तल्लो चिप्लाका गाउँले रातभर छिमेकी र विद्यालयको शरणमा

तल्लो चिप्लाका गाउँले रातभर छिमेकी र विद्यालयको शरणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २५ गते शुक्रबार ०७:५७

गाउँलेका लागि तत्काल गाउँपालिकाले २५, जिल्ला प्रशासन कार्यालयले ४ र नेपाल रेडक्रस सोसाइटीले १० वटा त्रिपाल स्थानीयलाई दिएको र त्यसैबाट बासको गुजारा चलाइएका छन् ।

सो स्थानको निरीक्षणबाट फर्केपछि गाउँलेहरू त्रासपूर्ण अवस्थामा रहेको पाएको प्रजिअ बुद्धबहादुर गुरुङले बताउनु भयो ।

तल्लो चिप्ला(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेका मस्र्याङ्दी गाउँपालिका– ५, तल्लो चिप्लाका गाउँलेहरू रातभर छिमेकी र विद्यालयमा शरणमा विताउने गरेका छन् । त्यो गाउँ पहिरोको उच्च जोखिममा परेको जिल्ला विपत व्यवस्थापन समितिले ठहर गरेको छ ।
तल्लो चिप्लास्थित गैरी गाउँ पहिरोको जोखिममा परेका ४५ घर परिवार रातको समयमा छिमेकीको र विद्यालयमा रात बिताउने गरेको गाउँलेहरूले बताएका छन् । उनीहरूका अनुसार गाउँदेखि माथिल्लो स्थानमा साउन १२ गते रातीदेखि धाजा फाट्ने र पहिरो चल्न थालेपछि आफूहरूको त्यस्तो स्थिति भएको गाउँलेले बताए । गाउँमाथि करिब एक÷डेढ सय मिटर माथि धाँजा फाट्नुका साथै पहिरो बग्न थालेपछि गाउँका वासिन्दाले रातको समय घर छाडेका छिमेकी र आफन्तजनकोमा रात बिताउने थालेको सो वडाका अध्यक्ष घनश्याम घलेले बताउनु भयो ।
घलेका अनुसार पहिरोका कारण गाउँका ४२ घरधुरीका १ सय ८२ जना नजिकै डाँडागाउँ, विद्यालय र त्रिपालमुनी बसिरहेका छन् । उहाँले भन्नुभयो, ‘साउन १२ गते गाउँबाट माथि १ सय मिटरको दुरीमा जमीन धाँजा फाट्नुका साथै पहिरो चल्न थालेपछि तल्लो चिप्लाका वासिन्दा डराएर रातमा घरमा बस्न छाडेका हुन्, त्यहाँको अवस्था हेर्दा हामीले पनि घरमै बस भनेर गाउँलाई भन्न सक्ने अवस्थान छैन ।’
यसको जानकारी हामीले पालिका र जिल्ला प्रशासन कार्यालयमा पनि गरेको हो, त्यसपछि प्रजिअ बुद्धबहादुर गुरुङको नेतृत्वमा जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीको टोलीले निरीक्षण गरेको हो । निरीक्षणबाट फर्केपछि गाउँलेहरू त्रासपूर्ण अवस्थामा रहेको पाएको प्रजिअ गुरुङले बताउनु भयो । उहाँका अनुसार गाउँलेलाई स्थानान्तरण गर्नु पर्ने या नपर्ने बारेमा गृहमन्त्रालयको विपद व्यवस्थापन समितिलाई पत्र पठाउने काम भएको छ । उहाँले भन्नुभयो, ‘त्यो समितिको प्रविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मात्र गाउँलेका लागि के गर्नु पर्ने भन्ने यकिन हुन्छ ।’
गाउँलेहरू विहान घरमा जाने खाना खाने, दिनभर काम गर्ने र साँझमा पनि छिट्टै खाना खाएर छिमेकी, र आफन्तकोमा गएर रात विताउने गरेका रहेछन्, स्थिति यसै भन्न सक्ने खालको नभएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।
मस्र्याङ्दी गाउँपालिका— ५ मा रहेको तल्लो चिप्लामा गैरीगाउँ र डाँडागाउँ गरी २ गाउँ रहेको र अहिलेको समस्या भनेको गैरी गाउँको रहेको सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उनका अनुसार जिल्ला विपद व्यवस्थापन समितिमार्फत गैरीगाउँको पहिरो र गाउँ रहेको स्थानको विशेषज्ञ टोलीले अध्ययन गर्न आवश्यक रहेको र सो टोली छिट्टै आउने आशामा प्रतिक्षारत रहेका छौं ।
उहाँले भन्नुभयो, ‘आज साउन २४ गते पनि म त्यही गाउँमा पुगेर फर्केको हुँ, धाँजा फाटेको ठाउँ झन् फराकिलो भएको र त्यो गाउँ नजिकको खोल्सामा पहिरो चल्ने थालेको हुँदा जोखम थप बढेको अनुभव भयो ।’ गाउँ बढी भिरालो ठाउँमा भएको हुँदा पनि समस्या जटिल छ उहाँले उल्लेख गनुृभयो । तल्लो चिप्ला गाउँका ४५ घर परिवार जोखिममा रहेको पालिकाले सिफारिस गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
तल्लो चिप्लाको गैरीगाउँ पहिरोको चपेटामा परेको र गाउँका वासिन्दा डराएको वडाअध्यक्ष घलेश्याम घलेले बताउनु भयो । उहाँका अनुसार ती गाउँलेका लागि तत्काल गाउँपालिकाले २५, जिल्ला प्रशासन कार्यालयले ४ र नेपाल रेडक्रस सोसाइटीले १० वटा त्रिपाल स्थानीयलाई दिएको र त्यसैबाट बासको गुजारा चलाइएका छन् । उहाँले भन्नुभयो, ‘केहीलाई डाँडामा रहेको बाल विकास प्राविमा सुत्ने व्यवस्था मिलाइएको छ ।’
यतिबेला लमजुङको लेखकका गाउँमा कोदो रोप्ने चटारो चलिरहेको छ । तल्लो चिप्ला पनि लेककै एक गाउँ हो, त्यसैले यहाँका गाउँलेहरू पनि यतिबेला दिनभर काम गर्ने र साँझ छिटो छिटो खाना पकाएर खाई नजिकैको रहेको छिमेकी डाँडागाउँ, विद्यालय हातामा त्रिपालमा बस्न जाने गरेको स्थानीय गंगा मिलन माविका शिक्षक काम सार्की गुरुङले बताउनु भयो ।
उहाँका अनुसार गाउँले बस्नको लागि गैरीगाउँबाट १५ मिनेट जतिको बाटो डाँडागाउँ मुनी मकैबारी फाँडेर बासको लागि त्रिपाल लगाउने काम भएको छ ।

प्रकाशित मिति २०८१ श्रावण २५, शुक्रबार ०७:५७ गते
हजुरको प्रतिक्रिया