एक कर्मशील व्यक्तित्वको सोचले सिर्जिएको संरचना र भित्रिदै गरेको सांस्कृतिक जागरण अभियान

एक कर्मशील व्यक्तित्वको सोचले सिर्जिएको संरचना र भित्रिदै गरेको सांस्कृतिक जागरण अभियान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १० गते बिहिबार १०:०७

उहाँको सो कम्पनीमा यतिबेला २५ जनालाई पूर्णकालीन र ५० भन्दा बढिलाई आंशिक काम गर्ने गरी रोजगारी पाएका छन् । रोजगार पाउनेमा ५० प्रतिशत भन्दा बढी संख्या नेपाली रहेको कार्कीले सगर्व बताउनु भयो ।

विदेश जानेहरू सबै पलायन हुँदैनन् भन्ने उदाहरणी व्यक्तित्व गुमानसिंह कार्की

भोटेओडार(लमजुङ)– असली सपना भनेको त्यो हो, जसले त्यो पुरा नहुँदासम्म रातमा निदाउन र दिउँसोमा चैनसँग बस्न दिदैन । यस्तै सपना साच्ने एक व्यक्तित्व हुनुहुन्छ– गुमानसिंह कार्की । लमजुङको सुन्दरबजार नगरपालिका– ८ को घोक्रेस्वाँरा निवासी उहाँ जसले १३ वर्षपछि फेरि स्वदेश त्यसमा पनि जन्म स्थलमा आएर केही उदाहरणीय काम गर्ने जमर्को गरिरहनु भएको छ ।
कुनै पनि राम्रो काम सुरुमा एक व्यक्तिबाट सुरु हुन्छ भनिन्छ, त्यस्तै एक कर्मशील व्यक्तित्व गुमानसिंह कार्कीको सोचले सिर्जिएको संरचना र भित्रिदै गरेको सांस्कृतिक जागरणमा भोटेओडार जुर्मुराउने तरखरमा रहेको छ ।
त्यहाँ पुग्ने जो कोहिले पनि कार्कीले डिजाईन गरी निर्माण गर्नु भएको घर देख्दा आफू पनि यस्तै घर बनाएर बसुँ बसुँ लाग्दछ । यसलाई व्यापारिक प्रयोजनले यसलाई उपयोग गर्ने र सहयात्री पाएमा यसलाई विस्तार गर्ने योजना समेत रहेको हुँदा इच्छुक व्यक्तिको खोजीमा समेत आफू रहेको उहाँले जानकारी दिनुभयो ।
हामी सहजै भन्ने गर्छौै नि ! आफ्नै देशमा केहि गरे के हुँदैन ? विदेश नै जानु पर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ अर्थात आफ्नो गाउँ क्षेत्रमा पनि केही गर्न सकिन्छ । यसलाई कार्कीले व्यवहारमै प्रयोग गरेर देखाउने प्रयास गर्नु भएको छ ।
देशमा केही गर्न खोज्दा खोज्दै पनि कुनै उपाय नलागेपछि हार खाएर गाउँ गाउँका उर्जाशील उमेरका युवा अहिले पनि विदेशमा गएर आफ्नो श्रम बेच्न बाध्य भएका छन् । विदेशिएका जति सबैले भनेजस्तो गर्न त सकेका छैनन् तर पनि केहिले राम्रो प्रगति गरेका छन् । आफूले भोगेको जस्तै समस्या अरुलाई नहोस भन्नका लागि विदेशमा नेपालीलाई सहज हुने गरी व्यवसायिक काम पनि गरेका छन् । उद्यम गर्ने आफ्नो सोचलाई विदेशमा पुगेर सीप सिकेर कतिपय युवाहरूले त्यसलाई साकार पार्न गाउँघर फर्केर प्रयास गर्न थालेका छन् । त्यस्ता अपवाद व्यक्तिमा एक हुनुहुन्छ– गुमानसिंह कार्की ।
गणित र राजनीतिशास्त्रमा स्नातक तहको अध्ययन पुरा गर्नु भएका कार्कीले आईए पास गरेपछि केहि समय बोर्डिङ स्कूलमा शिक्षण कार्य पनि गर्नुभयो । आफ्नै देशमा केही गर्छु भन्दाभन्दै यहाँको कमजोर नीति नियम, ढिलासुस्ती एवम् बेथितिका कारण थाकेर आजित भई विदेशीनेहरूको भिडमा मिसिर देश छाड्नु भएको व्यक्तित्व हो– गुमानसिंह कार्की ।
