बडादशैंको पर्याय : लोपोन्मुख रोटेपिङ (आठ पिर्के) निर्माणमा जुटे गाउँशहरका युवा

बडादशैंको पर्याय : लोपोन्मुख रोटेपिङ (आठ पिर्के) निर्माणमा जुटे गाउँशहरका युवा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २२ गते मङ्गलबार ०९:२८

‘संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्ने यस्ता कार्यमा नगरपालिकासँग बजेट नै हुँदैन रे ! त्यसैले स्थानीय तहको सहयोगको आशा गरिए पनि पाउन सकिएन’ भन्ने क्लबका पदाधिकारीहरूको दुखेसो छ ।

तीन– चार दशक अघिसम्म लमजुङका प्रायः सबै गाउँमा बनाइने रोटेपिङ पछिल्ला वर्षमा भने बिरलै देख्न पाइने गरेको छ ।

गाउँशहर(लमजुङ)– बडादशैँ संस्कृतिको पर्यायका रुपमा रोटेपिङ पनि एक हो । पछिल्ला वर्षमा लोपोन्मुख हुँदै गएको रोटेपिङ संरक्षणमा लमजुङको जिल्ला सदरमुकाम नजिकै रहेको गाउँशहरमा रोटेपिङको निर्माणमा युवाहरू जुटेका छन् । स्थानीय लमजुङ कालिका युवा क्लबले आठ पिर्के रोटेपिङ बडादशैंका लागि निर्माण गरेको हो ।
तीन– चार दशक अघिसम्म लमजुङका प्रायः सबै गाउँमा बनाइने रोटेपिङ पछिल्ला वर्षमा भने बिरलै देख्न पाइने गरेको छ । रोटेपिङ प्रायः चार पिर्काको हुने गर्दथ्यो । त्यसो त लमजुङकै केही स्थानमा अपवादको रुपमा २८ तथा ३२ पिर्के रोटेपिङको समेत निर्माण गरेको पनि भेटिन्छ । गाउँशहरमा पनि पाँच वर्षको अन्तरपछि संस्कृति बचाउने, लमजुङ कालिकाको प्रचार गर्ने र गाउँशहरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्य लिएर उक्त रोटेपिङ निर्माण गरेको क्लबका सचिव मधुसुधन अधिकारीले बताउनु भयो । उहाँका अनुसार बेसीशहर नगरपालिका– ३ गाउँशहर स्थित लमजुङ कालिका युवा क्लबले लमजुङ कालिका मन्दिर परिसरमा रोटेपिङ संस्कृति बचाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भन्ने उद्देश्यले यो पिङ निर्माण गरिएको हो । उहाँले भन्नुभयो, ‘कोभिडकालदेखि रोटेपिङ बनाउने कार्य बन्द भएको थियो, यो वर्षदेखि हामीले फेरि निरन्तरता दिने भएका छौं ।’
आठ पिर्के बनाउन भनेर लागेको रोटेपिङ बनाउँदै जाँदा १२ पिर्के बन्ने भएको छ सो क्बलका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार तिहारको लागि दशैं लगत्तै १२ पिर्केको काम थाल्छौं । उहाँले भन्नुभयो, ‘सोही वडाको छिमेकी गाउँ काउलेपानी निवासी काशीराम गुरुङको नेतृत्वमा तीन जनाको टोलीले रोटेपिङ निर्माणको काम गरेका हुन् ।’ रोटेपिङ निर्माणका लागि एलेसम्म एक लाख ३० हजार रुपैयाँ खर्च भइसकेको छ, १२ पिर्के थप गर्दा ५०– ६० हजार खर्च बढ्ने स्थिति छ अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘सबै संरचना नयाँ बनाउनु प¥यो, पुराना सामग्री थोत्रा भइसकेको हुँदा सबै नयाँ बनाउदा खर्च केही बढी हुन गएको हो ।’ पिङ निर्माणका लागि आवश्यक काठ स्थानीय ठूलो पोखरा पाताल वन उपभोक्ता समितिले सहयोग गरेको हुँदा किन्नु परेन । काठ समेत किन्नु परेको भए त खर्च थप एक लाख जति बढ्ने थियो श्रेष्ठले जानकारी दिनुभयो ।
रोटेपिङको विशेषता :
