लमजुङ कालिका मन्दिरमा बडादशैंका पुजारीदेखि चन्दनेसम्मको पारिश्रमिक न्यून भएको गुनासो

लमजुङ कालिका मन्दिरमा बडादशैंका पुजारीदेखि चन्दनेसम्मको पारिश्रमिक न्यून भएको गुनासो

नवराज पहाडी

@antaranganews

२०८१ असोज २४ गते बिहिबार ०९:११

२०७६ सालमा बढेको पारिश्रमिक त्यस यता बढेको छैन, त्यो अधि ४० वर्षसम्म जम्मा तीन हजार एक सय रुपौया थियो ।’ एले पाँच हजार दुई सयमा पनि ट्याक्स १५ प्रतिशत कट्टा गरेर दिन्छ ।

कालिका मन्दिरमा पुजारीदेखि कटुवालसम्म छन् जसलाई २२ सुसारे भनिन्छ ।

गाउँशहर(लमजुङ)– लमजुङ जिल्लामा लमजुङ कालिकाको ठूलो महिमा छ । शाहवंशको उदगम स्थल लमजुङ हो । पृथ्वीनारायण शाहका पूर्वजको उत्पत्ती लमजुङबाट भएको हो । लमजुङ कालिकालाई शाहवंशको कुलदेवता समेत मानिन्छ । त्यसैले यो मन्दिर शाह वंशको उदयसँगै स्थापना भएको मानिन्छ । नेपाल एकीकरणको क्रम गोरखाबाट सुरु भएको र लमजुङलाई हराएपछि यहाँको दरबारमा भएको सबै वस्तु समेत बरामद गरी गोरखा लगेका कारणले गोरखा कालिकाको महिमा बढी र लमजुङ कालिकाको महिमा कम मानिएको मात्र हो, शक्तिका हिसाबले लमजुङ कालिका पनि उत्तिकै शक्तिशाली भएको बुढापाकाको भनाइ छ ।
शाह वंशको उदयसँगै स्थापना भएको लमजुङ कालिका मन्दिरमा २२ सुसारे छन् :
लमजुङ कालिका मन्दिरमा बडादशैं अर्थात ठूलोदशैं र चैतेदशैंका दिनमा नवैं दिन विशेष पुजाआजा हुन्छ । कालिकाको नित्य पुजाका लागि मूल पुरोहित समेत चार जना हरेको लमजुङ कालिका मन्दिरका मुलपुरोहित सोमराज बरालले बताउनु भयो । उहाँका अनुसार हामी त आस्थाले मात्र लत्रिरहेका छौं, पारिश्रमिकका हिसावले त सरकारले खुत्रुक्कै पारेको छ । उहाँले भन्नुभयो, ‘२०७६ सालमा बढेको पारिश्रमिक त्यस यता बढेको छैन, त्यो अधि ४० वर्षसम्म जम्मा तीन हजार एक सय रुपौया थियो ।’ एले पाँच हजार दुई सयमा पनि ट्याक्स १५ प्रतिशत कट्टा गरेर दिन्छ, जति पनि दरबन्दी छ सबैको १५ प्रतिशतनै कर काट्ने गरिएको घिमिरेले जानकारी दिनुभयो ।
घटस्थापनादेखि दशमीसम्म नित्य विशेष पूजा :
लमजुङ कालिका मन्दिरमा घटस्थापनादेखि दशमीसम्म नित्य विशेष पूजा गर्ने प्रचलन छ । जसको दरबन्दी संख्या पुजारी समेत २२ रहेको छ । जसलाई २२ सुसारे पनि भन्ने चलन छ अर्का पुरोहित होमनाथ बरालले जानकारी दिनुभयो । उहाँले पनि पारिश्रमिक हैन त्यसलाई श्रद्धाले दिएको दक्षिणा भनेर मान्ने गरिएको छ उल्लेख गर्नु भयो ।
सो मन्दिरमा मौलिनीको तीन हजार पाँच सय १५ रुपैयाँ पारिश्रमित रहेको छ । पुजारीमा बोहरा, राना र आले पनि छन् उनीहरूलाई दुई हजार आठ सय ४० रुपैयाँ दिइन्छ । उनीहरू सबैले घटस्थापनाको दिनदेखि टीकाको दिनसम्म खट्नु पर्छ होमनाथ बरालले भन्नुभयो । थापा परिवारका चन्दने(चन्दन घोट्ने)लाई मात्र तीन हजार तीनसय १५ रुपैयाँ दिइन्छ भने कटुवाललाई मात्र ४७० रुपैयाँ दिने गरिएको छ । त्यस्तै, रोटवाला(रोटी बनाउने)ले एक हजार पाँच सय १५ रुपैयाँ, नगरावालालाई पाँच हजार ६९० रुपैयाँ पारिश्रमिक रहेको उनीहरूले बताएका छन् । लमजुङ कालिका मन्दिरका २२ सुसारेमध्ये अधिकांश यतिबेला मन्दिरपरिसरमा भेटिन्छन् । उनीहरू सबैले एकस्वरले ऐलेको महंगीलाई थेग्न सक्ने गरी आफ्नो तलब सुविधा बढ्नु पर्ने माग गरेका छन् ।
