आज फूलपाती घर घरमा भित्र्याइदै : साइत नचाहिने

आज फूलपाती घर घरमा भित्र्याइदै : साइत नचाहिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २४ गते बिहिबार ०६:५६

बेसीशहर– आज बडादशैंको सप्तमी तिथि अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्त्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्त्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको...

फूलपातीमा चाहिने ९ चिज : फूलपाती मनाउने घतलाग्दो प्रसङ्गसमेत

बेसीशहर– आज बडादशैंको सप्तमी तिथि अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्त्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्त्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल आज असोज २४ गते अर्थात फूलपातीदेखि सुरु हुन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी घरघरमा पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा आज फूलपाती भित्र्याइदैं छ । विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश गराउने प्रचलन छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइने गरिन्छ । शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन छ ।
कतै कतै फूलपातीका रुपमा नौ प्रकारका वनस्पतीमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता पातहरू पनि प्रयोग गरिन्छ । यी वनस्पतीलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आव्हन गरी पूजा गरिन्छ, जसलाई देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक मानिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।
आजका दिनमा विशेषगरी विद्यार्थी वर्गले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ ।
फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि प्रा.डा.गौतमले बताउनु भयो ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरूको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ तथा रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ । लिङ्गे पिङ तथा रोटे पिङ बडादशैंको मौलिक परम्परा मानिन्छ ।
लमजुङ कालिका मन्दिरमा पनि भित्र्याइँदै फूलपाती :
लमजुङको गाउँशहरमा रहेको लमजुङ कालिका मन्दिरमा पनि फूलपाती भित्र्याउने प्रचलन छ । दिउँसो करिबब चार बजे पञ्चैबाजा बजाउँदै, मालश्री गाउँदै लमजुङ कालिका मन्दिरबाट चण्डिमा आएर त्यहाँ तयार गरी राखिएको फूलपाती लिएरलमजुङ कालिका मन्दिरमा लगी भित्र्याउने तयारी रहेको लमजुङ कालिका मन्दिरका मूलपुजारी सोमराज बरालले बताउनु भयो । उहाँका अनुसार सो विधि सबै पुरागर्दा करिब दुई घण्टा लाग्छ ।
फूलपाती मनाउने प्रसङ्ग :
बडादशैं रमाइलो पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । बडादशैं, सद्भावको पर्व हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्दतीको एउटा हिस्सा हो । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।
सामाजिक महत्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा पु¥याउँछ । भावनात्मक महत्व छ, जसले टाढा–टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्याउँछ ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
भनिन्छ, बाइसे चौवीसे राज्यको रुपमा रहेको नेपाल एकिकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरूमा पु¥याउने गरिन्थ्यो । काठमाडौंको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती धदिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

प्रकाशित मिति २०८१ आश्विन २४, बिहीबार ०६:५६ गते
हजुरको प्रतिक्रिया