लमजुङ– नेपालीहरूको दोस्रो महान चाड तिहार अर्थात यमपञ्चक समेत भनिने यो पर्वको आज पाँचौँ एवम् मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाउने तयारी छ । कार्तिक १८ गतेका दिनको बिहान ११ः३७ बजे टीकाको उक्तम साइत परेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया समेत भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रमा उल्लेख छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा हुँदैन । तर पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु शुभ हुन्छ । उहाँले भन्नुभयो, ‘यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।’
राज्यका सञ्चालकहरूले साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ रहेको छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाउने प्रचलन छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।
भाइटीकासँग जोडिएको पौराणिक कथा :
सूर्य भगवानका पुत्र यमराज र छोरी भनेको यमुना । यमराज यमलोकमा र यमुना पृथ्वीमा बस्नुहुन्छ भन्ने शास्त्रहरूमा वर्णन गरिएको छ । तिहारको भाइटीकासँग जोडिएको एक दिन आफ्नो बहिनीलाई भेट्नका लागि यमलोकबाट यमराज पृथ्वीमा आइपुगेको कथन छ । तिनै दिनलाई हामीले यमपञ्चक भन्ने गर्दछौँ । पाँच दिनसम्म यमुनाले आफ्ना दाजुलाई अत्यन्त दिव्य तरिकाले स्वागत सम्मान गर्नुभयो । यमपञ्चक समाप्त भइसकेपछि फर्कन लाग्दा, ‘हे बहिनी, तिम्रो स्वागत र सत्कार देखेर अत्यन्त प्रसन्न भएँ तिम्रो के इच्छा छ ?’ भनेर सोध्नुभयो ।
यमुनाले भन्नुभयो, ‘हे दाजु ! प्रत्येक वर्ष हजुर पाँच दिनका लागि यमलोकका सम्पूर्ण कार्यहरू छोडेर हजुर पृथ्वीमा आउनुहोस् । र, यस्तै प्रकारबाट हजुर र हामीहरू बसेर अत्यन्त उत्सव मनाऔँला ।’ भनेर निवेदन गर्नुभयो ।
अर्को प्रसङ्ग अनुसार बलि राजाले आफ्ना दस दिक्पालहरूलाई आफ्ना सेवकहरूलाई पृथ्वीको हालखबर बुझ्नका लागि यो समयमा पठाउनुहुन्छ । हामीले देउसी भैलो खेल्दा खेरी पनि हामीहरूले पनि उक्त वचनलाई हामीहरूले भन्ने र सुन्ने गर्दछौँ ।
यस दिन के–के कर्महरू गर्नु पर्छ ?
भाइटीकाको बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नु पर्दछ । शुद्ध वस्त्र धारण गर्नु पर्दछ । यस्तो प्रकारबाट हामीहरूले भाइटीकाको उत्तम साइतमा दियो, कलश गणेशको स्थापना गर्ने, अस्टचिरिञ्जिीविको स्थापना गर्ने ।
टीका अघि कुन–कुन देवताको कस्तो विधिले पूजा गर्ने ?
सर्वप्रथम हामीले फूल, अक्षता, थालीको तयारी गर्ने, अर्घको पूजा गर्ने । त्यो अर्घ सूर्य भगवान्लाई थोरै जल अर्पण गरिदिने ।
ॐ दिप नारायाणाय नमः भनेर दियोको पूजा गर्ने ।
ॐ वरुण कलशाय नमः भनेर कलशको पूजा गर्ने ।
अनि बिचमा गणेश भगवानको स्थापना गर्ने । ॐ गण गणपताय नमः गणेश भगवानको पूजा अर्चना गर्ने ।
कलशको मुखमा आफ्ना सम्पूर्ण इस्ट देवता, कुल देवता, सम्पूर्ण देवी देउताहरूको स्मरण गर्दै त्यहाँ चन्दन फूल अक्षता चढाएर पूजा गर्नु पर्दछ ।
धूप, बत्ती, नैवेद्य अर्पण गरिसकेपछि सम्भव भएसम्म छुट्टै कलश, छुट्टै थाली स्थापना गरेर त्यहाँ मार्कण्डेय आदि गरेका चिरिञ्जिवीहरूको पूजा अर्चना गर्नु पर्दछ ।
यदि त्यो थाली कलशको स्थापना गर्न सम्भव भएन भने जहाँ हामीले दियो, कलश, गणेशको स्थापना गरिराखेका छौँ, त्यही कलशको मुखमा हामीले अस्टचिरिञ्जिवी स्मरण गर्दै आफ्नो दाजु भाइको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै अस्टचिरिञ्जिवीको पूजा अर्चना गर्नु पर्दछ ।
भाइटीका लगाउँदा कुन कुन सामग्रीको आवश्यकता पर्दछ ?
