बेसीशहर– लमजुङको सदरमुकाम बेसीशहर स्थित कालिका साकोसको बहुचर्चित ठगी काण्ड(मुद्दा)का पीडकहरूको तिक्डम जारी रहेको छ । जसका कारण निमुखा पीडितहरूले न्याय पाउने स्थिति क्षीण हुँदै गएको प्रतीत भएको छ ।
पीडितहरू आफै बोल्न नसक्ने र उनीहरूको पक्षमा बोली दिने दह्रो, न्यायप्रेमी व्यक्ति जिल्लामा नभएको र भएकालाई पनि अनेक जालझेल, षडयन्त्र गरी उनीहरूको मुखमा बुजो कोच्न गरिएको विविध षडयन्त्त(प्रयास)का कारणले त्यस्तो स्थिति उत्पन्न हुन गएको अनुभूति गरिएको छ ।
तथापि जिल्ला अदालतले अधिकांश पीडकहरूसँग धरौटी माग गरेर सो रकम लिई तारेखमा छाडेको र उनीहरू विरुद्धको मुद्दाको टुंगो लाग्न बाँकी नै छ । तर पीडकहरूका पछिल्ला रबैयाले त्यस्तो भान गराउन थालेको हो । सो ठगी काण्डका नायक भनेर चिनिने एकीकृत कालिका साकोसका तत्कालिन प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया, तत्कालीन कर्पुरेश्वर साकोसका अध्यक्ष तथा तीन सहकारी एकीकृत भएपछिका कोषाध्यक्ष र हालका सञ्चालक सदस्य मिलन दनाई लगायतको चलखेल तथा दौडधुुपले पीडितहरूका लागि न्याय दुरुह बन्दै गएको प्रतीत भएको बताइन्छ ।
त्यसो त कुनै दिन ‘थारो चेक’ भिडाएर पीडितलाई थन्क्याउने दाउमा जुटेका पीडकहरू यतिबेला भने आधाभन्दा बढी रकम दिएर भने बाँकीको चेक दिदै बोल्न सक्ने जतिलाई थन्क्याउने धन्दामा जुटेको पाइन्छ । यद्यपि, ठूलो रकम बक्यौता रहेर सारा पीडितहरूको न्यायका लागि पहिलो उजुरकर्ता बनेर पीडितका पक्षमा पाइला चाल्ने तैमाया गुरुङलाई भने यो समाचार तयार गर्दाको दिन साउन २६ गतेसम्म सुको पैसा नदिएको जानकारीमा आएको छ । हुन त तैमायाको बचत र शेयर रकम फिर्ता नगर्दासम्म अदालतमा दर्ता भएको उक्त मुद्दा पीडकहरूले सोचेझैं मिलापत्रमा टुंगिन सक्ने नदेखिएको जानकारहरू बताउँछन् । तर पनि तैमायालाई गलाउनका लागि सुरुदेखि पीडकहरूले विछ्याएका षडयन्त्र रुपि जालहरू थपिदै गएका छन् । उसो त आजका दिनसम्म ती सबै खाले जालहरूलाई च्यात्न÷काट्न सफल हुँदै आउनु भएकी तैमायाले भोलिका दिनमा के गर्नु हुन्छ ? भन्न सक्ने अवस्था छैन । आजसम्मका तैमायाका गतिविधिले उहाँले हिम्मत हार्नु हुन्न भन्ने पुष्टि हुँदै आएको छ ।
बैंक खातामा सेयर जम्मा :
यसैबीच, पीडकहरूको नेतृत्व गरेर नहिडे पनि आफूसमेत पीडित भएका कारण उनीहरूका पक्षमा खरो रुपमा उत्रदै जिल्लामा एक दर्जन बढी सञ्चारमाध्यम सञ्चालनमा रहदा तथा पत्रकारहरूको संख्या तीन दर्जन बढी हुँदाहुँदै पनि एक्लो बृहस्पतीझैं बनेर कालिका सहकारीको ठगीका बारेमा लेख्दै आउनु भएका वरिष्ठ पत्रकार नवराज पहाडीको सेयर रकम उहाँको बैंक खातामा जम्मा गरिएको जानकारीमा आएको छ ।
पहाडीले तत्कालीन सम्पदा साकोसमा ५० हजार रुपैयाँको सेयर २०७४ को असोज ९ गते लिनु भएको थियो । पछि तीन सहकारी एकीकरण भई कालिका साकोस बनेर त्यहाँ घोटाला भएको स्थिति छताछुल्ल भई मुद्दा चल्ने भएपछि भने उहाँको सेयर रकम साढे २७ हजार मात्र बाँकी रहेको भन्दै कालिकाको सेयर विवरण अदालतमा पेश गरी उहाँलाई त्यत्ति नै रकमको प्रमाणपत्र दिने काम समेत गरिएको थियो । त्यसमा पनि पहाडीले प्रतिवाद गर्र्दै असल नियतले सहकारी