलाको वस्तुस्थितिको आंकलन र अध्ययन गर्न खोजिएको हो ।
त्यसो त अहिले ‘हलोक्रान्ति’मा सहभागी भनिएका उनीहरू २७ जना सबैको निधन भइसकेको छ । उक्त अभियानका परिकल्पनाकार एवम् नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको ०२२ सालमा निधन भएको हो । तीमध्येकै एक्ला विष्णुप्रसाद अधिकारीको ०७१ पुस ३० गते निधन भएको थियो ।
२००६ सालमा पहिलो पटक दुराडाँडामा हलो जोत्ने काम भएपछि २००८ सालसम्ममा ‘हलो जोत क्रान्ति’ अभियान तनहुँ, गोरखा, कास्की, स्याङ्जा, अर्घखाँची हुँदै पश्चिम र धादिङ, रामेछाप हुँदै पूर्वतर्फ लागेको थियो ।
२००६ सालमा ब्राह्मणहरूले हलो जोतेर थालेको क्रान्तिले ल्याएको सामाजिक जागरणले नै मुलुकमा ठूलै परिवर्तन (राजनीतिक) त भयो छुवाछुत विरुद्ध कानुन बनेपनि व्यवहारमा त्यसले उस्तो सार्थक उपलब्धी दिन सकेको छैन । त्यस्तै, त्यसका अभियन्ता र सामाजिक क्रान्तिको थालनी भएको लमजुङको दुराडाँडा भने महत्व भने अझै ओझेल छ ।
सल्लाहकार समिति किन ?
आयोजक प्रतिष्ठानको सल्लाहकार समिति पनि छ भन्ने सुनिन्छ । तर त्यसले समेत आफ्नो भूमिकालाई दुराडाँडाको गरिमा अनुसार उचो बनाउन सकेको देखिदैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने स्थितिबाट सो समिति समेतले दिन कटाएको देखिन्छ । अब निरासाको बादललाई दोहोरिन नदिनका लागि मूलतः सल्लाहकार समितिका संयोजक(अध्यक्ष)ले आफ्नो कार्यक्षमता एवम् भाविष्य देख्ने चेतलाई पुनः जागृत गरी योजनाबद्ध रुपमा काम गर्न र मर्न÷मर्न लागेको दुराडाँडाको ऐतिहासिकतालाई पुनःजागृत गर्न आवश्यक देखिन्छ ।
ऐतिहासिक हलोक्रान्तीको ७५ बर्ष पुरा भयो तर एकसाथ सामाजिक, राजनीतिक, आर्थिक एवम् शैक्षिक जागरणको अभियान छेडिएको दिन, ती अभियन्ता र त्यस्ता युगद्रष्टा जन्माउने स्थल उपेक्षाको शिकार भइरहेको छ र अझै कति दिन त्यो स्थिति भोग्नु पर्ने हो भविष्यकै गर्भमा छ ।
प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद अधिकारीले स्वागत तथा सल्लाहाकार रामचन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीकान्त न्यौपानेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण १२, शनिबार १०:४२ गते