हामी प्रकृति प्रेमी हौं । सर्प मात्र नभएर प्रकृतिमा भएका हिमाल, पहाड, नदीनाला र प्रकृतिमा पाइने बर, पिपल, तुलसी जस्ता रुख बिरुवाहरूलाई पनि हामीहरूले पूजा गर्दछौं । त्यतिमात्र होइन कुकुर, गाई, गोरु समेत घरेलु जनावरहरूलाई पनि हामी पूजा गर्दै आएका छौं । हाम्रो संस्कृति अनुसार नागपञ्चमीको दिन नाग अर्थात सर्पको पनि हामी हिन्दुहरूले ऐतिहासिक काल– खण्डदेखि नै पूजा गर्दै आएका छांै । शेष नागले सम्पूर्ण विश्व ब्रम्हाण्ड थामेको धार्मिक मान्यता समेत रहि आएको छ । तर इसाइ धर्ममा सर्पलाई सैतानको रुपमा व्याख्या गरिएको पाइन्छ । चिनियाँ पात्रो अनुसार विभिन्न प्राणीको नाममा वर्षको नामाकरण गर्ने क्रममा सर्प वर्ष समेत रहेको छ । मिश्रको सभ्यता अन्तरगत प्राचीन मिश्रबासीहरूले सर्पलाई ईश्वरको रुपमा पूजा गर्ने गर्दथे । प्राचीन ग्रिक बासीहरूले समेत सर्पका बारेमा धेरै कुराहरू बताएका छन ।
वेद र पुराणहरूमा नागको उदगम महर्षि कश्यप र उहाँकी धर्मपत्नी कद्रूबाट भएको मानिन्छ । नागको मूल स्थानको रुपमा पाताललोक मानिन्छ । संस्कृत कथा साहित्य कथामा नागलोक र त्यहाँका बासिन्दाको कथाहरू उल्लेख छ । बैदिक ग्रन्थहरूमा नागसम्बन्धी विविध विषयको उल्लेख गरिएको छ । पुराणहरूमा यक्ष, किन्नर र गन्धर्वको वर्णनका साथ नागको पनि वर्णन गरेको पाइन्छ । स्वयं परब्रह्म परमात्मा महायोगी सदगुरू गोरखनाथले विभिन्न समयमा नागका आसन जमाइ तपस्या गर्नु भएको प्रसंग पनि छ । भगवान विष्णुको शैया, शिव र गणेशको अलंकारमा पनि नागको महत्वपूर्ण भूमिका छ । नाग भन्नु विशेष प्रकारको सर्प हो । हिन्दु परम्परा अनुसार नाग अर्थात सर्पलाई शिवसँग जोडेर हेरिन्छ । शिवले नागलाई आफ्नो घाटीमा राख्ने हुनाले पनि हिन्दुहरूले नागलाई पुजा गर्दछन ।
नाग पञ्चमी दिन घरको मूलढोका माथि नागको चित्र टाँसी पूजा अर्चना गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै स्नान गरी घरमा लिपपोत गरी घरको मूलढोका माथि गोबरले नागको फोटो टाँस्ने हिन्दुहरूको संस्कृति बनेको छ । नागको फोटोमा गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ । नाग पञ्चमीको दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महा पद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । कपासको नाग बनाएर पुजा गर्ने, सर्पको प्वालमा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने प्रचलन पनि रहेको छ । नागपञ्चमीको दिन कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ । नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बिस्वास छ ।
