काठमाडौँ– सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले असोज ११ गते नियन्त्रणमा लिएका छन् । नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका थिए ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीले मेयर नेपालीलाई पक्राउ गरेको हो । बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको सीआईबीले पुष्टि गरेको हो । उनी फरार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाले बताउनु भयो । उहाँका अनुसार नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको थियो, पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको छ ।
इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीविरुद्ध १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो ।
‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपाल प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली विरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएका उनी ०८० को जेठ ५ गतेदेखि फरार थिए । नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।
बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान छ ।
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङका साथै पोखरा सिर्जनाचोकमा समेत यसको शाखा थियो ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
२०७४ को निर्वाचनमा पनि मेयर निर्वाचित भएका उनी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको चुनावअघि टिकट नपाएपछि उनले नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका थिए ।
प्रकाशित मिति २०८१ आश्विन ११, शुक्रबार १८:४६ गते