मुलुकका १३ स्थानमा नदीहरूमा आएको बाढीले खतरा तह पार गर्यो

मुलुकका १३ स्थानमा नदीहरूमा आएको बाढीले खतरा तह पार गर्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १२ गते शनिवार ०६:३०

मौसम पूर्वानुमान महाशाखाले ५० मिलिमिटरभन्दा माथि भए भारी वर्षा, १०० मिलिमिटरमाथिको वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी वर्षाको सूचीमा राख्ने गरेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ ।

काठमाडौँ– अविरल वर्षाका कारण विभिन्न १३ स्थानमा नदीहरूले खतराको तहको पार गरेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले हिजोदेखि आएको अविरल पानीका कारण केही नदीहरूमा अझै पानीको बहाव बढ्दो अवस्थामा रहेको असोज १२ गते विहान जनाएको छ ।
काठमाडौँको बलकुमारमा मनोहरा, भक्तपुरको जागती र कौशलटारमामा हनुमन्ते खोला तथा ललितपुरको झरुवासीमा खोड्कु खोला र खोकनामा बागमतीको जलसतह खतराको तह पार गरेको बताइएको छ ।
उता, चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ । यहाँ पानीको बहाव अझै बढ्दो क्रममा छ ।
त्यस्तै, रौतहट, बारा, धनकुटा, सिन्धुली, भोजपुर र सुनसरीमा पनि विभिन्न नदी तथा खोलाको जलसतहले खतराको तह पार गरिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाराको महेशपुरमा पसाहा खोला, अरूण नदी धनकुटामा र सुनकोशी नदीले सिन्धुलीमा खतराको तह पार गरेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ ।
जसअनुसार पाल्पाको कुमाल गाउँ स्टेसनमा पछिल्लो २४ घण्टामा २१६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै तनहुँको विमलनगर स्टेसनमा २५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यसैगरी, कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र झापामा विभिन्न नदी तथा खोलाहरूमा पानीको वहाब सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले हिजो मात्र पनि विशेष बुलेटिन जारी गरेर सतर्क रहन आग्रह गरेको थियो ।
मौसम पूर्वानुमान महाशाखाले ५० मिलिमिटरभन्दा माथि भए भारी वर्षा, १०० मिलिमिटरमाथिको वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी वर्षाको सूचीमा राख्ने गरेको छ ।

प्रकाशित मिति २०८१ आश्विन १२, शनिबार ०६:३० गते
हजुरको प्रतिक्रिया