पर्यटनको क्षेत्रमा अहिले इतिहास, सस्कृति र प्राकृति सम्पदाहरू खोज अनुसन्धान तिर रुचि बढ्न थालेको छ । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । जुन कारणले पर्यटनमा इतिहास र संस्कृति धेरैको रुचिको बिषय हुुने गरेको छ । पर्यटकहरूलाई इतिहासका कुरा अहिले सुन्दा सामान्य लाग्न सक्दछ । तर पनि इतिहासको घटनाले युग र चेतना परिवर्तनको लागि दरिलो सन्देश दिएको हुन्छ । पर्यटनलाई खुल्ला विश्वविद्यालय भनिन्छ । ऐतिहासिक पुरातात्विक सम्पदाको खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकले लुकेर रहेका ऐतिहासिक कुराहरूलाई बाहिर ल्याइदिने काम गर्दछन । इतिहासको अध्ययनबाटनै बितेका घटनाहरूको ज्ञान प्राप्त हुन्छ । इतिहासको अध्ययनले देशमा बितेका घटना बुझ्न र जान्न सकिन्छ । इतिहास स्मृतिहरूको अभिलेख पनि हो ।
पर्यटकहरूले लमजुङको इतिहास दुरा जातिको संस्कृति र शाहवंशको इतिहास जान्नको लागि दुराडाँडा पुग्नै पर्दछ । दुराडाँडा कुनै समय लमजुङको ‘शैक्षिक हव’नै थियो । सरकारी जागिरमा उच्च ओहदामा पुग्ने धेरै दुराडाँडाका मानिसहरू हुन्थे । कुन्छा लमजुङको पुरानो सदरमुकाम हो । राणाकालमा पनि दुराडाँडा क्षेत्रका धेरै स्कुलहरू खुलेका थिए । दुराडाँडा क्षेत्रको सिन्दरे ढुंगा यशोब्रम्हा शाहलाई सिन्दुरजात्रा गरी राज्याभिषेक गराएको स्थल हो । दुराडाँडा पुगेपछि पर्यटकहरूले खजे दुरा पार्क, तीन गढी, तुर्लुङकोट कालिका मन्दिर, दुरा जातिको भागु, भगवान्थान, मनाङ डाँडा, डढुवा डाँडा समेत पर्यटनका लागि पुग्नै पर्दछ । दुराडाँडा वरपरका सिंन्दूरे, चन्द्रेश्वर, नेटा, दुराडाँडा, पुरानकोट र धुसेनी सबैलाई दुराडाँडा भनिन्छ । दुराहरूको बसोवास भएको थलो भएकाले सबै गाउँलाई दुराडाँडा भन्ने गरिए पनि अहिले दुराडाँडा भित्र पनि अनेकौ नामका गाउँहरू भएका छन । पर्यटकहरूको रुचि अनुसार आजभोलि पर्यटन क्षेत्रको बिट पनि बिस्तार हुँदै गएको छ ।
दुराडाँडा सुन्दरबजार नगरपालिका– ३ र ४ मा पर्दछ । दुराडाँडामा जानको लागि मध्य पहाडी लोकमार्गमा पर्ने किरिञ्चे खोलाको सत्रसयको घुम्तीदेखि उकालो लाग्नु पर्दछ । पहाडी श्रृखला फराकिलो मोटर मार्ग जतिमाथी उकालो चढ्दै गयो शितलताको अनुभव, वरपरका गाउँघरको दृष्यावलोकन गर्दै चन्द्रेश्वरको च्यानपाटामा पुगिन्छ । दुराडाँडा पुरानो गाउँको व्यापारिक केन्द्र पनि हो । व्यापारिक केन्द्र हुनुभन्दा अघि त्यस ठाउँमा दुरा जातिहरूको चिहान थियो । चिहान रहेको पाटा अर्थात पाखा भएकाले चिहानपाटा भन्दै जाँदा ठाउँको नाम च्यानपाटा भएको मानिन्छ । च्यानपाटाको खजे पार्कमा खजे दुराको पूर्ण कदको शालिक राखिएको छ । पार्कमा पुग्ना साथ पर्यटकहरूले हातहातै भएको क्यामेरासहितको मोवाइल फोन खिचिक्क, खिचिक्क, खिचिक्क ! हुन थाल्छ । मोवाइल मात्र हैन, ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउने पर्यटकहरूको संख्या पनि कमी हँुदैन । बास्तवमा अहिले आन्तरिक पर्यटकहरूबाटनै ग्रामीण क्षेत्रका इतिहास, संस्कृति र जनजातिहरूको भाषा, रितीरिवाज जस्ता कुराहरूको खोज अनुसन्धान हुने गरेको छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ ।
