तिरुपती बालाजी मन्दिरको प्रसादमा जनावरको बोसो पुष्टि भएको विवाद सर्वोच्चमा

तिरुपती बालाजी मन्दिरको प्रसादमा जनावरको बोसो पुष्टि भएको विवाद सर्वोच्चमा

एजेन्सी

@antaranganews

२०८१ असोज ४ गते शुक्रबार ०७:४६

सार्वजनिक ल्याब रिपोर्टअनुसार सो मन्दिरको प्रसादमा सोयाविन, नरिवल, सनफ्लावर, कटन सिड, जैतुनको तेललगायत खाद्य चिजहरू रहँदा हिन्दु धर्मलाई प्रतिकूल मानिएको माछाको तेल, सुँगुरको बोसो, बिफ टेललगायत भएको बताइएको छ ।

१०.२५ टन सुन रहेको यस मन्दिरमा दानबाट मात्रै वार्षिक १५ सय करोड (३ हजार करोड भारतीय रुपैंयाँ) कमाइ हुने गरेको बताइन्छ । मन्दिरको कुल कमाइ २.५ लाख करोड रुपैयाँ रहेको छ ।

आन्ध्र प्रदेश(भारत)– यहाँ स्थित तिरुपती बालाजी मन्दिरको प्रसादको पवित्रताप्रति उठेको प्रश्न झनै चर्किँदै गएको छ । तिरुपतीको प्रसादका रुपमा बनाइने लड्डुमा जनावर र सुँगुरको बोसो र माछाको तेल मिसाइने गरेको भन्दै त्यहाँको तेलुगु देशम पार्टी (टीडीपी)ले दुई दिनभित्र दुई वटा दाबी गरेपछि अहिले विश्वभरका हिन्दु धर्मावलम्बीहरूले यो विवादलाई निकै चिन्ता र चासोका साथ हेरिरहेका छन् ।
तिरुपती बालाजी मन्दिर विश्वको सबैभन्दा लोकप्रिय र धनी धार्मिकस्थलहरूमध्ये एक हो । जसका कारण तिरुपती मन्दिरलाई विश्वकै धनी मन्दिर मानिन्छ । तिरुपती मन्दिरतीन सय वर्ष पुरानो भएको समेत जनविश्वास रहेको छ ।
सो विवादलाई लिएर वाईएसआर कांग्रेस सर्वोच्च पुगेको छ । त्यसको सुनुवाई अदालतले सेप्टेम्बर २५ मा गर्ने भएको छ । टीडीपीले प्रयोगशालाको टेस्ट गरिएको भन्दै एक रिपोर्टलाई उद्धृत गर्दै चन्द्रबाबु नायडू सरकारप्रति यस्तो आरोप लगाएको हो । प्रसादमा जनावरको बोसो भएको घ्यू र माछाको तेल मिसाइएको उसको दावी छ ।
पार्टीले नायडूको आरोपको छानबिन गर्न अदालतलाई समिति गठन गर्न माग गरेको छ । यसअघि सेप्टेम्बर १८ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले विगत ५ वर्षमा जगनमोहन सरकार र वाईएसआरसीपी नेताहरूले तिरुमालाको पवित्रतालाई कलंकित गरेको बताएका थिए ।
तिरुमाला ट्रस्टले प्रसादबाट मात्रै वार्षिक पाँच सय करोड भारतीय रुपैयाँ कमाउने गरेको छ । जसका लागि मन्दिरको भान्छामा दैनिक ३ लाख ५० हजार लड्डू बनाउने गरेको छ ।
प्रसादको जाँचका लागि मन्दिर ट्रष्टले बनायो समिति :
तिरुमाला तिरुपती देवस्थानम (टीटीडी)ले मन्दिर प्रशासनको तर्फबाट कुनै आधिकारिक बयान सार्वजनिक गरिएको छैन । यद्यपि, घ्यूको गुणस्तरलाई लिएर चार सदस्यीय विशेष समिति गठन गरिएको छ । प्रयोगशालाको रिपोर्ट भन्दै १७ जुलाईमा एक रिपोर्ट सार्वजनिक गरिएको छ । तर, आधिकारिक रूपमा यसको पुष्टि हुन सकेको छैन । प्रतिवेदनमा जारी गर्ने संस्थाको नाम उल्लेख छैन भने नमूना परीक्षण गरिएको ठाउँको नामसमेत उल्लेख गरिएको छैन ।
सार्वजनिक ल्याब रिपोर्टअनुसार सो मन्दिरको प्रसादमा सोयाविन, नरिवल, सनफ्लावर, कटन सिड, जैतुनको तेललगायत खाद्य चिजहरू रहँदा हिन्दु धर्मलाई प्रतिकूल मानिएको माछाको तेल, सुँगुरको बोसो, बिफ टेल (जनावरको बोसोलाई धिमा आगोमा पकाएपछि केवल फ्याट मात्र रहन्छ जुन घ्यूजस्तो देखिन्छ) लगायत भएको बताइएको छ ।
सर्वोच्च अदालतका वकिल विनित जिन्दलले यो मामिलामा जगन मोहन रेड्डी, ठेकेदार र टीटीडी अधिकारीहरूविरुद्ध उजुरी गरेका छन् । उनका अनुसार प्रसादमा जनावरको बोसो भएको घ्यू मिसाएर जनताको धार्मिक भावनामा खेलवाड गरिएको छ । उनले भने, ‘एफआईआर दर्ता गरेर कडा कारबाही गर्नुपर्छ ।’
यसैबीच, केन्द्रीय खाद्य मन्त्री प्रह्लाद जोशीले यो मामिलामा विस्तृत रिपोर्ट माग गरेको बताएका छन् ।
टीडीपीले सार्वजनिक ग¥यो ल्याब रिपोर्ट :
टीडीपीका प्रवक्ता अनम वेंकट रमाना रेड्डीले पत्रकार सम्मेलनमा प्रयोगशाला रिपोर्ट १९ सेप्टेम्बर अर्थात असोज ३ गते सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘नमूना गुजरातस्थित पशुधन प्रयोगशाला (राष्ट्रिय डेयरी विकास बोर्ड) सिएएलएफ लिमिटेड (सेन्टर फर एनालिसिस एण्ड लर्निंग इन लाइभस्टक एन्ड फूड) लाई जुलाई ९, २०२४ मा पठाइएको छ ।’

