काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्योसँगै उहाँले आफूलाई गाडीबाटै पोखरा पुर्याउन प्रहरीलाई भन्नु भएअनुसार स्थलमार्ग हुँदै पोखराका लागि कार्तिक २ गते साँझ प्रस्थान गरेको छ ।
कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली काठमाडौंको चःमतिस्थित रास्वपा कार्यालयमा एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको थियो ।
१४ जनाविरुद्ध पक्राउ पुर्जी जारी :
यसैबीच, पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । सहकारी ठगीमा ठूलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो ।
जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ आदेशमा रविसहित १४ जना रहेको बताइन्छ । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ ।
जिल्ला अदालतले ‘बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको’ अनुमति पत्रमा उल्लेख छ ।
यसैबीच, सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भएको छ ।
‘सरकार मर्यो, हामीलाई जुठो पर्यो ’ : रवि
रास्वपाका सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताउनु भएका छ ।
कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको आज उल्लेख गर्नु भएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेख्नु् भएको छ, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’
रविले सो स्टाटसमा थप लेख्नु भएको छ, ‘तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ।
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौं अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ?
तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ? भन्ने समेत प्रश्न गर्नु भएको छ ।’
यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिनँ र हिँड्दिनँ पनि । ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनु भो । वाचा स्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईंहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन्, कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं ।
ठिक छ, म तपाईंहरूको दिनगन्ती सुरू भएको खुसीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्याएको यो देशले चाँडै देख्ने छ । सुरूआत तिमीहरूले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।
अहिलेलाई, सरकार मर्यो, हामीलाई जुठो पर्यो । तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ ।
शिर ठाडो राख्न आव्हान :
सभापति रविले आफ्नो स्टाटसको अन्त्यमा पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई शिर ठाडो पार्न आग्रह गर्दै लेख्नु भएको छ, प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईंको सभापतिले कसैलाई ठगेको छैन उहाँले आफ्नो स्टासटमा उल्लेख गर्नु भएको छ ।
यसअघि आजै जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको बताएको छ ।
कास्कीका डीएसपी वसन्तकुमार शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘पक्राउ अनुमति प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन सादर अनुरोध गरिएको छ ।’
कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन सहकारीको सम्बन्धी मुद्दामा २ कार्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।
न्याय मर्ने मुलुकभर सन्त्रास :
सत्ताको डिजाइनमा तयार गरी विच्छ्याइएको जाल, षडयन्त्र एवम् प्रपञ्च अनुसार रास्वपाका सभापति रविको पक्राउसँगै न्याय मर्ने सन्त्रास मुलुकभर छाएको छ । सहकारी ठग रवि, रवि भन्दै नखाएको विष कोच्याउने र अन्य दलको ठूला ठूला अपराध गर्ने नेताहरूलाई भने उम्काउने प्रवृत्ति देखिएबाट मुलुकमा न्याय मर्ने सन्त्रास फैलिएको आम बुझाई छ । तर सधैं रातमात्र रहने छैन भन्नेमा रास्वपाका अन्य नेता कार्यकर्ता तथा शुभचिन्तकहरू आशावादी देखिएका छन् ।
प्रहरीलाई कुनै अवरोध नगर्न रास्वपाको आग्रह :
रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई कुनै अवरोध नगर्न पार्टी कार्यकर्तालाई आग्रह गरेको छ । सभापतिलाई पक्राउ गर्न प्रहरीको टोली पार्टी केन्द्रीय कार्यालय पुगेको र पार्टीका तर्फबाट प्रहरीलाई कुनै अवरोध नगर्न भनिएको रास्वपाका नेता मनिष झाले बताउनु भएको छ ।
उहाँले सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको पनि बताउँदै भन्नुभएको छ, ‘राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ ।’ उहाँले थप भन्नुभयो, ‘पक्राउ गर्न आएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ ।’
सभापति रविलाई प्रहरीले लिएर पोखरा हिडेपछि रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेको छ । कार्यकर्ताहरू बैठकको निर्णयको प्रतिक्षामा छन् ।
प्रकाशित मिति २०८१ कार्तिक २, शुक्रबार १९:५२ गते