पोखरा– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नेपाली राष्ट्रियताका पृष्ठपोषक एवम् सामाजिक व्यक्तित्वका धनी जेपि क्रसलाई माननार्थ सदस्यता प्रदान गर्ने भएको छ । उहाँ प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’का बाबा हुनुहुन्छ । उहाँलाई आज यहाँस्थित धम्पु निवासमा एक विशेष कार्यक्रमको अयोजना गरी प्रतिष्ठानले कार्तिक ३० गते मानार्थ सदस्यता प्रदान गर्ने भएको हो ।
उहाँ नेपालको अंगीकृत नागरिक हुनुहुन्छ । नेपाली हुँ भन्नेहरूले धमाधम नागरिकता त्याग गरेर विदेशी बनिरहेको बेलामा बेलायती नागरिक हुनुका साथै ब्रिटिश सेनाको कर्नेलसमेत हुनु भएर पनि उहाँले बेलायती नागरिकता त्याग गरी नेपाली नागरिकता ग्रहण गर्नु भएको छ । विसं २०३२ सालदेखि नेपालमा बसोबास गर्दै आउनु भएका उहाँका २२ कृति प्रकाशित छन् भने तीन कृति प्रेसमा जाने तयारीमा छन् । उहाँले नेपालको मौलिक कला संस्कृति, खेलकुद तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत विशेष योगदान एवम् सेवा गर्दै नेपालीहरूलाई अवसर प्रदान गर्दै आउनु भएको छ ।
आकर्षक, बौद्धिक एवम् अनुभवले खारिनु भएको व्यक्तित्व जेपि क्रसलाई मानार्थ सदस्यता प्रदान गर्नका लागि प्रतिष्ठानको एक टोली भोलि पोखरा जाने भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको नेतृत्वमा प्रतिष्ठानको कार्यसमितिको टोली बेसीशहरबाट सोही दिन पोखरा जाने तयारी छ ।
जेपि क्रस जस्तो व्यक्तित्वलाई प्रतिष्ठानले माननार्थ सदस्यता प्रदान गर्न पाउनु गर्वको विषय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।
पहाडीले भन्नुभयो, ‘उहाँले एक सय वर्ष प्रवेश गर्नु भएको पावन अवसरमा गत असारमा उहाँलाई प्रतिष्ठानले अभिनन्दन समेत गरेको थियो । हामीले त्यसैबेला उहाँलाई मानार्थ सदस्यता दिने घोषणा गरेको थियौं । यतिबेला त्यो अवसर जुटेको छ ।’
प्रकाशित मिति २०८१ आश्विन २९, मंगलवार ०७:३८ गते