तर उहाँले आफ्नो जन्मभूमि बिर्सनु भएन । ऐले उहाँले आफ्नो सपनालाई कार्यान्वयन गर्र्दै नयाँ इतिहास रच्न व्यस्त हुनुहुन्छ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका– ८, घोक्रेश्वाँरामा जन्म थलो भई यही हुर्कनु भएका कार्कीले पोर्चुगल पुगेर देखेको सपना, गरेको संघर्ष तथा मेहनतले यतिबेला ७५ जना भन्दा बढीलाई रोजगार दिन सफल हुनु भएको छ ।
उहाँले पोर्चुगलमै रहेर शुरु गरेको व्यवसाय अहिले भारत हुँदै नेपालको संघीय राजधानी काठमाडौसम्म फैलिएको छ । उक्त व्यवसायबाट त्यति धेरै व्यक्तिलाई रोजगार दिन पाएकोमा उहाँ गर्वित हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘आफ्नै मातृभूमि(नेपाल)मा नै केहि गर्छु भनेर नलागेको होइन, मेरो योग्यता नभएको पनि होइन । तर मैले त्यस्तो वातावरण पाउन सकिन ।’

कार्कीको व्यवसायलाई अहिले उहाँकी सहधर्मिणी शान्तादेवी कार्की र छोराहरू दिवस र विश्वासले पनि सघाउँदै आउनु भएको छ । उहाँ युरोप गएपछि २०१६ मा जेठो छोरा र श्रीमती पोर्चुगल जानु भएको हो भने कान्छो छोरा सन् २०१७ मा । अहिले उहाँहरू तीनै जना सोही कम्पनीमै कार्यरत हुनुहुन्छ । उहाँँको परिवार आफ्ना श्रीमान् तथा बाबा गुमान सिंहले स्थापना गरेको व्यवसायलाई अब्बल बनाउन कम्मर कसेर लागि पर्नु भएको छ । त्यस कार्यमा उहाँहरूले दक्षता समेत हासिल गरिसक्नु भएको छ । त्यसैले अब गुमानसिंह कार्कीलाई त्यो व्यवसायमा ध्यान दिनु पर्ने चिन्ता छैन । उहालाई चिन्ता छ, त केबल आफ्नो जन्मस्थल र आफ्नै देशको ।
घरको गर्जो टार्नकै लागि श्रम बेच्न २०५८ सालदेखि दुवइमा जानु भयो । त्यसपछिका दिनमा भने नेपालमै केहि गर्छु भन्ने अठोटका साथ ‘दोभान इन्टरनेशनल’ नामक संस्थामार्फत ‘पेस्टिसाईड’को कारोबार गर्ने कम्पनी सञ्चालनमा ल्याउनु भयो । सो संस्थामार्फत उहाँले चीनबाट औषधी ल्याएर नेपालमा ‘लेवलिङको काम’ गर्ने गरी काम गर्ने प्रक्रियामा तत्कालिन अवस्थामा हरिहर भवनस्थित पेष्टिसाईड रजिष्ट्रेशन विभागमा ७ लाख रुपैयाँ घुस मागियो । त्यो घट्नाले उहाँलाई विचलित र चिन्तित बनायो, अन्ततः हार खाए र त्यहिं कागजपत्र च्यातेर फर्किनु भयो । त्यसको केही दिनमा नै उहाँ स्पेन हुँदै पोर्चुगल पुग्नु भएको हो । पोर्चुगलमा पुगेपछि कार्कीले शुरुका दिनमा निकै ठूलो संघर्ष गर्नुभएको स्मरण गर्नुभयो ।
जीवनमा आफू जन्मे हुर्केको ठाउँमा केही गर्नु पर्छ भन्ने हुटहुटीले उहाँलाई गाँजिरहेकै थियो । ‘परिश्रमका फल मिठो हुन्छ’ भन्ने पनि उहाँलाई राम्रै थाहा थियो । त्यसैले उहाँले कडा मेहनत आर्थत संघर्षबाट सफलताको संकेत देखिन थाल्यो, उहाँ थप उत्साहित हुँदै जानुभयो । निरन्तरको कडा मेहनत, लगाशीलता एवम् परिश्रमले कसरी सफलता मिल्छ भन्नेर उहाँको जीवनयात्रा साक्षी छ । युवाहरूको लागि त अझ उहाँको त्यो यात्राले उप्रेरणा दिन्छ । जीवनमा केही गरौं, गरौं जस्तो बनाईदिन्छ ।
