आज हरितालिका तीज : हिन्दू महिलाहरू व्रत बसी उमा महेश्वरको पूजा गरी मनाइँदै

आज हरितालिका तीज : हिन्दू महिलाहरू व्रत बसी उमा महेश्वरको पूजा गरी मनाइँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २१ गते शुक्रबार ०९:४६

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

आजको ब्रतले परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

बेसीशहर– हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी आज भदौ २१ गते मनाइँदैछ । हिन्दू पात्रोमा उल्लेख भए अनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहितलाई पूजाआराधना गर्ने गरिन्छ । आजको ब्रतले परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
आजको दिनमा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
अर्को शब्दमा संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
आजका दिनमा आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार गरी एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको ब्रत गनुपर्ने धार्मिक मान्यता रहेको छ । तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने परम्परा छ ।
ब्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेअगावै दर खाने प्रचलन छ । चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेलीभान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन् । दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउआदि) आहार हो । भोलिपल्ट व्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको धार्मिक मान्यता र विस्वास छ । तर हिजोआज भने महिनादिन अघिदेखि दर खाने तथा ब्रतको दिनमा पनि बर्ता खाने भन्ने बुझाई हुन थालेको छ ।
तृतीयाका दिन बिहानै उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यस दिन यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा वा मन्दिर वा पवित्र ठाउँमा शिवपार्वतीको पूजा गर्नुपर्छ । व्रतालुले आफूमा रहेको नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश र गणेशको पूजा गरी बालुकामय शिवपार्वती (उमामहेश्वर)को षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ ।
३, ४ दशक अघिसम्म नेपाली समाजमा बुहारीको जीवन निकै कष्टपूर्ण थियो । तीज पर्वका अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने गर्दछन् । यो अर्थमा तीज महिलामैत्री पर्वका रूपमा परिचित छ । पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ ।
यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गरेको छ ।

प्रकाशित मिति २०८१ भाद्र २१, शुक्रबार ०९:४६ गते
हजुरको प्रतिक्रिया