दुराडाँडामा नयाँ अनुहारका मानिसहरू देख्ना साथ धेरैले अनुमान लगाउछन यिनिहरू पक्कै पनि बाह्मणले हलो जोतेको ठाउँ हेर्न आएका होलान ? हुन पनि हो दुराडाँडामा पुगेपछि पर्यटकहरूले ‘हलोक्रान्ति’का बारेमा रुचि पूर्वक सोध खोज गर्दछन । दुराडाँडाको बाटेगरामा २००६ साउन ११ गते ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हली प्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल लगायतका २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए । त्यो बेला नेपाली समाजमा बाह्मणले हलो जोत्नु सामाजिक अपराध अर्थात पाप मात्र होइन कर्म नाश, धर्म नाश र जाति च्युत हुने कर्म हुने गर्दथियो । अहिले हलोक्रान्तिमा सहभागी भएका सबैको निधन भइसकेको छ । तर पनि दुराडाँडामा पुग्ने पर्यटकहरूले हलो क्रान्तिको बारेमा स्थानीयहरूसंग सोधखोज गर्दै रुचिपूर्वक कुरा सुन्दछन । बाह्मणले हलो जातेपछि गाउँलेले झ्याली पिटदै उनीहरू दलित सरह भएको घोषणा गरे । अर्कोतर्फ हलो जोत्नेहरूलाई भात भान्सा ठेकियो । माइत आएका छोरीचेली घर जान पाएनन, घर गएका बुहारी माइत जान पाएनन । उमेर पुगेका युवायुवतीको बिहे समेत रोकिन गयो । कोही विदेश पलायन भए । कुरा त्यतिमा मात्रै सीमित रहेन, ब्राहमणले हलो जोतेको विरोधमा राणा सरकारमा उजुरी पर्यो ।
सरकारविरोधी काम गरेको आरोपमा तत्कालीन श्री ३ मोहन शमशेरको पालामा बडाहाकिमले पठाएको भन्दै पण्डित तोयानाथ, शेषकान्त र श्रीकान्त अधिकारीलाई २००७ साल साउन ११ गते गिरफ्तार गरियो । परेवाडाँडा, पुरानो सदरमुकाम कुन्छा, भोर्लेटार हुँदै हिँडाएर उनीहरूलाई पोखराको गोश्वारामा हाजिर गराइयो । उनीहरूले आफ्नो बयानमा गल्ती गरेको छैन, कानुन र वेदमा बाहुनले हलो जोत्न हुँदैन भन्ने उल्लेख भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छौं भनेर जेलभित्रै अनशन बसेपछि सबैलाई ४८ घण्टापछि रिहा गरिएको थियो । दुराडाँडामा बाह्मणहरूले हलो जोतेर राणा शासनको बिरोध गरेका थिए । जुन घटनालाई इतिहासमा ‘हलोक्रान्ति’ भनिन्छ । दुराडाँडामा आज भन्दा ७५ बर्ष अगाडि हलोक्रान्तिले प्रगतिशील परिवर्तनको सन्देश दिइएको थियो । हलोक्रान्ति बाहुनले खेतबारी जोत्नुमा मात्रै सीमित भएन । यसको सन्देश राजनीतिक, प्रभाव सामाजिक र सांस्कृतिकसमेत रह्यो । बाहुनले गोरु नारेर, हलोको अनौ समाएर खेत जोतेकै कारण परम्परा, कामप्रति छुवाछुत, कट्टरता र अन्ततः जातीय विभेदप्रति पनि चोटिलो प्रहार भयो । प्रगतिशील परिवर्तनको सन्देश फैलायो । तत्कालीन समाजमा हल्लीखल्ली मच्चियो । इतिहासमा पढेका तर बाह्मण हलो जोतेको ठाउँ नदेखेका पर्यटकहरू आजभोलि दुराडाँडामा पुग्ने गर्दछन । दुराडाँडामा २०६४ सालदेखि प्रत्येक बर्ष साउन ११ लाई हलोक्रान्ति दिवस मनाउने गर्दछन । हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान गठन भएको छ ।