त्यसअघि १८ सेप्टेम्बरमा आन्ध्रका मुख्यमन्त्री र टीडीपीका प्रमुख नायडूले भने कि प्रसादमा बोसो मिसाइएको छ । घ्यू खरिद गर्ने कम्पनीसँगको सम्झौतालाई कालोसूचीमा राखिएको नायडूले बताएका थिए । घटनाको अनुसन्धान सतर्कता विभागलाई सुम्पिएको छ । कम्पनीले एक वर्षअघि मात्रै आपूर्ति टेन्डर पाएको थियो ।
वाईएससीआरपी सांसदले प्रसादमा मिसावटको आरोप झुटो भएको दावी गरेका छन् । होतिरुमाला तिरुपती देवस्थानमका पूर्वप्रमुख अध्यक्ष र वाईएसआर पार्टीका सांसद वाईवी सुब्बा रेड्डीले भने, ‘तिरुपती लड्डुको पवित्रतामा सीएम नायडूको बयान धेरै अपमानजनक छ । यसले विश्वभरका हिन्दूहरूको भावनालाई चोट पु¥याएको छ ।’ रेड्डीले भने टिटिडीले २०१९ देखि २०२४ सम्म नैवेद्य र प्रसादको तयारीमा उच्च मापदण्ड अपनाएको छ ।
तिरुपतीमा पुग्छन् दैनिक ७० हजार भक्तजन : मन्दिर व्यवस्थापनले कमाउँछ वार्षिक ३ हजार करोड :
तिरुपतीमा हरेक दिन करिब ७० हजार भक्तजनहरूले भगवान वेंकटेश्वर (विष्णुको अवतार) स्वामीको दर्शन गर्न आउँछन् । यसको प्रशासन तिरुपती तिरुमाला देवस्थानमद्वारा रेखदेख गरिन्छ ।
मन्दिर परिसरमा बनेको ३ सय वर्ष पुरानो भान्सा ‘पोट्टु’ मा शुद्ध देसी घ्यू प्रयोग गरी दैनिक ३ लाख ५० हजार लड्डू बनाइने विश्वास गरिन्छ । यो मन्दिरको मुख्य प्रसाद हो, जुन लगभग २ सय ब्राह्मणद्वारा बनाउने गरिन्छ ।
यस मन्दिरमा १०.२५ टन सुन रहेको बताइन्छ । यो मन्दिरमा दानबाट मात्रै वार्षिक १५०० करोड कमाइ हुने गरेको छ । यो मन्दिरले वार्षिक ३ हजार करोड भारतीय रुपैंयाँ कमाइ गर्ने गरेको बताइन्छ । मन्दिरको कुल कमाइ २.५ लाख करोड रुपैयाँ रहेको छ ।
लड्डुमा शुद्ध चना, बून्डी, चिनी, काजू र शुद्ध घ्यू पाइन्छ । ट्रस्टले राम मन्दिरको अभिषेकका बेला करिब एक लाख लड्डू अयोध्या पठाएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन ४, शुक्रबार १९:४६ गते
हजुरको प्रतिक्रिया