उहाँका अनुसार नेपालमा केही गर्न नसक्ने गरी लगाम लाग्यो । अव फेरी विदेश वा युरोप जान पाए पैसा त कमाउन सकिन्थ्यो भन्ने सोच आयो । यसै अनुरुप उहाँले पहिलो पटक सन् २०१३ को डिसेम्बरमा पर्यटकीय भिषा लिएर पोर्चुगल छिर्नु भएको हो । त्यहाँ पुगेपछि त्यहीं डकुमेन्ट मिलाएर उहाँले काम गर्न थाल्नु भयो । शुरुका दुई बर्षसम्म उहाँले त्यहाँ सुन्तला र ऐसेलु टिप्ने काम गरेको सुनाउनु हुन्छ । काम गर्दा गर्दै त्यहाँको सबै रहनसहन एवम् परिवेश बुझ्नु भयो । त्यसपछि नेपालबाट आउनेहरू ककसले केकस्तो दुःख पाएका रहेछन् भन्ने बुझ्ने इच्छा जागृत भयो र त्यो काम गरेको उहाँ सुनाउनु हुन्छ ।
नेपालीहरू चर्को समस्यामा छन् भन्ने बुझेपछि उहाँले आफ्नो यात्रालाई त्यसतर्फ मोड्नु भयो । सुन्तला र ऐसेलु टिप्ने काम छोडेर ‘युरोफिम्स’ नामक कम्पनीमा पुग्नु भयो र त्यहाँ नेपालीहरूलाई काम लगाउने अफिसकै मानव संसाधनको क्षेत्रमा काम थाल्नु भयो । सधैंभरी अरुको काम गरेर मात्र आफ्नो प्रगती नहुने र क्षमतावान व्यक्तिले आफ्नै काम गर्नुपर्छ भन्ने वस्तुगत तथ्याले गुमानसिंह कार्कीलाई चिमोटी रहन्थ्यो ।
त्यसैक्रममा उहाँले सन् २०१७ को अन्त्यतिर ‘थ्रि स्टार कन्सल्टेन्सी’ नामक कम्पनीको स्थापना गर्नुभयो ।
त्यो कम्पनीले पोर्चुगलमा रहेका नेपालमात्र नभई दक्षिण एसियाका व्यक्तिहरूको डकुमेन्टेसन सम्बन्धी काम गर्न थाल्यो । यसै कम्पनीमा काम गर्दा उहाँले दक्षिण एसियाका व्यक्तिहरूले धेरै दुःख पाएको नजिकबाट नियाल्ने अवसर पाउनु भयो । उनीहरूमध्ये धेरैले त्यहाँको भाषा, संस्कृति र कागजात मिलाउन नसक्दा लामो समयसम्म युरोप बस्ने सपना तुहाइरहेको देख्नु, सुन्नु र भोग्नु भयो । लामो समय बस्दा पनि कागजपत्र मिलाउन नसकेर दुःख पाएका दक्षिण एसियाका मानिसहरू देखेर उहाँले त्यसै क्षेत्रमा काम गरी ती दुःखीहरूलाई सघाउने योजना बनाउनु भयो । सोही क्रममा उहाँलाई ‘ओला अमिगी कल्चर एण्ड ल्यांग्वेज एसिसिएसन’ नामक कम्पनी खोल्ने अवसर मिल्यो । जसले दक्षिण एसियाका मानिसहरूलाई पोर्चुगलको संस्कृति र भाषा समेत सिकाउने काम गर्दथ्यो । त्यो कार्य र सफलतातर्फ उन्मुख हुन थाले पछि उहाँले थप व्यवसायिक योजना(सपना) देख्न थाल्नु भयो ।
फलस्वरुप सन् २०१८ मा पोर्चुगलकै लिजवनमा ‘थ्रि स्टार एकाउण्टिङ’ कम्पनीको स्थापना गर्नु भयो । उक्त कम्पनीले व्यवसायसँग सम्बन्धित अडिट तथा लेखा व्यवस्थापन लगायतका काम गर्दथ्यो । उहाँको त्यो कम्पनी विस्तार भएर हाल विशाल कम्पनीको रुपमा धारण गरिसकेको छ । पोर्चुगलमा त्यस कम्पनीका २ बटा शाखा भारत र नेपालको काठमाडौंमा सञ्चालनमा छन् । उहाँको सो कम्पनीमा यतिबेला २५ जनालाई पूर्णकालीन र ५० भन्दा बढिलाई आंशिक काम गर्ने गरी रोजगारी पाएका छन् । रोजगार पाउनेमा ५० प्रतिशत भन्दा बढी संख्या नेपाली रहेको कार्कीले सगर्व बताउनु भयो ।