पर्यटनका लागि दुराडाँडा इतिहास, संस्कृति र प्रकृतिको अनुपम सगम हो । लमजुङको दुराडाँडा वरपर पुरानकोट, नेटा, चन्द्रेश्वर, सिन्दुरे र धुसेनी गाउँहरू पर्दछ । दुराडाँडा आदिवासी दुरा जातिको थातथलो हो । दुरा जातिहरू नेपालमा थोरै जनसख्या भएको आदिवासी जनजाति समुदाय मध्येमा पर्दछन् । नेपालको इतिहास निर्माणका क्रममा ऐतिहासिक भूमिका खेलेको दुरा जातिको संस्कृति, रहनसहन, ऐतिहासिक र पुरातात्विक स्थल दुराडाँडामा पर्दछ । आजभोलि दुरा जातिको संस्कृति, मनोरम प्राकृतिक दृश्यावलोकनको लागि पर्यटकहरू दुराडाँडा पुग्दछन । दुरा जातिको इतिहास र संस्कृति अध्यन गर्न दुराडाँडा पुग्नै पर्दछ । दुराडाँडा दुरा जातिको बसोबास स्थल मात्र नभएर ऐतिहासिकता जोडिएको क्षेत्र पनि हो । तर दुराडाँडा क्षेत्रमा दुराहरूको मात्र बसोबास छैन । अन्य जातिको पनि बाक्लो गाउँहरू पर्दछ । पछिल्लो समय दुराडाँडाको इतिहास, र संस्कृतिलाई संरक्षण गर्दै पर्यटनको विकास गर्ने उद्देश्यले दुरा जातिहरूको सिन्दुरे, ठूलोस्वाँरा, दुरा गाउँ, तुर्लुङकोट र खजे दुरा गाउँमा पर्यटनका लागि होमस्टे सञ्चालनमा गरेका छन । होमस्टेहरूमा स्थानीय उत्पादनबाट बनेको नेपाली खानाको स्वाद पाइन्छ । दुराडाँडा क्षेत्रमा उत्पादन भएका धानको भात, तरकारी, दालका साथै अन्य परिकारहरू पनि स्थानीय उत्पादनबाटै बनाइन्छ । खाजा वा नास्ताको रुपमा सेल रोटी, तरकारी, भुटेको मकै, भटमासलगायत परिकार पर्यटकहरूलाई दिने गरिन्छ । लोकल कुखुराको मासु, कोदोको ढेंडो, जंगली निहुरोको तरकारी, गुन्द्रुक, मटमास (सिन्की) साधेको आचारले पर्यटकहरूको मुख रसाउँछ । होमस्टेमा मौसम अनुसारका फलफूलहरू पर्यटकहरूलाई दिने गरिन्छ । गाई÷भैँसीका दूध, मोही, घ्यू र स्थानीय उत्पादित महको स्वाद पनि लिन पाइन्छ । इच्छा हुनेको लागि निश्चित मात्रमा कोदोको लोकल रक्सी पनि चाख्न पाइन्छ ।
अल्पसंख्यक आदिवासी दुरा समुदाय संस्कृतिका धनी छन् । अझै पनि आफ्नो मौलिक संस्कृतिलाई बचाएर राखेका छन् । दुरा जातिको सांस्कृतिक भूमिलाई नियाल्दा अनेकन् रोचक परिदृश्य देखापर्छन् । गाउँ बार्ने, गुरुबाउ मान्ने, रोधिं बस्ने, रोधिं आमा÷बाबु मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, गाउँका तन्नेरीले एकअर्काको सियो राख्ने अर्थात उपनाम राख्ने, लोबारे खाने, दशाग्रह हेर्ने, गुहार, पर्म, झारा, तुर्लुङकोट मौलामा फूलपाती भित्र्याउने लगायतका चलन भेटिन्छन् । तर आजभोलि कतिपय यस्ता प्रचलन लोप भइसकेका छन् र भएका प्रथा पनि लोप हुने क्रममा छन् । गाउँको होमस्टेमा आउने पाहुनालाई उनीहरू सांस्कृतिक कार्यक्रमहरू देखाएर मनोरञ्जन