बेसीशहर– गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले स्वाथ्यका क्षेत्रमा अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सवको उदघाटन गर्दै कार्तिक ३ गते त्यस्तो बताउनु भएको हो ।
लमजुङ अस्पताल प्रदेश सरकारमातहत आएको दोस्रो वार्षिकोत्सव कार्यक्रममा मन्त्री पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा बनाई पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको र काम अघि बढाइएको बताउनु भएको हो । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उहाँले छ महिना, दुई वर्ष र पाँच वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गर्नु भयो ।
लमजुङ अस्पताल प्रदेशकै महत्वपूर्ण अस्पताल मध्ये एक भएको बताउँदै मन्त्री पाठकले प्रदेशका अस्पतालको रेकर्ड अनुसार पनि लमजुङ अस्पताल उत्कृष्ट देखिएको समेत बताउनुभयो । उहाँले यो पायक पर्ने अस्पताल भएकाले सेवाग्राहीको चाप रहने गरेको उल्लेख गर्नु भयो । लमजुङ अस्पतालको स्तरोन्नतिका काम अब छिट्टै अघि बढ्ने पनि उहाँले जानकारी दिदै भन्नुभयो, ‘आधुनिक भवन निर्माण हुँदैछ । अब टेण्डर प्रक्रियामा जान्छ । विशेषज्ञसहितका सिटी स्क्यान लगायत अत्यावश्यक उपकरण सेवा अस्पतालमा जोडिने छन् ।’
स्वास्थ्य सेवाका लागि भवन, उपकरण र जनशक्ति आवश्यक पर्नेमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सबैको तारतम्य मिल्न नसक्दा कहिँ केही नमिलेको जस्तो अवस्था आएको पनि यस समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकार अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘९८ प्रकारका औषधि निःशुल्क भनिए पनि औषधि पाइएको छैन, स्वास्थ्य बीमामा समस्या छ । साना साना कुराले नागरिकले सास्ती पाएका छन् । संघ सरकारसँग समन्वय गरेर यसलाई समाधान गर्न आफू लागिपरेको छु ।’
मन्त्री पाठकले समुदायतहसम्म पुगेर रोगहरूको स्क्रिनिङ गरी औषधोपचार गर्नुपर्छ भनेर स्थानीय तह, वडा तहसम्म मिलेर काम गर्न तत्पर भएको जानकारी दिनुभयो । डेंगुको प्रकोप बढिरहेको हुँदा जनचेतना बढाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले अहिलेसम्म गण्डकीमा १४ हजार ८ सय ५८ संक्रमित भएकोमा ७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । ७१ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको उल्लेख गर्दै उपचार र खानपानमा समेत ध्यान दिनु पर्ने उहाँको कथन थियो ।
स्वास्थ्यकर्मीको समस्याबारे आफू जानकार रहेको भन्दै उहाँले स्तरवृद्धि तथा आवश्यक तालिमहरू गर्न आफूले ल्याउने बजेटमा व्यवस्था गर्ने जानकारी दिनुभयो ।
५० वर्षपछिका अवस्थालाई मध्यनजर गरेर भौतिक निर्माण गर्नुपर्ने :
प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले लमजुङ अस्पतालको पहिलो प्राथमिकता सिटिस्क्यान सेवा रहेको बताउनुभयो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले राम्रो आचरण र सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा उहाँको जोड थियो । लमजुङ अस्पतालको सेवालाई स्तरोन्नति गर्नका लागि प्राथमिकताका साथ भौतिक संरचना निर्माण गर्नुपर्ने र अब बन्ने भौतिक संरचना ५० वर्षपछिको अवस्थालाई मध्यनजर गरेर निर्माण गरिनुपर्ने उहाँको भनाई थियो ।
गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री मुध अधिकारी, जिससका प्रमुख पूर्णबहादुर गुरुङ, एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्ट, माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, रेडक्रस सोसाइटीका जिल्ला सभापति ऋषिराम घिमिरे, तमु ह्युल छोँज धिँका जिल्ला अध्यक्ष जिवराज घले लगायतले मन्तव्य राख्नु भएको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले अस्पतालले गरेका समग्र गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गत आर्थिक वर्षको प्रगति विवरणसमेत प्रस्तुत गर्नुभएको थियो ।
उत्कृष्ट पाँच जना कर्मचारीलाई सम्मान :
उक्त अवसरमा लमजुङ अस्पतालले उत्कृष्ट पाँच जना कर्मचारीलाई सम्मान गरेको थियो । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री मधु अधिकारी, प्रदेश सभा सदस्य भेषबहादुर पौडेल तथा अस्पताल विकास समितिका अध्यक्ष हरिजङ तामाङले संयुक्त रुपमा टीका र सम्मानपत्रद्वारा कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुनुुहुनेमा स्त्री रोग विशेषज्ञ डा. गोमा रिमाल, स्टाफ नर्स सन्तु राना, इमरजेन्सी इन्चार्ज अहेव गणेश गुरुङ, ल्याब असिस्टेन्ट कुमारवावु तिवारी र प्रशासन सहायक अमृत चिलुवाललाई सम्मान गरेको अस्पतालका प्रमुख मेसु डा. शिशिर देवकोटाले बताउनुभयो । उहाँका अनुसार अस्पतालको विभिन्न विभागमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान पत्रसहित सम्मान गरिएको हो ।
उहाँले भन्नुभयो, ‘उत्कृष्ट कर्मचारी छनौटका लागि अस्पतालले मापदण्ड बनाएको थियो, सोही मापदण्डको आधारमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई छनौट गरी सम्मान गरिएको हो ।’
सो अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसैगरी, अस्पतालले वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कारसमेत वितरण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनु भयो । उहाँले अस्पताल आफैमा ठूलो युनिभरसिटी भएको अनुभूति गरेको बताउदै, सीमित साधन र स्रोतलाई अधिकत्तम प्रयोग गरी समस्याको समाधान गर्दै सेवा दिने कार्यमा आफूहरू दत्तचित्त भइ लागेको र लागि रहने बताउनु भयो ।
अध्यक्ष तामाङको अध्यक्षतामा भएको सो कार्यक्रमको अस्पताल विकास समितिका सदस्य दीपक बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन समितिका सदस्य बासुदेव थापाले गर्नुभएको थियो ।
लमजुङ अस्पताल २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालको रूपमा स्थापना भएको हो । सरकारले व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेपछि २०५८ साउन ५ देखि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)लाई सरकारसँग सम्झौता गरी सञ्चालन गर्न दिइएको थियो । उक्त जिल्ला अस्पताल २१ वर्षपछि सरकारमातहत ल्याई लमजुङ अस्पतालमा परिणत गरिएको हो । अब भने यो अस्पताल ५० शय्याकोहुने भएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक ४, आईतवार ०९:१२ गते