कार्कीको व्यवसायलाई अहिले उहाँकी सहधर्मिणी शान्तादेवी कार्की र छोराहरू विवस र विश्वासले पनि सघाउँदै आउनु भएको छ । उहाँ युरोप गएपछि २०१६ मा जेठो छोरा र श्रीमती पोर्चुगल जानु भएको हो भने कान्छो छोरा सन् २०१७ मा । अहिले उहाँहरू तीनै जना सोही कम्पनीमै कार्यरत हुनुहुन्छ । उहाँँको परिवार आफ्ना श्रीमान् तथा बाबा गुमान सिंहले स्थापना गरेको व्यवसायलाई अब्बल बनाउन कम्मर कसेर लागि पर्नु भएको छ । त्यस कार्यमा उहाँहरूले दक्षता समेत हासिल गरिसक्नु भएको छ । त्यसैले अब गुमानसिंह कार्कीलाई त्यो व्यवसायमा ध्यान दिनु पर्ने चिन्ता छैन । उहालाई चिन्ता छ, त केबल आफ्नो जन्मस्थल र आफ्नै देशको । त्यसैले त कार्की अहिले पैतृक थलोमा आएर फरक सोचका साथ काम जुटिरहनु भएको छ । उहाँ अब आफ्नो जन्मस्थलमा पर्यटनका माध्यमले समाजसेवा र मौलिक संस्कृतिको जागरणको अभियानमा जुट्नु हुने भएको छ ।
रोजगारका लागि विदेशीएकाहरू उतै रमाएर बस्ने गर्दछन् भन्ने आम बुझाईलाई चिर्दै कार्कीले अहिले गाउँमा एक नयाँ मोडलको आवासीय भवन बनाउनु भएको छ । एक करोड ५० लाख रुपैयाँको लगानीमा बनाइएको एक तले दई भवनका घर हेर्दैमा मन लोभ्याउने खालका छन् । खासगरी शहरको कोलाहलबाट वाक्क भएकाहरूका लागि साप्ताहिक छुट्टी मनाउन वा केहि दिनको लागि शान्त परिवेशमा बस्न चाहनेहरूका लागि उहाँले निर्माण गरेको यो ठाउँले धेरैलाई लोभ्याउने आंकलन गरिएको छ ।
पारिवारिक जीवन शैलीमा आफैं पकाएर खाने, नाचगान, भजनकिर्तन तथा रमाईलोका लागि यो घर रोजाईमा पर्छ भन्ने उहाँको धारणा छ । त्यसो त आफ्नो योजना अनुसार ती घरको काम पूरा हुन बाँकी नै रहेको कार्की बताउनु हुन्छ, यो घर लगायतका कामका लागि अहिले उहाँ एक बर्षको भिषामा नेपाल आउनु भएको हो । त्यसो त कार्की अधिकांश समय नेपालमा नै बस्न रुचाउने गर्नु हुन्छ । उहाँले भन्नुभयो, ‘नेपाल आफ्नो पितृभूमि र देवभूमि समेत भएका कारण पनि आफूलाई नेपाल र जन्मेको गाउँको मायाले तानिरहन्छ र केहि गर्नका लागि झक्झक्याई रहन्छ ।’ विदेशमा गएकाहरू फर्कदैनन भन्ने सोचलाई चिर्नको लागि पनि आफ्नो जन्मथलो र मातृभूमिमा बसेर सामाजिक काम गर्ने आफ्नो भावी योजना रहेको कार्कीले उल्लेख गर्नुभयो ।
उहाँको सोचाई अनुसार निर्माण गरिएको घरको कम्पाउण्डमा शाकाहारी परिवेश हुनेछ भने कम्पाउण्ड बाहिर निर्माण गरिने अन्य पारिवारिक घरहरू नन भेजका लागि बनाउने योजना छ । माछा पोखरी, पार्क अन्य आवश्यक सुविधा सहित निर्माण गरिने उक्त परिसर पुरै पर्यटकीय परिवेशको हुनेछ ।
अधिकांश नेपालीहरू केही रहर र केहि बाध्यताले आफ्नो थातथलो छाडेर विदेश गएका छन् । उता गएर केही गर्न सक्ने क्षमता बनाउँदा पनि उतैको परिवेशमा रमाएर दुःख सहेरै भएपनि व्यस्त जीवन विताइरहेका छन् । तर गुमानसिंह कार्की भने त्यो परिवेश एवम् मान्यतालाई बदल्न नेपाल फर्किने सोचमा हुनुहुन्छ । अब जिल्लामै बसेर सामाजिक क्षेत्रमा काम गर्ने उहाँका सोच तथा योजना छन् । विदेशको हावापानीमा जन्मे हुर्केका नाती, नातिनाहरूलाई नेपाल ल्याउने सोच उहाँको छ । आफूले बनाएको पर्यटकीय स्थललाई आफ्नो शेषपछि ट्रष्टको रुपमा विकसित गर्ने योजना छ उहाँको ।