दिन्छन् । दुराडाँडाको पहिचानका रुपमा ठाडोभाका रहेको छ । दुराडाँडाकै गायक स्व. देउवहादुर दुराले प्रतिपादन गरेको ठाडोभाका राष्ट्रिय रुपमा पनि चर्चित छ । त्यो भाकासँगै देउवहादुरका दौतरी पञ्चैसुब्बा गुरुङको पनि नाम आउछ । पछि त्यही भाकालाई भेडीखर्के साइँलालगायतले फैलाएको हुन । ठाडो भाकाका सर्जक देउबहादुरको घरलाई अहिले संग्राहलयको रुपमा विकास गरिएको छ । अर्को तर्फ दुरा जातिले अन्य सांस्कृतिक अवयवहरूमा घाँटु, सोरठी, दोहोरी, झ्याउरेलगायत रहेका छन् । बाह्रमासे र कुसुण्डा घाँटुलाई छोटो संस्करण बनाएर होमस्टेमा बस्ने पर्यटकहरूलाई देखाउने गरिन्छ । त्यस्तै पर्यटकहरूको चाहना भए सोरठी र झ्याउरे पनि देखाउने गरिन्छ । यसको साथमा आमा समूहको नाचले पर्यटकहरूलाई समेत नचाउँछ ।
दुराडाँडामा पर्यटन र समुदायको विकासका लागि धेरै कामहरू भएका छन् । जुन विकास हेरेर पर्यटकहरूले आनन्द लिन सक्छन् । त्यसमध्ये लमजुङकै पुरानो चियानपाटास्थित सर्वोदय उच्च माध्यमिक विद्यालय, हाँडी खोलाको बर्धन गाउँमा निर्माण गरिएको ठाडोभाकाका सर्जक देउबहादुर दुरा स्मृति सग्राहलय, नेटा गाउँको कानेश्वाँरामा रहेको हेसे होइतुङ बौद्ध गुम्बा तथा नेटाको मालिका मन्दिर, तुर्लुङ्कोटको समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली स्रोत केन्द्रमा दुराडाँडा पुग्ने पर्यटकहरू पुगेकै हुन्छन । शाह वंशको ऐतिहासिक पृष्ठभूमि खोज र अध्ययनको लागि दुराडाँडा पुग्नै पर्ने हुन्छ । नेपालको इतिहासमा दुरा जाति र दुराडाँडाको विशेष महत्व रहेको छ । बि.सं. १५५० मा कास्कीका राजा कुलमण्डन शाहसँग खजे दुराको नेतृत्वमा गएको समूहले कान्छा छोरा यशोब्रम्ह शाहलाई लमजुङको राजा बनाउन मागेर ल्याएका थिए । दुराडाँडाको ऐतिहासिक थलो ‘सिन्दूरे ढुङ्गा’मा यशोब्रम्हा शाहलाई सिन्दूर जात्रा गरी राजा घोषणा गरिएको थियो । त्यसपछि त्यो क्षेत्र ‘सिन्दूरे ढुङ्गा’का नामले चिनिन थाल्यो । त्यसअघि पनि दुराहरूकै नेतृत्वमा कास्कीका राजा कुल मण्डन शाहसँग कालु शाहलाई राजा बनाउन मागेर ल्याएका थिए । तर लमजुङका तत्कालीन घले शासकहरूले उनको हत्या गरेपछि पुनः यशोब्रम्हलाई मागेर ल्याएका हुन् । दोस्रो पटक यशोब्रम्ह शाहलाई ल्याउदा भने विशेष सावधानीका साथ ल्याएका थिए । दुराडाँडा जादा पर्यटकहरू ऐतिहासिक सिन्दूरे ढुङ्गामा पुग्दछन । यशोब्रम्ह शाहलाई राजा घोषणा गरेर सिन्दूर जात्रा गरिएको सिन्दुरे ढुङ्गा दुराडाँडा गाउँको ठूलोस्वाँरा, बर्धनगाउँ र तुर्लुङकोट गाउँको बीच(भागु)मा पर्दछ । सिन्दूरे ढुङ्गालाई दुरा समुदायले संरक्षण गरेर राखेका छन् ।
