राज्यले शिक्षामा भन्दा स्वास्थ्यमा बढी लगानी गर्नुपर्छ : नेपाल सरकारका प्रवक्ता गुरुङ

राज्यले शिक्षामा भन्दा स्वास्थ्यमा बढी लगानी गर्नुपर्छ : नेपाल सरकारका प्रवक्ता गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज ५ गते शनिवार ०६:४२

डब्ल्यूएचओले निर्धाराण गरेको मापदण्ड अनुसारका हाम्रा अस्पतालहरू नभए पनि मध्यम श्रेणीको हुन आवश्यक छ भन्ने उल्लेख गर्नुभयो । उहाँले हिजोका आँपपिपल जस्ता मिसन अस्पतालहरू आजका दिनमा प्रदेशका हुन् कि स्थानीय तहका प्रष्ट हुन जरुरी छ उहाँले उल्लेख गर्नुभयो ।

नागरिकको उपचार पाउने अधिकार सुरक्षित गर्नु सरकारको कर्तव्य हो : मन्त्री गुरुङ

लमजुङ– नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको लगानी सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा हुनु पर्नेमा जोड दिदै शिक्षामा गरेको लगानी खेर गएको हुँदा बजेटमा दोस्रो महत्वको स्थान शिक्षालाई दिन आवश्यक नभएको बताउनु भएको छ । उहाँले लमजुङ अस्पतालमा सघन उपचार कक्ष(आइसियु)को उदघाटन गर्दै असोज ५ गते त्यस्तो बताउनु भएको हो ।
विगतमा गण्डकी प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका मन्त्री गुरुङले हिजो यौटामात्र विश्वविद्यालय थियो, आज ११ वटा भएका छन्, ती विश्वविद्यालय थप भएर के उपलब्धी भयो ? भन्ने एकिन नहुँदासम्म शिक्षाको भन्दा स्वास्थ्यको क्षेत्रमा बढी लगानी गर्नु पर्ने उहाँको तर्क थियो । उहाँले आफू मुख्यमन्त्री हुँदा बनाउन सुरु गरेको स्वास्थ्य विधेयक ऐले अलपत्र अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले जिल्ला अस्पताल कम्तिमा ५० शैयाको हुनुपर्छ भन्ने मान्यताका साथ आफ्नो पालामा काम भएको उल्लेख गर्दै मनाङ र मुस्ताङ बाहेक गण्डकीका ९ जिल्लामा यो कार्य थालिएको स्मरण गर्नुभयो । उहाँले नागरिकको उपचार पाउने अधिकार सुरक्षित गर्नु सरकारको कर्तव्य भएको बताउनु भयो । आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएको बेलामा स्वास्थ्य क्षेत्रमा थालेका कामको स्मरण गर्दै १५ शैयाको अस्पताल स्थानीय सरकारको र २५ देखि दुईसय शैया सम्मको अस्पताल प्रदेश सरकारको हुने गरी सञ्चालन गर्नुु पर्छ भन्ने धारणाका साथ काम अघिबढाएको तर त्यही मौकामा आफू नेतृत्वको सरकार ढलेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले डब्ल्यूएचओले निर्धाराण गरेको मापदण्ड अनुसारका हाम्रा अस्पतालहरू नभए पनि मध्यम श्रेणीको हुन आवश्यक छ भन्ने उल्लेख गर्नुभयो । उहाँले हिजोका आँपपिपल जस्ता मिसन अस्पतालहरू आजका दिनमा प्रदेशका हुन् कि स्थानीय तहका प्रष्ट हुन जरुरी छ उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘यौटा सर्जन डाक्टर हुनका लागि एक करोड खर्चेर पढेको हुन्छ भने उसको तबल कम्तिमा तीन लाख हुनुपर्छ ।’ सामान्य एमडीको तलब आजका शाखा अधिकृतको भन्दा दोब्बर अर्थात कम्तिमा एक लाख हुन आवश्यक छ, त्यसै अनुरुप अन्य स्वास्थ्यकर्मीले सुविधा पाउनु पर्ने उहाँको तर्क थियो ।