सञ्चालन गर्दा गर्दै घाटा परेर त्यो सेयरवालाले बेहोर गर्ने हो तर सञ्चालकहरूले नियत नै खराब राखेर संस्था सञ्चालन गरेका अनेकौं उदाहरण दिदै सेयरको घाटा बेहोर गर्न सकिन्न भन्ने पहाडीले अडान राख्नु भएको थियो/छ । अन्ततः उहाँका ५० हजार रकम नै उहाँको बैंकखातामा जम्मा गर्न कालिका सहकारीका पीडकहरू बाध्य बनेका छन् र त्यो लडाई पहाडीले जित्नु भएको छ । पहाडीको सेयर रकम फिर्ता गर्ने कार्यलाई ‘निर्धा, निमुखाको आवाज हो मेरो कमल’ भन्नुहुने उहाँको कलम भाँच्ने र मुख थुन्ने पीडकहरूको प्रयासका रुपमा हेरिएको छ ।
यसलाई दुई अर्थमा पीडितहरूले लिएका छन् । पहिलो, बोल्न सक्ने जतिको रकम फिर्ता गरेर उनीहरूलाई मौन बस्ने वातावरण बनाउने र अर्को निर्धा, निमुखा पीडितहरूको रकम कुम्ल्याउने पीडकहरूको नियत रहेको रुपमा अर्थ्याइएको छ । केही पीडितहरूले भने पहाडीले सेयर रकम पुरा पाएपछि हामीले किन नपाउने भन्ने प्रश्न समेत उठाउन थालेका छन् ।
पहाडीप्रति पनि प्रश्न उठाइँदै :
हिजोका दिनसम्म पहाडी पनि पीडित भएको हुँदा आफ्नो पक्षमा बोलिदिन्छ भन्ने आशामा रहेका निर्धा, निमुखा पीडितहरूले अब पहाडी कतै मौन(कालिका सहकारीको ठगी काण्डको सुरुका दिनझैं) बस्ने त हैन ? भन्ने आशंका गरेका छन् । ‘निर्धा, निमुखाको आवाज हो मेरो कमल’ भन्नुहुने उहाँले अब आफूले झैं अन्य पीडितहरूलाई जिताउन सक्नु हुन्छ कि हुन्न ? त्यो भने हेर्न बाँकी छ भन्दै पहाडी प्रति पनि केही पीडितहरूले प्रश्न उठाउनु भएको छ ।
राजनीतिक संरक्षणमा उन्मुक्तिको प्रयास :
कालिका साकोसका सञ्चालक एवम् पीडकहरू राजनीतिक संरक्षणमा पीडितहरूलाई निरुत्साहित गर्न तथा दुरुत्साहित बनाउने र आफूहरूले उन्मुक्ति लिन डुक्रिरहेका हुन् भन्ने धेरै अघिदेखि गरिएको आंकलन समेत बाहिरिएको छ । बेसीशहर नगरपालिका– ८ का कावा अध्यक्ष भएको बेलामा सरोज दनाईले तीन पटक(गत फागुन २२ गते, चैत ७ गते र बैशाख २६ गते)सम्म अदालतलाई समेत प्रभाव पार्ने गरी पीडकहरूको पक्षमा गरेको सिफरिस(संलग्न) पत्रबाट त्यसको पुष्टि हुन आएको छ ।
बेसीशहर नगरपालिका– ८ की वडाध्यक्ष पवित्रा थापा रानाले भने त्यस्तो वदनियतपूर्ण सिफारिस गर्ने कार्यबाट बचेको पाउँदा भने उहाँलाई पीडितहरूले उहाँलाई स्यालुट गरेको बताएका छन् ।
वरिष्ठ पत्रकार पहाडीले सेयर रकम फिर्ता पाउनु भएपछि त्यस्तो रकम लिन बाँकी रहेकाहरू समेत आशावादी पनि देखिएका छन् । त्यसो त आफ्ना नजिकका तथा मनपर्ने व्यक्तिहरूले सेयर रकम फिर्ता गर्ने कार्य भने कालिका सहकारीका पीडक सञ्चालकहरूले त्यसमा विवाद उत्पन्न भएदेखिनै गर्दै आएका थिए ।
स्मरणीय छ, लमजुङ जिल्ला अदालतबाट कालिका सहकारीका नायक सञ्चालकहरू तत्कालीन कर्पुरेश्वार सहकारीका अध्यक्ष एवम् एकीकरण पछि कोषाध्यक्ष हुँदै हाल सञ्चालक सदस्य रहेका मिलन दनाई, सो सहकारीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत वेदराज खनियालगायतका सञ्चालकहरू जनही १२ लाख रुपैयाँका दरले धरौटी लिइएको छ । साथै, उनीहरूका नाउँमा रहेको बैंक खाता लगायतका चलअचल सम्पत्ती(घरजग्गा) सबै रोक्का गरिएको स्थिति छ ।
प्रकाशित मिति २०८१ श्रावण २६, शनिबार ११:०८ गते