नागको बारेमा काठमाडौ उपत्यकामा मन्जुश्रीले तलाउ खोलेको कुरा पनि जोडिने गरेको छ । उपत्यका पहिले एउटा तलाउ थियो । तलाउको नाम टेथिस सागर भन्ने गरिन्थो । त्यस सागरको पानी चोभारमा गल्छी बनाएर पानीलाई निकाले र मन्जुश्रीले मानव बस्तीको बिकास गरेपछि सम्पूर्ण नाग समाज रिसाए । उनीहरूलाई शान्त पार्न त्यसबेला उपत्यकामा धेरै ठाउँमा नागको स्थानहरू बनाइएको थियो । श्रीकृष्णले श्रावर्ण शुक्ल पंञ्चमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर नागहरूलाई शान्त गरेको उपलक्ष्यमा नाग पञ्चमी मनाउन थालिएको भनाइ पनि छ । धार्मीक ग्रन्थ अनुसार कश्यप ऋषिका १३ पत्निहरू मध्ये कद्रले ८ नागहरूलाई जन्म दिइन । ती नागहरू पातालका शासक भए । यी नागहरू धेरै शक्तिशाली मानिन्थे । त्यस कारण पनि नागको पुजा गर्न थालिएको तर्क पनि छ । जुन कारणले यिनै आठ नागका नामहरू लेखेर ढोकामा टाँस्ने गरिन्छ । नागलाई वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतीबाली गर्न गाह्रो हुने हुनाले पनि नागको पूजा आवश्यक मानिन्छ । बर्षात र गर्मी मौसममा सर्पको डर हुने भएकाले पनि नाग अर्थात सर्पबाट सतर्क रहन अथवा सन्तुष्ट पार्न नाग पुजाको प्रचलन आएको हो भन्ने पनि छ । नागहरू आठ थरिका हुन्छन । ती हुन् ः शेष नाग जसमा बिष्णु शयन गर्नु हुन्छ । बासुकी नाग, जसको शरीरको माथिल्लो भाग मनुष्य र तल्लो भाग नागको हुन्छ । त्यस्तै काठमाडौँको टौदह स्थित कर्कोटक र अन्य नागहरू तक्षक, पदमा, कुलीर, महापद्मा, र संख्पाल भन्ने छन ।
नागपञ्चमीको अवसरमा नागसँग जोडिएको प्रशगहरू पनि छन । सर्पको दांत आफ्नो शिकार गर्नको लागि र चपाएर निल्नको लागि प्रयोग हुन्छ । सर्पको मुखको भित्रपट्टीको भागमा दांँत रहेका हुन्छन । सर्पको आँखामा परेली हुँदैन । त्यसैले सर्पको आँखा सर्धैंभरी खुला रहेको हुन्छ । यसैकारणले गर्दा सर्पले आँखाले सुन्न सक्छ भन्ने विश्वास रहेको छ । सर्पलाई संस्कृतमा चक्षुश्रवा अर्थात आँखाले सुन्न सक्ने प्राणी पनि भनिन्छ । सर्पले कुनै बस्तु खाने क्रममा मुखबाट धेरै रियाल निकाल्छ । जसले गर्दा मुखमा पसेको खाने आहारा चिप्लो हुन्छ र सर्पलाई निल्न सजिलो हुन्छ । विभिन्न प्रकारका सर्पको खाना खाने समय पनि फरक, फरक हुन्छ । सामान्यतया, साना सर्पले ३, ४ दिनमा एक चोटी खाने गर्दछ । तर ठूला सर्पले हप्ता दिनमा एक चोटी खाने गर्छन । अजिङ्गर जस्ता ठूला सर्पले त धेरै महिनासम्म पनि नखाई बाच्न सक्छन । सर्पको मुटुमा तीन कोठा रहेका हुन्छ । अन्य स्तनधारी प्राणीको झैँ सर्पको कान हुँदैन । सर्पको सुन्ने भाग भनेको एक प्रकारको हड्डी हुन्छ । जसलाई क्वाडे«ट बोन भनिन्छ, जुन हड्डी टाउकोमा जोडिएको हुन्छ । यसले टाढाको आवाजलाई सर्पले सुन्ने काम गर्दछ । सर्पले हावामा बगिरहेको आवाज अर्थात ध्वनी तरंगलाई राम्रोसंग सुन्न सक्दैन । तर जमिनबाट निक्लेका हरेक कम्पनहरुलाई थाहा पाउने गर्छ । जुन कारणले सर्पलाई सम्बेदनशील प्राणी भनेर पनि चिनिन्छ ।
