भोलिदेखि बेसीशहरमा प्रदर्शन हुने नाटक ‘एक चिहान’ को तयारी पुरा

भोलिदेखि बेसीशहरमा प्रदर्शन हुने नाटक ‘एक चिहान’ को तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २९ गते मङ्गलबार ०४:३२

नाटकले दर्शकलाई कुनै समय हसाउँछ, कुनै समय गम्भीर बनाउँछ भने कुनै समय रुवाउँछ पनि । नाटकमा वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ ।

कक्षा– १२ पढ्दै गरेका र पढ्ने तयारीमा रहेका विद्यार्थीहरू तथा पढाउने शिक्षकहरूले अनिवार्य हेर्नु पर्ने नाटक : ‘एक चिहान’

बेसीशहर– कोभिडको प्रकोपका कारणले सुस्ताएको लमजुङका कलाकारिता फेरि जुर्मुराउन थालेको छ । मञ्जरीद्वारा नाटक ‘एक चिहान’ प्रदर्शनको तयारी गरेसँगै त्यस्तो संकेत मिलेको हो । लमजुङ मञ्जरी नाट्य समूह र पोखरा थिएटरले संयुक्त रुपमा ‘एक चिहान’ नाटकको भोलि साउन २३ गते प्रदर्शनको तयारी पुरा गरेसँगै त्यस्तो पुष्टि भएको हो । सो नाटक बरण्डाको सभाहलमा प्रदर्शनको तयारीमा छ ।
नाटक प्रदर्शनका लागि सबै तयारी पुरा भएको मञ्जरी नाट्य समूहले जनाएको छ । त्यसका लागि सहकार्य गर्ने पोखरा थिएटरका अध्यक्ष एवम् मञ्चन गरिने नाटकका निर्देशक परिवर्तन हिजैदेखि यहाँ आएर नाटक प्रदशनको तयारीमा जुट्नु भएको छ । यी सबै गतिविधिले लमजुङका कलाकारहरू फेरि एक पटक जुर्मुराएको पुष्टि हुन आएको हो ।
स्थापना कालमा कलाको माध्यमले पोखरा शहरलाई जीवन्त बनाइ राख्न वि.स २०७४ सालमा पोखरा थिएटरको स्थापना भएको हो । तर अब पोखरा थिएटर पोखरेलीको मात्र रहेन । त्यो संस्थाले गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर समाजमा कालिकारिताको महत्वबोध गराउँर्दै आएको छ । स्थापनाको सात वर्ष यता निरन्तर विविध रङ्गमञ्चीय गतिविधिहरू गर्दै आएको छ । पछिल्ला दिनमा पोखरा थिएटर अनेक स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहको समेत कला प्रदर्शनको मञ्च बन्न सफल भएको छ ।
भोलिदेखि यहाँ स्थित बरण्डा रेष्ट्रोको सभाहलमा प्रदर्शनको तयारीमा रहेको ‘एक चिहान’ कक्षा १२ को अनिवार्य नेपाली विषयमा समावेश उपन्यास हो । त्यसैले पनि कक्षा– १२ अध्ययन गरिरहेका र अध्ययनको तयारीमा रहेका सबैले यो नाटक अनिर्वाय रुपमा हेर्न आवश्यक छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेको यो उपन्यासको कथा वस्तुलाई नाटकमा रुपान्तरण गरी जीवन्तता दिने प्रयास गरिएको छ । यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीहरूले भोग्नु परेका यातना, किसानहरू माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग निर्देशन गरेका छन् ।
यही उपन्यासलाई नाट्य रुपान्तरण गरी एक चिहान नाटक तयार गरिएको नाटकका निर्देशक परिवर्तनले बताउनु भयो । उहाँका अनुसार नेपाली गरीब किसान र मजदुरहरूको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक हो । उहाँले भन्नुभयो, ‘नेपालमा प्रजातन्त्रको स्थापना पछि के कसरी नवसामन्तवादको उदय भएको थियो भन्ने वि.स २०११ सालतिरको निम्न वर्गीय जनजीवनले भोगेको कटुयथार्थलाई ‘एक चिहान’ नाटकमा प्रस्तुत गरिएको छ ।
मूलत काठमाडौं उपत्यकाको नेवारी समुदायको पारिवारिक परिवेशमा रहेको गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस नाटकमा देखाइएको छ । तिनताका रुढिबादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । नाटकले दर्शकलाई कुनै समय हसाउँछ, कुनै समय गम्भीर बनाउँछ भने कुनै समय रुवाउँछ पनि । नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ । नाटककारको बारेमा सात्यिकार हृदयचन्द्र सिंह प्रधान– (वि.स १९७२– २०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । उनको उपन्यास विधामा स्वास्नीमान्छे– २०११ र एक चिहान– २०१७ गरि दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यामबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरूले भोग्नु परेका यातना, किसानहरू माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । प्रधानको उपन्यास कृति ‘एक चिहान’ माध्यामिक तहको अनिवार्य नेपाली विषयमा समेत समावेश गरिएको छ ।
स्याङ्जामा जन्मे हुर्केका परिवर्तन विगत एक दशक भन्दा बढी समयदेखि पोखराको नाट्यकर्मको नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्छ । अभिनय र निर्देशन सम्बन्धी अनेक कार्यशाला सञ्चालन गरी अनुभव हासिल गर्नु भएको उहाँ पोखरा थिएटरका परिकल्पनाकार, संस्थापक समेत रहनु भएका उहाँ हाल थिएटरमा सि.इ.ओ.को रुपमा कार्यरत हुनुहुन्छ ।
यहाँले निर्देशन गरेका प्रमुख नाटकरू ‘बितेका कुरा (२०७५), निरमाया (२०७५), बाकस ( २०७६ स. निर्देशन सरुभक्त), कोहि किन बर्बाद होस (२०७६), १२ दुर्वासा (२०८०), दुई नाटक (२०८०) भ.भ.भ…भूत….(२०८१) हुन ।
यसैगरी गण्डकी नाट्य दर्पण (शिव सङ्कल्प, मनकुमार श्रेष्ठ) सयुक्त सम्पादन, आधा दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका उनको नाट्य रुपान्तरण तथा निर्देशनमा नाटक एक चिहानका तयार भएको हो निर्देशक परिवर्तनले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पर्वत र नवलपुरमा प्रदर्शन भइसकेको यो नाटक यहाँ पनि तनहूँ जाने तयारीमा छ भने विस्तारै गण्डकी प्रदेशका सबै जिल्लामा पुग्ने तयारीमा छ ।

नाटक एक चिहान बेसीशहरमा दैनिक तीन सोका दरले कम्तिमा १० सो सञ्चालन गर्ने तयारीमा आफूहरू जुटेको मञ्जरी नाट्य समूह, लमजुङका उपाध्यक्ष भरत रानाले बताउनु भएको छ ।
नाटक एक चिहानमा उहाँले डेढ दर्जन बढी कलाकारलाई मञ्चमा उतार्दै हुनुहुन्छ । कलाकारहरूले आफ्नो प्रतीभालाई के कसरी मञ्चमा प्रस्तुत गर्दछन् त्यो कलाकारहरूको क्षमतामा निर्भर रहने छ भने त्यो देख्न र जान्नका लागि आफ्नै ठाउँ परिवेशनमा प्रदर्शन हुँदै गरेको त्यो नाटकको मञ्चमा किन नजाने ?

प्रकाशित मिति २०८१ श्रावण २९, मंगलवार १६:३२ गते
हजुरको प्रतिक्रिया