बेसीशहर– अपाङ्ग संरक्षण समाज लमजुङलाई १० वटा सेतो छडी हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ लमजुङ Together We Can को आयोजनामा आज एक कार्यक्रमका बीच यहाँ स्थित अपाङ्ग संरक्षण समाजको कार्यलय सेराबजारमा साउन २६ गते सो कार्य गरिएको हो ।
सो अवसरमा लायन्स क्लब अफ लमजुङले दृष्टिबिहीन भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा सहजता ल्याई आबागमन गर्न सहज बनाउन सो सेतो छडी हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष पार्वती कँुवरले बताउनु भयो । उहाँले आगामी दिनहरूमा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्रीहरू अपाङ्ग संरक्षण समाज लमजुङ सँगको सहकार्यमा बितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रममा अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले यस्ता कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै सहज हुने बताउँदै यस्ता कार्यक्रमहरू राज्यले स्थानीय तहबाटै गर्ने गराउने नीतिगत व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । उहाँले आजका दिनसम्म त्यस्तो कार्य हुन नसकेकोमा दुःख समेत व्यक्त गर्नुभयो । मन्तव्यका क्रममा पौडेलले यस्तो सामजिक उत्तरदायित्व पूरा गरेकोमा लायन्स क्लवका अध्यक्ष कुँवर सहितका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो कार्यक्रममा अपाङ्ग संरक्षण समाजका सचिव सिताराम बसेल, लायन्स क्लबका प्रथम उपाध्यक्ष बिन्दु कुमाल संस्थापक अध्यक्ष पायल शर्मा लागायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष पार्वती कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लबका सदस्य सीता दुलाल राख्नु भएको थियो भने सञ्चालन क्लबका सचिव कल्पना दनाईले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण २६, शनिबार १८:३१ गते