बेसीशहर– आज रक्षा बन्धन अर्थात जनै पूर्णिमा, विशेष हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आजकै दिनमा मनाइन लागेको हो ।
येन बद्धो वली राजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
यस मन्त्रको अर्थ : जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान राजा वलीलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्ने छु ।
श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।
यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ ।
शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री)ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साह्रे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।
हरेक चाडवाडको आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रीय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजका दिनमा यो पर्व मनाउनका लािग ब्राह्मण परिवारका ब्रतबन्ध गरेका भाञ्जाहरू मामा घरमा तथा ज्वाईहरू ससुरालीमा हिजै जाने र राती दर खाने प्रचलन छ ।
सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो । त्यसैगरी, आज पनि दानवी शक्तिबाट रक्षित हुन वा हामी आफ्नो मन बिचलित नहोस, सधैं सत्कर्ममा मन गईरहोस, विधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछौं । आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधी गाईको पुजा गर्नाले मृत्यु पश्चात वैतरणी नदी सजिलै पार गर्न सकिने धार्मिक मत एवम् जन विश्वास रहेकोछ ।
सत्य युगमा दानवद्वारा लखेटिएका देवगणहरूलाई बचाउँन देवगुरू बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलीराजलाई बाधि देवगणहरूको रक्षा गरेका थिए त्यसनै म तिमीलाई बाद्धछु सुरक्षित होऊ, बिचलित नबन भन्ने पौराणिक मान्यताका आधार रक्षा बन्धन बाध्ने प्रचलन चलिआएको छ ।
यसै दिन मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजु भाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै ‘राखी’ बाधेर रक्षा बन्धन पर्व धुमधाम साथ मनाउने गर्दछन् ।
भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउने विश्वास गरिन्छ ।
रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीविरङ्गी राखीले पसल सजाइएको हुन्छ ।
चार÷पाँच दशक अघिसम्म आज फेरिने जनै आफैले बनाएर लगाउने प्रचलन थियो । तर हिजोआज भने बजारमा भेटिने जस्ता पनि जनै किनेर ल्याई लगाउने प्रचलन छ । कतिले त जनै लगाउन नै छाडेका छन् । त्यसो त हिजोआज साधनारत व्यक्तिको संख्या कम हुँदै गएको हुनाले यस्तो हुन गएको हो । सञ्जे गर्दा जप परिने गायत्री मन्त्रको महत्व बुझ्ने, त्यसको साधना गरी लाभान्वित हुने युवापुस्ता भेटिदैन भन्दा पनि हुन्छ । त्यसैले पनि पर्वहरूको महत्व एवम् गरिमा रामरमितामा परिणत हुँदै गएको छ ।
पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्गर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरू माथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवम् संस्कार विहीन भएर जीवनयापन गर्न लागे ।
यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनु हुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवम् विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभ मूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेको उल्लेख छ ।
क्वाँटी खाने चलन :
जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
आज सरकारी विदाको घोषणा गरिएको छ ।
प्रकाशित मिति २०८१ भाद्र ३, सोमबार ०६:४० गते