प्रकृतिका हरेक जीवजन्तु र वनस्पति आपसमा अन्तर सम्बन्धित छन् । वातावरणका जैविक र अजैविक पदार्थहरू बीचको क्रियाप्रतिक्रिया र लेनदेनबाट नै पर्यावरणको सनातन चक्र सन्तुलित भएर चलिरहन्छ । यसकारण पनि कुनै पनि जीवलाई यो चक्रबाट निकाली दिनेहो भने समग्र प्रणालीमा खलल पुग्न जान्छ । सर्प पनि प्रकृतिको खाद्य श्रृंखलाको मांशहारी उपभोक्ताको रुपमा रहेको हुन्छ । सर्पले भ्यागतो, छेपारो, मुसा आदिको शिकार गर्छ । जब कि सर्पलाई गरुड, चिल न्याउरीमुसो लगायतका ठूला पंक्षी र जनावरहरूले खाने गर्छन् । यसकारण यदि सर्प लोप हुने हो भने एकातिर मुसा, छेपारो लगायतका जीवको संख्या अत्यधिक बढन जान्छ भने आहारको लागि सर्पमा निर्भर रहेका उल्लेखित पंक्षीहरू समेत खानाको अभावमा लोप हुन्छन् । त्यसकारण सबै प्रकारका जीवको संख्या र क्षमतालाई नियन्त्रणमा राख्दै प्रकृतिको खाद्य श्रृंखलालाई सन्तुलित पार्नको लागि पनि सर्प धेरै महत्वपूर्ण मानिन्छ । यतिमात्र होइन हाम्रो बालीनालीको मुख्य शत्रुको रुपमा रहेको मुसाको मुख्य शत्रु सर्प भएकाले पनि यो हाम्रो लागि अति नै उपयोगी रहेको छ ।
गर्मीको समयमा सर्पहरू जमिनको बाहिरी भागमा निस्कन्छन । यो मौसममा जमिनभित्र बसेका सर्पहरू पानी तथा आहारको लागि बाहिर निस्कने गर्दछन । सर्प धेरै प्रजातिका हुन्छन । प्रजाति अनुसार उनीहरूको बासस्थान र स्वभाप पनि फरक हुन्छ । कुनै सर्पहरू सधैंभरी पानीमै रहने खालका हुन्छन भने कुनै जमिनमुनी बसेर त्यही भएका प्राणीहरूको आहार गर्ने गर्दछन्।् । तर धेरै गर्मीको कारणले ती सर्पहरू बाहिर निस्केर आफ्नो आहाराको लागी घरेलु जनावरहरूलाई आक्रमण गर्ने गर्दछन्। । नेपालमा पाइने धेरैजसो सर्पहरू मानिसको लागि खतरनाक हुँदैनन् । कुनै कुनै सर्पको त विष नै हुँदैन, त्यस्ता सर्पहरूले आफ्नो शिकारलाई कि त मार्दछन कि चाहिँ सकेसम्म निल्ने कोशीस गर्दछन्। । तर विषालु हुँदैनन् भन्दैमा सर्प देखेपछि जिस्काउने अथवा चलाउने गर्नुहुँदैन र यदि सर्पले डसी हालेमा लापरवाहि गरेर बस्नु भने पक्कै पनि हुँदैन ।
हामी सर्प देख्ने बित्तिकै डराउने गर्दछौं । धेरै मानिसहरूलाई के भ्रम पनि छ भने सबै सर्प बिषालु हुन्छन र यिनिहरूलाई मार्न पर्दछ भन्ने धारणा छ । सर्पको बारेमा हामीहरूले धेरै कुराहरू जान्न जरुरी छ । तपाईलाई सर्पले डसेको छ भने हतोत्साहित नहुनुहोस नआत्तिनुहोस धेरै जसो सर्पहरू विषालु हुँदैनन र अझै भन्ने नै हो भने खतरनाक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्रायः आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन् । सर्पलाई समाउन वा मार्न खोजेर अर्को डसाइको खतरा नमोल्नुहोस र सर्पलाई खोजेर समय खेर नफाल्नुहोस । यदि सर्पलाई पहिले नै मारिसकेको छ भने त्यसको विषको पहिचानको लागि मरेको सर्पलाई बिरामीसँगै उपचारकेन्द्रमा सुरक्षित तवरले लैजानुहोस । सर्पले डसेको हात वा खुट्टालाई नजिकै पाइने सामानहरूको प्रयोग गरेर अचल बनाउनुहोस र त्यसलाई स्थीर राख्नुहोस । आत्तिएर अथवा चाँडै अस्पताल पुग्छु भनेर दौडने काम नगर्नुहोस, दौडिदा शरीरमा विष फैलिने काम छिटो हुन्छ । त्यस्तो बेलामा नजिकै भएको मानिसलाई आफूलाई स्वास्थ्य चौकी लैजान लगाउनुहोस ।
