
भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पाँच दिने दोस्रो मर्स्याङ्दी महोत्सवको तयारी थालिएको छ । गाउँपालिकाले यही कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म दोस्रो मस्र्याङ्दी महोत्सव २०८१ का सञ्चालन गर्ने तयारी थालिएको हो ।
‘स्थानीय कला संस्कृतिको संरक्षण र ग्रामीण पर्यटनको प्रवद्र्धन’का लागि महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रीवितरण समेत गर्ने कार्यक्रम छ । उहाँले भन्नुभयो, ‘वडास्तरमा महोत्सव गरिदा त्यहाँको उत्पादन बोकेर बाहिर जानु परेन एकातिर भने अर्कोतिर त्यो ठाउँको बिशेषताका बारेमा थप जानकारी दिन सहज हुने महसुस गरी यस्तो कार्यक्रम गरिन लागेको हो ।’
पहिलो दिन महोत्सवको उदघाटन कार्यक्रम खुदीमा हुनेछ । दोस्रो दिन कार्तिक २८ गते मर्स्याङ्दी गाउँपालिका– ३ को खुदीबजारमा विगतका वर्षझैं यो वर्ष पनि हरिबोधिनी एकादशी मेला सञ्चालन गर्ने तयारी छ । दुई दिनको अवधिमा मर्स्याङ्दी नदीमा फूलको डोरी तार्नें, सांस्कृतिक कार्यक्रम, बढ़ास्तरीय भलिवल प्रतियोगिता, स्वास्थ्य शिविर सञ्चालन, राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क अवलोकन लगायतका कार्य गरिने भएको छ ।
कार्तिक २९ गतेका दिन मर्स्याङ्दी गाउँपालिका– ४ स्थित जगत गाउँमा जगत तातोपानी महोत्सव हुने छ । उक्त दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम गरिने भएको आयोजकको भनाइ छ ।
कार्तिक ३० गते ‘भीरमह शिकार’ गर्ने तथा अवलोन गर्ने कार्यक्रम तय भएको छ । ‘भीरमह शिकार’ कार्यक्रम वडा नं. २ घनपोखरा, वडा नं. ४ को मिप्रा गाउँ, वडा नं. ५ को घेर्मु र वडा नं. ६ को बाहुनडाँडा क्षेत्रमा रहेका भीरहरूमा महशिकार महोत्सव सञ्चालनको तयारी रहेको सो गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताउनु भयो ।
यसैगरी, मंसिर १ गते मस्र्याङ्दी गाउँपालिका– ४ स्याँगे स्याँगे छहरा र च्याम्चेमा अक्टोपस झरना महोत्सवको तयारी थालिएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो अवसरमा झरनाहरुको अवलोकन, स्थनीय कला संस्कृति प्रदर्शनी स्थानीय उत्पादनको प्रदर्शनी तथा वितरण हुनेछ । उहाँले भन्नुभयो, ‘महोत्सव होमस्टेको प्याकेज विकी तथा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।’ महोत्सवले पालिकाका ९ वटै वडालाई समेट्ने प्रयास गरेको उहाँको भनाइ छ ।
स्मरणीय छ, गाउँपालिकाले २०७५ मंसिरमा पहिलो मर्स्याङ्दी महोत्सव सञ्चालन गरेको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक २, शुक्रबार १५:४० गते