८– १२ पिर्का भएको रोटेपिङको महत्वमा प्रकाश पार्दै क्लबका सचिव अधिकारीले भन्नुभयो, ‘२८– ३२ पिर्के पिङ ‘सो’का लागि मात्र जस्तो भएको छ । त्यस्तो ठूलो पिङ खेल्न, त्यसलाई हल्लाउन गाउँभरका सबै जम्मा हुनुपर्ने स्थिति देखियो, त्यसैले पनि हाम्रो रोजाईमा १२ पिर्के पिङ परेको हो ।’ चार पिर्काको रोटेपिङलाई मच्चाएर हल्लाउँदा पिर्का बढी फर्किने गर्छ, त्यसबाट खेल्ने मानिस खस्न सक्ने र दुर्घटना हुन सक्ने जोखिम पनि बढी हुन्छ तर आठ– बाह्र पिर्का भएको रोटेपिङ फर्किदैन, खेल्न पनि सहज हुन्छ । २८– ३२ पिर्काको रोटेपिङ अग्लो हुने हुँदा कति मानिस त त्यस्तोमा कहालिएर खसेर दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ अधिकारीको भनाइ छ ।
उक्त रोटेपिङको निर्माण कार्यको नेतृत्व गर्ने काशीराम गुरुङलाई पारिश्रमिक कति लिने चलन छ ? भन्ने जिज्ञासामा ‘के को पारिश्रमिक लिने ? यो त संस्कृति हो, बचाउनु पर्छ भन्ने लागेर क्लबका भाइहरूलाई सहयोग गरेका हौं, भाइहरूले कति दिन्छन् त्यति हात थाप्ने हो’ भन्नुभयो । ४६ वर्षीय गुरुङले आफूले काठको काम १५ वर्षकै उमेरदेखि गर्दै आएको बताउँदै यो समेत तीनवटा रोटेपिङ आफूले बनाएको सुनाउनु भयो । दुई वटा आफ्नै काउले पानी गाउँमा बनाएको हो तर गाउँमा पछिल्ला वर्षमा रोटेपिङ बनाउन छाडेको उनले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘यसरी संस्कृति लोप हुँदै गयो भने हाम्रो पहिचान गुम्छ भन्ने लागेको छ, अहिले यो क्लबका भाइहरुले राम्रो काम गरेका छन् ।’
रोटेपिङका लागि धेरैजसो कुटुस जातको काठको प्रयोग भएको छ । मादलका लागि चिलाउने तथा डाँडी र ठेडीका लागि फिलाउनेको प्रयोग गरेका छौं गुरुङले भन्नुभयो । उहाँका अनुसार पिङको खामो जमिन मुनी पाँच फुट गाडिएको छ र माथि २२ फुट छ । अब १२ पिर्के बनाउँदा आठ/आठवटा पखेटा र घुर्रा, चार/चारवटा डाँडी र पिर्का भए पुग्छ । १२ पिर्के रोटेपिङका लागि अन्य यही संरचनाले काम चल्छ गुरुङले जानकारी दिनुभयो ।
सो पिङ बनाउनका लागि तीन जान मिस्त्रीलाई करिब २० दिन लाग्यो हामीले पनि जानेको स–सानो सहयोग रफ कामहरु पिर्काहरू, पखेटा आदिलाई आकार दिने हामीले गरेका छौं, मिस्त्रीहरुले फिनिसिङको काम गरे क्बलका सचिव अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो पिङ अघिपछि खोल्ने र बडादशैं र तिहार भर तथा चैतेदशैंका बेलामा सधैं हाल्ने काम हुनेछ ।

उक्त आठ पिर्के रोटेपिङको बेसीशहर नगरपालिका– ३ का वडाध्यक्ष चित्रबहादुर दनाईले एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो । उहाँले आफ्नो मन्तव्यका क्रममा यो पिङको स्तरबृद्धि अर्थात १२ पिर्के बनाउनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।
आठ पिर्के रोटेपिङ बनाएको ठाउँ गाउँशहर पुग्न लमजुङको सदरमुकाम बेसीशहरबाट करिब आठ किमीको दुरी रहेको छ । जसमा चार मिकी पक्की सडक र त्यसपछि चार किमीको दुरीमा कच्ची सकड छ भने पैदल यात्रा गरेर करिब डेढ घण्टामा पुग्न सकिन्छ ।

प्रकाशित मिति २०८१ आश्विन २२, मंगलवार ०९:२८ गते
हजुरको प्रतिक्रिया