काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अन्ततः जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै असोज १४ गते मुद्दा दायर गरेको हो । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो ।
प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताउनु भयो । प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् ।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन् । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् ।
दुबईबाट प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए । सो दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताएकी थिइन् । त्यसपछि प्रसाईंले उनको विरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन ।’ आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले ब्युरोमा जाहेरी दिएकी हुन् । सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ ।
विद्युतीय कारोबार ऐन– २०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा छन् । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको छ ।
प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार १९:४९ गते