गाउँशहर(लमजुङ)– बडादशैंको सातौँ दिन लमजुङको यहाँस्थित लमजुङ कालिका मन्दिरमा परम्परागत रुपमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका दिन घर घर तथा देवालयहरूमा समेत शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने परम्परा अनुसार लमजुङ कालिका मन्दिरमा पनि फूलपाती असोज २४ गते भित्र्याइएको हो ।
नेपालमा शाहवंशको उदगमस्थलका रुपमा परिचित लमजुङको गाउँशहरमा सदरमुकाम बेसीशहरमा राजाकै पालामा बनाइएको फूलबारीबाट बेसीशहरदेखि त्यहाँका ‘उपासे’ले लिएर गएको डोली कालिका मन्दिरमा बाजा गाजा सहित भित्र्याउने काम विधिपूर्वक सम्पन्न भएको लमजुङ कालिका मन्दिरका मूलपुरोहित सोमराज बरालले बताउनु भयो । उहाँका अनुसार बेसीशहरबाट ल्याईएको फूलको डोली र कालिका मन्दिर परिसरबाट निस्केकी देवी सहितको टोलीलाई गाउँशहरको चण्डीमा भेट गराई विधिपूर्वक पुजाआजा गरी कालिका मन्दिरमा ल्याएर भित्र्याइएको हो ।
फूलपाती भित्र्याउने तयारी :
लमजुङ कालिका मन्दिरमा फूलपाती भित्र्याउनका लागि षष्टी तिथिकै दिनबाट तयारी गर्ने गरिन्छ । षष्टीका दिन दिउँसो २ः३० बजेको शुभ साइतमा लमजुङ कालिका मन्दिरको पटांगीनीमा कुभिण्डो, बोका र राँगाको बली चढाइन्छ । फूलपाती लिनका लागि बोहरा, बस्नेत, आलेमगर, थापा, घडीवाल, चन्दनेसहितको टोली बेसीशहर स्थित लक्ष्मीनारायण मन्दिरमा जान्छन् र पूजा गर्दछन् । त्यसपछि त्यो टोली मर्स्याङदी नदी किनारमा पुग्छन् र नुवाईधुवाई गरी त्यही नजिक रहेको ‘भूताहा’ स्थानमा गएर एक बोकाको बली दिइन्छ । त्यो प्रसादको रुपमा टोलीले ग्रहण गरी रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् ।
भोलिपल्ट विहान नुवाईधुवाई गरी नयाँ सफा कपडा लिई विभिन्न जातका फूलहरू बेलको फूल, बेल पत्र, अशोकको फूल, अयन्ती, जयन्ती, आलती, मालती, पारिजातको फूल, कुभिण्डो, अदुवा, जनैलहरा लगायत संकलन गर्दै टोली अघि बढ्छ । त्यो टोली हिजोका दिनमा यशोब्रम्ह शाहले हिडेको बाटो हुँदै बाटोमा फेला पर्ने फूलहरू टिप्दै टिप्दै गाउँशहरको चण्डीमा पुग्छन् । यो कार्य गर्दा त्यो टोलीका सहभागीहरू आपसमा बोल्ने तर बाहिरी अन्य व्यक्तिहरूसँग नबोल्ने प्रचलन रहेको समेत मूलपुरोहित बरालले जानकारी दिनुभयो ।
लमजुङ कालिका मन्दिरका मूलपुरोहित बरालले भन्नुभयो, ‘फूल संकलन गर्ने क्रममा कसैको बारीको फूल टिप्दा कसैलाई नसोधी टिप्ने गरिन्छ । कसैले थाहा पाएर ‘फूल किन टिपेको ?’ भनेर सोध्यो भने एक पटक ‘उपासे’ भनेर जवाफ दिने चलन पनि रहेको बरालले जानकारी दिनुभयो । झोली भरिसकेपछि फूलपाती लिनेहरू गाउँशहरको चण्डी थुम्का(स्थान)मा पुग्छन् । यसरी टिपिएको फूल बिसाउन हुँदैन भन्ने प्रचलन छ । सो टोलीमा रहेका जेठो, महिलो, साहिलो र कान्छो चार जना लगायतका ‘उपासे’ले आराम गर्दछन् ।
त्यही बेलामा लमजुङ कालिका मन्दिरमा दश अवतारको पुजा गरी मौलिनीले कलश बोक्ने, मूलपुरोहितले पुजा गर्ने, भजनीयाले भजन गाउने, मालश्रीवालाले मालश्री गाउँदै पञ्चैबाजाका साथमा चण्डीथुम्कामा द्वारेका साथै अन्य भक्तजनहरू सहित भएर फूलपातिको डोली लिन जान्छन् । दुबैथरीले डोली सजाउछन् र पोशाक, माला, चन्दन लगाएर उपासेहरू आफू पनि सजिन्छन् । चण्डी थुम्कामा बोका र कुभिण्डोको बली दिइन्छ । त्यसपछि संयुक्त रुपमा बाजागाजा सहित फूलपातीको डोली लिएर लमजुङ कालिका मन्दिरमा पुगेर भित्र्याउने प्रचलन रहेको अनुसार नै सो अनुष्ठान हिजो सम्पन्न गरेको मुलपुरोहित बरालले जानकारी दिनुभयो ।
फूलपाती बिसर्जन विधि :
यसप्रकार फूलपातिका दिन भित्र्याएको फूलपाती दशमीका दिनमा भित्र्याए जसरी नै बाजागबजाका साथ बिसर्जन गर्ने गरिन्छ । बिसर्जन पनि विधिपूर्वक गरिन्छ । शुक्र पश्चिमतर्फ हुँदा दक्षिणको तीनधारे÷पहरेपानीमा लगेर बिसर्जन कार्य गरिन्छ मूलपुरोहित बरालले जानकारी दिनुभयो । त्यस्तै, शुक्र पूर्व भएको बेलामा काउले पानीको नजिक गढी मुनी रहेको उत्तरपानी(तत्कालीन राजारानीले खाने गरेको पानी) धारामा लगेर विसर्जन गरिन्छ बरालले भन्नुभयो । उहाँको अनुसार त्यसपछि फर्केर मन्दिरको सरसफाई गरी ताल्चा लगाएर हामी पुरोहित सहितका २२ सुसारेहरू आ–आफ्नो घरमा जाने परम्परा रहेको छ ।
प्रकाशित मिति २०८१ आश्विन २५, शुक्रबार १०:०० गते