बेसीशहर- लमजुङ जिल्लामा रहेको एकमात्र भानु घाँसी संवाद पार्कमा निर्माण गरिएका आदिकवि भानुभक्त र घाँसी पार्कमा निर्माण गरिएको शालिक ताेडफाेड गरिएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका- ४ काे दुईपिप्ले स्थित रिस्ती दाेभानमा बनाइएको भानु- घाँसी पार्क र त्यसमा निर्माण गरिएको आदिकवि भानुभक्त र उनका प्रेरणा स्रोत मानिएका घाँसीकाे शालिक ताेडफाेड कार्य गरिएको हाे । घाँसीकाे शालिककाे घाँटी छिनालिएकाे छ भने भानुभक्तको हात भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् भने समाचारमा संलग्न फाेटाेमा पनि देख्न सकिन्छ । साे ताेडफाेड कार्य साउन १४ गते गरिएको हाे । साेही दिन शालिक ताेडफाेड कार्य गर्ने प्रमुखकर्तालाई प्रहरीले पक्राउ गरि १५ गते जिल्ला अदालतबाट मुद्दा चलाउन ७ दिनको म्याद लिएको थियोे । साे म्याद आज सकिएसंगै आज २१ गते दाेस्राे पटक फेरि ७ दिनको म्याद थप भई आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साे कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति मध्यनेपाल नगरपालिका- ४ दुई पिप्लेका २८ वर्षीय पृथ्वी उपरकाेटी हुन् । उनका विरुद्ध अपराधिक उपज मुद्दामा अनुसन्धान थालिएकाे हाे । उपरकाेटी एक्लैले साे ताेडफाेटकाे कार्य गरे हाेलान् भन्ने त्यो दृश्य देख्नेहरु कसैले पनि पत्याउदैनन् । तर उनलाई ‘तँ परे पनि साथीहरूलाई नपाेल’ भन्ने निर्देशन दिइएको हुदा अन्यको नाम उनले नभनेको तर आफुले भने साे अपराध स्विकार गरेको प्रहरी स्राेतले बताएको छ । उक्त अपराध मुद्दा सरकार वादी हुने र कसुर ठहरेमा ५ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरुले बताएका छन् । तर उपरकाेटीलाई राजनीतिक संरक्षण दिएर उम्काउने प्रयास जारी रहेको स्राेतले बताएको छ ।
प्रकाशित मिति २०८१ श्रावण २१, सोमबार २१:४५ गते