लमजुङ कालिका मन्दिरसँगै पुरानकोट गढीमा रहेको कालिका मन्दिरमा समेत सँगै पुजा गर्ने प्रचलन छ । सो मन्दिरमा धनश्याम घिमिरे पुजारी छन् । उहाँले आफ्नो पारिश्रमिक चार हजार ७४० रुपैयाँ रहेको जानकारी दिनु भयो । उहाँका अनुसार त्यसमा पनि कर कट्टा गरेर दिइन्छ । उनले भने, ‘तीन जना पुजारी लमजुङ कालिका मन्दिरमा र आफू यो मन्दिरको पुजारी हुँ ।’
लमजुङ कालिकाबाट सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । केही दशक अघिसम्म ब्रिटिश सेना र भारतीय सेनामा नोकरी पाउन भाकल गर्ने, लडाइँमा लाहुरेहरूको ज्यान सुरक्षा होस् भन्ने कामना गर्दा पूरा हुने अन्य मनोकामना आदिसमेत पुरा हुने गरेको विश्वासका आधारमा कालिकालाई परेवा, कुखुरा, बोका, राँगो देखि पञ्चबलीसम्म चढाउने गर्दथे भने त्यो प्रचलन आजका दिनमा पनि छ पुजारी घिमिरेले जानकारी दिनुभयो ।
लमजुङ कालिका मन्दिरकै यो मन्दिर पिठ भएको हुँदा यो मन्दिरको पुजाका लागि ठूलो मन्दिरको तुलनामा छ गुनाले कम सुविधा मिल्ने गरेको पुजारी धनश्याम बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘यहाँ घटस्थापनाको दिनमा पुजा हुन्छ, नवमीका दिनमा एक एकवटा बोका, राँगोको बली सरकारीस्तरबाट दिने गरिन्छ ।’ यो क्षेत्रमा गुरुङ बाहुल्य भएको हुँदा उनीहरूले आफू खुशी कुखुरा आदि ल्याएर पुजा गर्छन् भने केहीले पञ्चबली समेत दिने गर्दछन् उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो मन्दिरको तत्कालै पुनः निर्माण गर्नु पर्ने अवस्था छ तर कसैको ध्यान गएको छैन ।’
लमजुङ कालिका मन्दिरमा कर्नाले(कर्नाल बजाउने), कटुवाल, मालश्री गायक÷गायिका, चिराँगी, घडीवाला, साँधे(हतियारमा साँध लगाउने), चन्दने(चन्दन घोट्ने), बिहारे(धुप आदिको प्रवन्ध गर्ने), पाते(सालको पातको प्रवन्ध गर्ने) आदि रहेको छ ।’
‘पात्ले गह्रा’ भन्ने गाउँको नाम र कालिका मन्दिरको अन्तरसम्बन्ध :
लमजुङ कालिका मन्दिर बेसीशहर नगरपालिका– ३ मा रहेको छ भने सोही नगरपालिका– ४ को ‘पात्ले गह्रा’ भन्ने गाउँको नाम सो मन्दिरमा पुजा गर्दा आवश्यक पर्ने दुना टपरी बनाउनका लागि सालको पातको प्रवन्ध गर्नेहरू बस्नेहरूको गाउँ हो । सो गाउँका ती पातको प्रवन्ध गर्नेहरूलाई ‘पात ले’, ‘पात ले’ भन्दा भन्दै अपभ्रंस भई ‘पात्ले’ भई गाउँको नाम रहन गएको लमजुङ कालिका मन्दिरका मुल पुरोहित सोमराज बरालले जानकारी दिनुभयो ।
उहाँले पुनः जोड दिदै भन्नुभयो, ‘आस्थाले मात्र कति दिन डोरिने ? त्यसैले समयोचित पारिश्रमिक बृद्धि हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

प्रकाशित मिति २०८१ आश्विन २४, बिहीबार ०९:११ गते
हजुरको प्रतिक्रिया