काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटकको जिम्मेवारी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती रहेको बताउनु भएको छ । दोस्रो कार्यकाल सुरू गरेको तीन वर्ष पूरा गरेको अवसरमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले साउन २५ गते त्यस्तो बताउनु भएको हो ।
पत्रकारहरूका माझ उहाँले भन्नुभयो, ‘तीन वर्ष अघि आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर जिम्मेवारीमा आएको हुँ, प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति आफ्नो दोस्रो कार्यालयको प्राथमिकताका विषय रहेको छ ।’
दोस्रो कार्यकालको अघिल्ला दुई वर्षमा कार्यसम्पादन मूल्यांकनमा उच्चतम अंक पाएको स्मरण गर्दै उहाँले प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति आफ्नो दोस्रो कार्यालयको प्राथमिकताका विषय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘२०७२÷७३ मा ५३ प्रतिशत मात्रै विद्युतीकरण पुगेकोमा अहिले ९९ प्रतिशत पुगेको छ ।’ तीन वर्षअघि विद्युतका ग्राहक संख्या २९ लाख मात्रै रहेकोमा त्यो बढेर अहिले ५९ लाख पुगेको’ उहाँले उल्लेख गर्नुभयो ।
आर्थिक वर्ष २०७८÷७९ मा ९४.२३ अंक पाएकोमा आर्थिक वर्ष २०७९÷८० मा ९८.९४ अंक पाएको र तेस्रो वर्षको मूल्यांकन चलिरहेको उहाँले जानकारी दिनुभयो ।
आठ वर्षमा प्राधिकरणको मुनाफा ८२ अर्ब :
प्राधिकरणले पछिल्ला ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको जानकारी दिदै यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०७२÷७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा प्राधिकरण रहेको छ ।’ आर्थिक वर्ष २०७२÷७३ मा ८ अर्ब रूपैयाँ घाटा बेहोरेकोमा त्यपछिका दिनमा कहिले घटामा जानु नपरेको उहाँको भनाइ छ ।
‘कतिले कागजी नाफा भन्ने गरेको सुनिन्छ, यो त्यतिकै भएको होइन पछिलो ८ वर्षमा घाटा पूर्ति गेरर ४७ अर्ब नाफामा जाँदा ८२ अर्ब नाफा गरेको छ,’ उहाँको थप भनाई छ ‘आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ ।’ प्राधिकरणले कमाएको नाफा कागजी होइन, लगानी गर्न सक्षम भइसक्यौं उहाँले गर्वका साथ उल्लेख गर्नुभयो ।
उहाँले सगर्व सुनाउनु भयो, ‘वितेका ८ वर्षमा तीन पटक विद्युतको महसुल घटाइएको छ । सायदै कुनै पनि सेवामा यसरी महसुल घटाइएको छैन प्राधिकरणले महसुल घटाएर पनि नाफा कमाएको छ ।’ नेपाल विद्युत् प्राधिकरणले हालसम्म २५ प्रतिशत महसुल घटाएको उहाँले उल्लेख गर्नुभयो ।
विद्युत खपतकै सन्दर्भमा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको समेत स्मरण गर्नुभयो । हाल निजी क्षेत्रको लगानीमा निर्माण गरिएका चार सयभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् उहाँले उल्लेख गर्नुभयो ।
‘प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमात्र कायम गरी ऊर्जा निःशुल्क छ, सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था छ ।’ उहाँले भन्नुभयो, ‘त्यस्तै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुलदर कायम गरिएको छ । यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पनि उत्तिकै जिम्मेवारीका साथ पूरा गरिरहेको छ ।’
नेपाल विद्युत् निर्यातकर्ताको इतिहास बनाउन सफल :
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले विद्युत् आपूर्तिभन्दा निर्यात बढी गरेको दाबी पत्रकारका माझमा गर्नुभयो । यो नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको जानकारी दिदै उहाँले भन्नुभयो, ‘जसले गर्दा आर्थिक वर्ष २०८०÷८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ ।’
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिकरूपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट सुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ ।’
यतिबेला वर्षायाममा दैनिक ७०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको उहाँको भनाइ छ । सुख्खायाममा नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो भएको उहाँले जानकारी दिनुभयो । ‘नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बंगलादेश पनि निर्यात हुँदै छ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको जानकारी दिनुभयो । बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ उहाँले उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनमा भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।
‘छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ । ८ वर्ष अघिसम्म विद्युत् वितरणतर्फका वितरण सबस्टेसनहरू ८० वटा रहेकामा अहिले बढेर १ सय ९७ वटा पुगेको छ । सब स्टेसन क्षमता ६४० एमभिए मात्र रहेकोमा अहिले २ हजार ५ सय एमभिए पुगेको छ । यसैगरी वितरण लाइनतर्फ आठ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको छ’ घिसिङले जानकारी दिनुभयो ।
लेखा समितिमा एक ट्रक बिल किन पठाइयो ?
सार्वजनिक लेखा समितिलाई आवश्यक विवरणहरू नै उपलब्ध गराइएको जानकारी दिदै ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको हो घिसिङले भन्नुभयो ।
लेखा समितिमा अनावश्यक समेत रहेका एक ट्रक बिल किन पठाउनु भयो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सबै सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न नमिल्ने तर, लेखा समितिले भने प्राधिकरणबाट प्राप्त भएको कागजातहरू छानेर लिने र बाँकी फिर्ता पठाइदिने बताइसकेको उहाँको भनाइ छ ।
विद्युत् प्राधिकरणद्वारा कहाँ कति विद्युत् उत्पादन ?
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र नभई विद्युत् उत्पादनमा पनि लगानी बढाएको बताएका छन् । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी र २० मेगावाटको रोल्वालिङ आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । प्राधिकरणकै सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरू सञ्चालनको अन्तिम चरणमा पुगेको, चिलिमे जलविद्युत कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरू अगाडि बढाएको, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौको निर्माण सुरु भएको कार्यकारी घिसिङले जानकारी दिनुभयो ।
यसैगरी, एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने भएको, ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल र बङ्गलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको, दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रूपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिसकिएको घिसिङको भनाइ छ ।
प्रकाशित मिति २०८१ श्रावण २५, शुक्रबार २०:४९ गते