भोर्लेटार(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिकाले नगरबासीको उपचारका लागि विशेष छुटको प्रवन्ध गरेको छ । चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालसँग नगरपालिकाले सम्झौता गरी सो सुविधा उपलब्ध गराउने भएको हो ।
सो सुविधा नगरबासीले तीन वर्षसम्म अर्थात यही भदौदेखि आउँदो ०८४ सालको साउन मसान्तसम्म उपयोग गर्न पाउने छन् । सम्झौता अनुसार विभिन्न समस्या भएका विरामीहरूको उपचार एवम् अध्ययनका लागि समेत विशेष छुटका लागि सो अस्पताल मध्यनेपाल नगरबासीलाई सुविधा उपलब्ध गराउने छ । एक कार्यक्रमका बीच मध्यनेपाल नगरपालिका मेयर रमेशकुमार पाण्डे र अस्पतालका निर्देशक डा. दयाराम दाहाल बीच सम्झौता पत्र आदानप्रदान भएको छ ।
सो सम्झौता लागू भएपछि मध्यनेपाल नगरपालिका अन्तर्गतका सर्वसाधरणका लागि गुणस्तरीय स्वास्थ्य सेवा, औषधी खरिद एव प्राविधिक शिक्षाका लागि समेत विशेष छुट हुने सम्झौतापत्रमा उल्लेख भएको मध्यनेपाल नगरपालिका मेयर रमेशकुमार पाण्डेले बताउनुभयो । उहाँका अनुसार सो सम्झौता यहि भदौ १ गतेदेखि २०८४ साल साउन मसान्तसम्म लागु हुने छ । उहाँले भन्नुभयो, ‘सम्झौता अनुसार अस्पतालबाट हुने सेवा प्रवाह मध्ये उपचार सेवाहरूमा २० प्रतिशत हुनेछ भने अस्पतालको फार्मेसीबाट औषधी खरिद गर्दा सात प्रतिशत रकम छुट उपलब्ध हुने छ ।’ त्यसैगरी सिएमसी अस्पतालको ओ.पि.डी., टिकट र इमर्जेन्सी टिकटमा पनि छुट हुनेछ । तर यद्यपी अस्पतालले सिधै खरिद गरिएका कुनै पनि सामानहरूमा यो सम्झौता लागु नहुने सम्झौतामा उल्लेख छ ।
अस्पतालबाट सेवाको छुट लिनका लागि नगरपालिकाबाट मेयरको सिफारिस आवश्यक पर्ने सर्त सम्झौतामा उल्लेख छ । सो अस्पतालमा उपचारका लागि नगरपालिकाले वेभसाईट मार्फत नगरबासीको नाम तथा विवरण प्रविष्ट गर्ने र प्रविष्ट नहुँदासम्म नगरपालिकाको सिफारिसमा विशेष छुट सेवा दिने भएको छ । उक्त वेभसाइटमा नगरवासीका सम्पूर्ण विवरणहरू प्रविष्ट गर्दा फोटो खिचाई कार्ड प्रिन्ट गराउने भएको छ ।
मेडिकल साझेदारको रुपमा चितवन मेडिकल कलेजको नाम उल्लेख भएको जानकारी बोर्ड नगरपालिकाले आफ्नो कार्यालय परिसरमा नगरबासीहरूले स्पष्ट देखिने ठाउँमा राख्ने भएको छ ।
देशकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको सिएमसी अस्पतालसँग सम्झौता गरेसँगै मध्यनेपालका सर्वसाधरणलाई उपचारका लागि सहज हुने नगरपालिकाको विश्वास छ । विशेषगरी आर्थिक अभावकै कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरूका लागि नगरपालिकाले गरेको प्रयास अधिकतम लाभकारी हुने मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अस्पतालको सेवाहरूमा मात्र १० प्रतिशत छुट भएको नभई चितवनको सि एम सि क्यान्सर इन्सिच्यूटमा सञ्चालित सिटिईभिटिको पढाईमा पनि मध्यनेपालका विद्यार्थीहरूलाई १० प्रतिशत छुट दिईने समेत सम्झौतापत्रमा उल्लेख छ ।
छुट सुविधा दावी गर्न वा कागजपत्र माग गर्न प्राप्त छुट बराबरको रकम सम्बन्धित बिरामीको नामबाट बुझाएमा मात्र अस्पतालले आवश्यक कागजपत्रहरू उपलब्ध गराउनेछ । सो विषयमा विरामीले अस्पताल भर्ना हुँदाको अवस्थामामै सुनिश्चिता गराउनुपर्ने सम्झौतामा लेखिएको छ ।
सम्झौता अनुसार अस्पतालले नगरपालिकाको सिफारिस बमोजिम बिरामीलाई उपचार गराउने व्यवस्था मिलाउने र सिफारिस बमोजिमको रकम नगरपालिकाले अस्पताललाई भुक्तानी गर्नेछ ।
त्यसैगरी सिएमसी अस्पतालले नगरपालिकाको अत्यन्त विकट क्षेत्रलाई केन्द्रित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरणहरूको व्यवस्था गर्ने पनि सम्झौता भएको छ । निःशुल्क स्वास्थ्य शिविरका लागि नगरपालिकाले यातायात, औषधी र खाने बस्ने लगायत अन्य व्यवस्थापनको प्रवन्ध मिलाउने र शिबिर वार्षिक अधिक्तम दुईवटा गरिने उल्लेख छ । शिविरका लागि मिति र स्थान तय गर्न दुबै पक्षलाई सहज हुनेगरी समझदारीमा गर्ने सम्झौता भएको छ ।
मध्यनेपालका नगरबासीले सो अस्पतालमा उपचार गर्दा स्वास्थ्य लगायतको कुनै पनि बीमा वा अन्य विशेष अवस्थामा छुट दावी गर्न पाउने छैनन् भन्ने सम्झौतमा उल्लेख छ ।
प्रकाशित मिति २०८१ भाद्र २०, बिहीबार ०८:०६ गते