अहिलेसम्मको अध्ययन अनुसार सर्प २९ सय प्रजातिको हुन्छ । जमिनमा घर्षने देखि लिएर उडने समेत सर्पहरू हुन्छन । तर सबै प्रजातिका सर्पहरू विषालु भने हुुँदैनन् । नेपालमा अहिलेसम्मको अध्ययन अनुसार ८० देखि ९० सम्मका प्रजातिका सर्पहरू पाइने गरेको छ । संसारमा पाइने २ हजार ९ सय प्रजातिका सर्पहरू मध्ये ७ सय ५० मात्र विषालु हुन्छन । तर नेपालमा भने २ सय ५० प्रजातिका सर्पहरू मात्र मानिसहरूका लागि खतरा मानिन्छन । जीवशास्त्रीको भनाई अनुसार नेपालमा पाइने सर्पहरूमा २० प्रतिशत मात्र विषालु हुने बताएका छन । त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी चार प्रजातिका सर्प विषालु मानिन्छन ।
नेपालमा सर्पको टोकाईबाट प्रत्येक बर्ष मानिसहरू मर्ने गर्दछन् । सर्पले टोक्ना साथ धेरै मानिसहरू अस्पतालमा उपचारको लागि पुग्न नसक्नाले सर्पको टोकाईबाट प्रत्येक साल मर्नेको एकिन तथ्याक राज्यसंग छैन । विशेषगरी गर्मीको समयमा अर्थात वर्षाको समयमा तराईका जिल्लामा सर्पको विगविगी हुने गर्दछ । गर्मीको समयमा सर्प प्वालबाट बाहिर निस्कने र आहाराको खोजिमा हिड्ने हुँदा सर्पले मानिसलाई उसको बाटोमा अवरोध भयो भने टोक्ने गर्दछ । सर्पले टोकेपछि गाँउघरमा अझैपनि फुक्ने अथवा झार्ने अन्धविस्वासको प्रचलन छ । विषालु सर्पले टोकेपछि फुकेर, झारेर अथवा चुसेर सन्चो हुुँदैन। यसरी सञ्चो हुने भनेको विष नभएको सर्पले टोकेको भएमात्र सञ्चो हुने हो । सबै प्रजातिका सर्पहरू मांसहारी हुन्छन । सर्पको प्रजाति अनुसार किरा, फटयाङ्ग्रा, मुसादेखि लिएर वदेल, हरिण जस्ता जनावरपनि सर्पको आहारा हुन्छन । ठूला प्रजातिका अजिगंरले मानिस अथवा अन्य ठूला जीवहरूलाई समेत निल्ने गर्दछ । सवै प्रजातिका सर्पहरूले खानाको रुपमा कुनै जीवलाई खादा चपाउँदैन, मात्र उसले निल्ने गर्दछ ।
सर्पले टोक्नकै लागि मानिसहरू खोज्दै हिडदैन । सामान्यता मानिसहरूले सर्पलाई लखेटदा, उसलाई चलाउदा, वा घाइते बनाउँदा मात्र सर्पले मानिसहरूलाई टोक्ने गर्दछ । हालसम्मको अध्ययन अनुसार सबैभन्दा ठूला मानिने सर्प अजिंगर हो । त्यसैगरी संसारभरको सबैभन्दा विषालु मानिने सर्प राजगोमन हो । अजिंगर ६–७ मिटर लामो र करिव एक क्युण्टलसम्मको तौलमा भेटिएको छ । त्यसैगरी संसारकै सबैभन्दा स्यानो सर्प तेलिया सर्प हो । यो सर्प हेर्दा गडौला जस्तो आकारमा देखिन्छ । गोमन सर्पको विष, काचुली, छाला र वोसो परम्पारागत औषधी बनाउन प्रयोगमा ल्याइएको छ । गोमन सर्प भन्दा पनि विषालु सर्प उड्ने सर्प हो । धेरैलाई अचम्म लाग्न सक्दछ उडने सर्प पनि हुन्छ भन्दा । दक्षिण अफ्रिकाको जंगलमा पाइने युरोपेलटाइडी नामको यो सर्प ३ फिटसम्म लामो हुन्छ । भोक मेटाउन यो सर्प ग्लाइडर उडेझैं आकाशमा उडछ । आकाशमा यसरी उड्दा यो सर्पले आकाशमा उडिरहेका चराहरू खाने गर्दछ ।
(लेखक : स्वतन्त्र पत्रकार संघ, नेपालको निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८१ श्रावण २५, शुक्रबार १०:५९ गते