दुराहरूको तत्कालीन शासकहरूसँग जोडिएको तुर्लुङकोट गाउँ भन्दा माथिको डाँडामा तीन वटा ऐतिहासिक गढीहरू रहेका छन । जस्लाई सिरान, बीच र पुछारको गढीको नाम दिइएको छ । तीन वटा गढीले दुरा जातिको वीरता र साहसको इतिहास बनेको छ । दुराडाँडा पुग्ने पर्यटकहरू यी गढीमा पुगेकै हुन्छन । तुर्लुङकालिका मन्दिरको देवता यशोब्रम्हा शाहले भीर कोटबाट ल्याएर मानिन्छ । दुराडाँडामा अरु पनि स्थानीयको आस्थासँग जोडिएका धार्मिकस्थलहरू छन् । त्यसमध्ये नार्खु भगवानको थान पनि छ । नार्खु भनेको दुरा भाषामा शिवलाई भनिन्छ । दुराडाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृखला, लमजुङ हिमाल, हिमालचुली, मनास्लुलगायतका हिमालहरूका र दक्षिणतर्फ सुन्दर हरियाली महाभारत श्रृखंलाहरू अवलोकन गर्न सकिन्छ । दुराडाँडाको ठूलोस्वाँरा गाउँबाट करिब १५ मिनेटको उकालो चढेपछि पुगिने मनाङ डाँडा पर्यटनका लागि प्राकृतिक भ्युटावर हो । दुराडाँडाको सबैभन्दा अग्लो स्थान डढुवा डाँडा हो ।
पर्यटकले दुराडाँडामा खोजे जस्तो स्तरीय वा सुविधायुक्त होटल, रेस्टुरा, लज नहोलान । तर, गाउँमा हार्दिकता पूर्वक स्वागत गर्ने होमस्टे पर्यटकहरूले भेटछन । ती घरमा पर्यटकहरु परिवारजस्तै भएर बस्न सक्दछन । रैथाने दुरा जातिसँग घुलमिल गरेर घुमफिरको फरक स्वाद पर्यटकहरुले लिन सक्दछन । घुमफिरमा गाउँघरमा भेटिने हरेक मानिसले पर्यटकसँग परिचित मुस्कान दिन्छन । गाउँमा नौलो अनुहार देख्ने बित्तिकै दुराडाँडामा सोधि हाल्छन हजुर कहाँसम्म कहाँबाट आउनु भयो ? हाम्रो गाउँमा यहाँलाई स्वागत छ । त्यतिमात्र होइन, पर्यटकलाई आफ्नै घरमा निम्त्याउने गर्दछन । चियापानी टक्रयाउने छन । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन । बारीमा सुन्तला फलेको छ वा अम्बा, मकै पाकेको छ अथवा सिजन अनुसार काँक्रा, केरा जे छ तपाईंलाई चखाउँन खोज्दछन । आफ्नो घरमा आइदिएकोमा, आफ्नो चुलोमा पाकेको खानेकुरा खाइदिएकोमा कृतज्ञ समेत हुन्छन् । अहो ! यस्तो हार्दिकता शहर बजारमा कहाँ पाइन्छ ? गाउँमा पुग्ने पर्यटकहरू गाउँघरको स्वागत सत्कारले खुशी हुन्छन ।
दुराडाँडा वरपरको भौगोलिक बनावटले धेरै पर्यटकहरू लोभिन्छन । गाउँघरका उच्च डाँडाकाँडाबाट देखिने हिमश्रृखला, विभिन्न पाखा, पखेरा, टाकुरा, हरिया जंगल झाडी, नागवेली आकारमा बग्दै गरेका खोला नाला, गाउँमा पुगेपछि पर्यटकहरूलाई गरिने आतिथ्य सत्कारको भावना, सांस्कृति विविधता, जातजातिका भेषभूषा कला संस्कृति यीनै कुराहरूले गाउँमा पर्यटकहरू जान रुचाउछन । जब दुराडाँडामा पर्यटकहरू पुग्दछन् गाउँघरको प्रकृतिक सौन्दर्य र जैविक विविधतासंग रमाउछन् । अर्कोतर्फ ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले पर्यटकहरू आकर्षण हुन्छन । गाउँहरूमा प्राकृतिक सौन्दर्य पर्यटनसँग जोडिएको छ । ती प्राकृतिक श्रृखलाहरूको दृश्यावलोकन गर्न पर्यटकहरूलाई सहज हुन्छ । पहाडी डाँडाकाँडा पर्यटकहरूका लागि आफैमा प्राकृतिक भ्युटावर बनेका छन । कुनै एक डाँडाको चुचुरोबाट हेर्दा दर्जनौं गाउँघरको अवलोकन गर्न सक्दछन् ।
(लेखक : स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८१ श्रावण १६, बुधबार ०९:१८ गते