यो अस्पताल उदघाटन भएको सघन कक्षमा मात्र पाँच बेढ भएको हुँदा यो अपर्याप्त छ यसको कम्तिमा तीन कक्ष शल्यक्रिया गरिएका विरामी राख्ने, मेडिकलतर्फका विरामी राख्ने र अर्को बालकक्ष हुन आवश्यक छ मन्त्री गुरुङले भन्नुभयो । अस्पतालको नयाँ भवन निर्माण गर्दा यसतर्फ ध्यान दिइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । हिजोका दिनमा १५ शैयाको अस्पतालको अवधारणा हुँदा ०३२– ०३५ सालमा निर्माण गरिएको भवनमा आजका दिनसम्म काम चलाउनु चुनौती भएको छ त्यसैले आधुनिक आवश्यकता थेग्न सक्ने भवन निर्माण गर्नु पर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रमा १० हजारमा हुने काम सरकारी अस्पतालमा एक हजारमा हुने प्रवन्ध गर्ने र त्यसरी भएको आम्दानी स्वास्थ्यकै क्षेत्रमा खर्चिने प्रवन्ध हुन जरुरी छ भन्नुभयो ।
यसैगरी, लमजुङ अस्पतालमा ट्रमा सेन्टर, दोस्रो श्रेणीको एम्बुलेन्स सेवा, शव वाहनको प्रवन्ध तथा आवश्यक उपचार सामग्रीको पर्याप्तामा आफ्नो ध्यान गएको मन्त्री गुरुङले जानकारी दिनु भएको थियो । उहाँले स्वास्थय बीमा लिएर उपचारका लागि अस्पताल गएको विरामी हर्ष न विस्मातको स्थितिबाट फर्किनु भएने भन्दै स्वास्थ्य र शिक्षाको आवश्यकता पुरा हुनुपर्छ उहाँको भनाइ थियो ।
सो अवसरमा संविधान सभाका सदस्य जमिन्द्रमान घलेले आजबाट अस्पतालमा अर्को विशिष्ठ सेवा सञ्चालनमा आएको छ यो जिल्लाबासीका लागि खुशीको कुरा हो, यसको सञ्चालन र व्यवस्थापनलाई आफूहरूले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
सो उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, नेपाली काँग्रेसका उपसभापति श्रीकान्त घिमिरे, नेकपा एमालेका उपाध्यक्ष जीतबहादुर गुरुङ, नेकपा(माओवादी केन्द्र)का जिल्ला सचिव सुनिल अटल, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले धन्यवाद व्यक्त गर्दै सीमित स्रोत साधनका वावजुत पनि अत्यधिक सेवा दिन के कसरी सकिन्छ भन्ने भावनाका साथ आफू लागि परेको जानकारी दिनुभयो । उहाँले हाम्रो जिल्लामा स्वास्थ्य सम्बन्धि चेतना कम भएको अनुभूति भएको छ त्यसका लागि पनि सचेतनाका कार्यलाई अघि बढाइरहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा लमजुङ अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले अस्पतालले दिदै आएको सेवा, समस्या र चुनौतिका बारेमा प्रकाश पार्नु भएको थियो । डा. देवकोटाले भन्नुभयो ‘लमजुङ अस्पतालमा गत बैशाख १८ गतेदेखि सञ्चालनमा आएको आइसियु कक्षबाट २१८ जनालाई सेवा दिइसकेको जानकारी दिदै पाँच वटा बेड ऐले पनि फुल छन् ।’ अब अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालन गर्नु पर्ने स्थिति रहेको बताउदै उहाँले अबको दुई तीन वर्षमा सो सेवाका लागि हामी तयार हुनुपर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रमको सञ्चालन लमजुङ अस्पताल व्यवस्थापन समितिका सदस्य दीपक बरालले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन ५, शनिबार १८:४२ गते
हजुरको प्रतिक्रिया