त्यहाँ पुग्ने जो कोहिले पनि उहाँले डिजाईन गरी निर्माण गर्नु भएको घर देख्दा आफू पनि यस्तै घर बनाएर बसुँ बसुँ लाग्दछ । यसलाई व्यापारिक प्रयोजनले यसलाई उपयोग सके विस्तार गर्न पनि इच्छुक व्यक्तिको खोजीमा समेत आफू रहेको उहाँले जानकारी दिनुभयो । आफू नेपाल नभएको समयमा घरको हेरचाह गर्ने कामदार राखेको उहाँले जानकारी दिनुभयो ।
नेपाली समाजको खुट्टा तान्ने प्रवृत्तीसँग कार्की सुपरिचित मात्र हुनुहुन्न भुक्तभोगी समेत हुनुहुन्छ । सामाजिक र साँस्कृतिक परिवेशमा बस्न रुचाउनेहरूको लागि उहाँले अहिले पैतृक थलोमा गरिरहेको कामलाई अधिकांशले प्रशंसा गरेका छन् भने केहिले डाह र ईष्र्याको दृष्टिले हर्नेहरू पनि छन् । आफ्नो कामप्रति डाह तथा ईष्र्या गर्नेहरूबाट अझै पाठ सिकिरहेको समेत उहाँले सुनाउनु भयो । उहाँ भन्नुहुन्छ, ‘केही गर्न नसक्नेहरूले गर्ने भनेकै डाह र ईष्र्या मात्रै त हो ।’
आस्तिक भावनाका धनी कार्की अहिले पनि सामाजिक काममा उत्तिकै व्यस्त हुन थाल्नु भएको छ । विभिन्न सामाजिक कार्यका लागि धेरथोर सहयोगका हात पनि बढाउनु भएको छ । हालै पोर्चुगलमा सम्पन्न अधिवेशनबाट लमजुङ– पोर्चुगल समाजका सल्लाहकार संयोजक चयन हुनु भएका उहाँ भोटेवडारमा कालु कार्की, भेडीखर्के साहिंला र युक्त गुरुङको नाउँमा निर्माण गरिएको पार्क व्यवस्थापन समितिका सल्लाहकार र खस क्षेत्री समाजका विशिष्ट आजीवन सदस्य हुनुहुन्छ ।
विदेश पुगेर पनि मातृभूमिको माया, जिम्मेवारी तथा कर्तव्य सम्झेर यहिं केही गर्छु भन्ने सोचका साथ नेपाल आवतजावत गरिरहनु भएका कार्की अब भने धेरै समय नेपालमै विताउने योजना रहेको सुनाउनु हुन्छ । उहाँले भन्नुभयो, ‘विदेशमा गरिएको जस्तै श्रम नेपालमा गर्ने हो भने यहिंको जीवन सरल, सहज र सुन्दर बनाउन सकिन्छ । गाउँठाउँको परिवेश धेरै राम्रो छ । यहींको मौलिक संस्कृति सुन्दर छ । त्यसो त कार्कीले नेपालको युवा पुस्तालाई केहि सिकाउँछु भन्ने अठोटका साथ काममा जुटिरहनु भएको छ ।
विदेशमा मनग्गे सम्पत्ति भएर सुख सुविधाका साथ बस्न पाए पनि जन्मस्थानको लागि पनि गर्नुपर्दछ भन्ने कार्कीजस्तै सोच विदेश बस्ने सबै नेपालीको हुने हो भने पक्कै पनि नेपालका पहाडी कुना कन्दराहरूले विकासको फल चाख्न पाउने छन्, लोप हुँदै गरेका मौलिक परम्परा लोक संस्कृतिको समेत संरक्षण भई भावि पुस्तालाई हस्तान्तरण गर्नका लागि मार्ग प्रशस्त हुनेमा शंका छैन ।
गुमासिंहले निर्माण गर्नु भएको ‘कार्की पर्यटकीय निवास’ लमजुङको सदरमुकाम जाने डुम्रे– वेसीशहर सडक खण्डको भोटेवडार स्थित बगैंचाबाट अघि बढेर जीमेत्रे (ज्यामित्रे) खोला पुग्नु अघिको डडेलीबाट पश्चिमतर्फ लाग्ने कच्ची सडकतर्फबाट करिब २ सय मिटर माथि कार्कीले निर्माण गर्नु भएको भवनमा पुग्न सकिन्छ ।

प्रकाशित मिति २०८१ आश्विन १०, बिहीबार १०:०७ गते
हजुरको प्रतिक्रिया