बेसीशहर– थिएटरमा नाटकको लाइभ हेर्नुको स्वाद नै बेग्लै र र उच्चकोटीको हुन्छ । यस्तै अवसर बेसीशहरबासीले ‘एक चिहान’ नाटक हेर्ने मौका साउन ३० गते (तीन सोमा) पाए । त्यसो त त्यो मौका भोलि ३२ गतेसम्मै कायम रहने आयोजकको भनाइ छ ।
‘एक चिहान’ नाटक साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । यसलाई जस्ताको तस्तै नाटकीय ढंगमा उतारेर कलाकारहरूले जिवन्त अभिनय गरेका छन् । नाटकमा गरीबीको पीडा तथा २०१२– १५ सालको राजधानी उपत्यकाको किसान जीवनलाई चित्रित गरेका छ । राजधानीको जनजीवन त त्यस्तो थियो भने मोफसलमा रहेको दुरदराजका गाउँको अवस्था के कस्तो थियो होला ? सहन अनुमान गर्न सकिन्छ ।
प्रस्तुत नाटकले कला तथा लोकसंस्कृति, साहित्य अनुत्पादक हो भन्दै यसक्षेत्रमा लगानी गर्न ओठ लोप्र्याउनेहरूलाई राम्रोसँग झपड दिन सफल छ ।
जिल्लामा नाटक घरको अभावमा बेसीशहर स्थित बरण्डा एण्ड रेष्ट्रोको सभाहललाई रङ्गमञ्चमा परिणत गरिएको छ ।
कोभिडको प्रकोपका कारणले सुस्ताएको लमजुङको कलाकारिता फेरि जुर्मुराएको प्रदर्शित नाटकले पुष्टि गरेको छ । लमजुङ मञ्जरी नाट्य समूह र पोखरा थिएटरले संयुक्त रुपमा प्रदर्शसित ‘एक चिहान’ नाटक जीवन्त छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनले उत्कृष्टता हासिल गरिरहेको सहजै देख्न सकिन्छ ।
हाल कक्षा– १२ को अनिवार्य नेपाली विषयमा समावेश उपन्यास ‘एक चिहान’ हो । त्यसैले पनि कक्षा– १२ अध्ययन गरिरहेका र अध्ययनको तयारीमा रहेका सबैले यो नाटक अनिर्वाय रुपमा हेर्न आवश्यक छ ।
साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेको यो उपन्यासको कथा वस्तुलाई नाटकमा रुपान्तरण गरी नेपाली समाजका गरीबीका पीडा, नारीहरूले भोग्नु परेका यातना, किसानहरू माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरूबाट मुक्तिका लागि मार्ग निर्देशन गरेका छन् ।
मूलत काठमाडौं उपत्यकाको नेवारी समुदायको पारिवारिक परिवेशमा रहेको गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस नाटकमा देखाइएको छ । तिनताका रुढिबादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ ।
‘सोमबारे औशी कडा दिन, असार बिग्रिए किसानको एक वर्ष बिग्रन्छ, गरिबलाई इज्जतको डर, हिजोसम्मको दैत्य आज कसरी देवता हुन सक्छ ? हातखुट्टा भाँचेर दाउरा बालिदिन्छु, भाग्दा बेइजत हुन्छ, बढेको छोरी …., यौटा नारी भएर अर्काको सम्मान गर्न सिक, म पनि बिहे गर्छु, हामीले खान नपाएर के भो ? दुनियाले खान पाएको छ, यसपटक त सिनेमा हेर्न लग्नु पर्छ’ जस्ता ठेट नेपाली शब्द र परिवेशको प्रयोग नाटकमा सुन्न र देख्न पाइन्छ । समय समयमा हसाउने दृश्य देखिए पनि कति ठाउँमा गम्भिर एवम् भावुक पनि बनाउछ, सायद जीवन्त अभिनय भनेको यही होला । अग्रजहरूको मान मर्यादालाई समेत राम्रोसँग प्रस्तुत गरिएको नाटकको अन्त्यमा बाढी पहिरोको प्रकोपको दृश्यलाई प्रदर्शित गरिएको छ । 
नाटकमा आमाको भूमिकामा रोशनी रामदाम, किसान्को भुमिकामा जनक पराजुली, किसानको जेठो छोरा रविन्द्र मल्ल, कान्छी छोरी दिप्सना विश्वकर्मा र डाक्टर बनेका छन् नाटकका निर्देशक परिवर्तन ।
नाटकमा २० जना कलाकारहरू सहभागी छन् । जसमा मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोरा, कोषाध्यक्ष सञ्जोग लामिछाने, उमा पुन, प्रकाश रेग्मी, रञ्जु दाहाल, मिलन श्रेष्ठ, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, रुबीना मगर, ध्रुव प्रधान, आशिष परियार, अमृता गुरुङ, सुस्मिता थापा, सुबास मालुवा, प्रदिप रोकायलगायतको अभिनय रहेको जानकारीमा आएको छ ।
‘एक चिहान’ हिजो साउन ३० गतेदेखि दैनिक तीन सोका दरले कम्तिमा १० सो सञ्चालन गर्ने तयारीमा आफूहरू जुटेको मञ्जरी नाट्य समूह, लमजुङका उपाध्यक्ष भरत रानाले बताउनु भयो ।
सरकारी उपेक्षापूर्ण व्यवहारका बीच पनि त्यस्तो प्रवृत्ती विरुद्ध धावा बोल्ने अग्रज र नवप्रतिभाहरूलाई साधुवाद छ ।
प्रकाशित मिति २०८१ श्रावण ३१, बिहीबार ०८:०३ गते