पूजाका लागि धूप, बत्ती, नैवेद्य, बिमिरो आदि चाहिन्छ । ती सबैको पूजा गर्ने, ओखरको पूजा गर्ने, सबै कुराहरू अर्पण गरिसकेपछि सर्वप्रथम आफ्नो दाजुभाइलाई बिचमा राखेर सात पटक तेलको धारा नटुटाई लगाउनु पर्दछ ।
यसको धार्मिक मान्यता अनुसार मेरो कर्म समाप्ति नहुन्जेलसम्म मेरा दाजुभाइको दीर्घायु होस् भनेर यस्तो प्रकारबाट कामना गर्दै सात पटक परिक्रमा गरेर तेलको धारा लगाउनु पर्दछ ।
अब आफ्ना दाजुभाइका लागि दिदी बहिनीहरूले फूल अक्षता, धूप, बत्ती, नैवेद्य लगायत सबै कुराहरूबाट पूजा अर्चना गर्नु पर्दछ । दिदीबहिनीले पश्चिमतिर फर्केर टीका लगाउनु पर्दछ ।
यदि दिदी, बहिनीहरूले ढाका टोपी ल्याउनु भएको भए टीका लगाउनु भन्दा अगाडिदेखि ढाका टोपी लगाइदिने । अनि सगुन र दही खान दिने । त्यसपश्चात् सप्तरङ्गी टीका र माला लगाइदिनु पर्दछ । दाजुभाइले पनि दिदी, बहिनीहरूका निम्ति पनि द्रव्य, दक्षिणाहरू, भेट उपहारका सामान प्रदान गरेर दिदी, बहिनीहरूका पाउमा ढोग गर्नु पर्दछ । दिदी, बहिनीहरूले पनि आफ्ना दाजु भाइका निमित्त ल्याएका मीठा परिकारहरू, फलफूलहरू, मिठाइका परिकारहरू, आफ्ना दाजुभाइका निम्ति अर्पण गर्नु पर्दछ ।
उपहार साटासाट गरेका वस्तुहरू दिदी, बहिनीले दाजु भाइको लिनु हुँदैन । दाजु भाइले दिदी, बहिनीको लिनु हुँदैन । दिइसकेपछि फिर्ता गर्ने कर्म गर्नु हुँदैन ।
यस भाइटीकामा भुलेर पनि गर्न नहुने कार्य :
पहिलो, यस दिन तामसिक भोजन गर्नु हुँदैन । सात्त्विक भोजन गर्नु पर्दछ । दोस्रो, विशेष गरेर टीका लगाउनु भन्दा अघि सबै जना शुद्ध मुखमा भएर बसेर मात्र टीका लगाउनु पर्दछ ।
तेस्रो, दाजुभाइले आफ्ना दिदी बहिनीका निम्ति चित्त दुख्ने बचनहरू बोल्नु हुँदैन । दिदी बहिनीले पनि दाजुभाइका निम्ति मन दुख्ने कुरा गर्नु हुँदैन । भाइटीकाको अर्थ अत्यन्त सौहार्दपूर्ण वातावरणमा मनाइने पवित्र कर्म भएका कारण दाजुभाइ–दिदी बहिनीबिच सम्बन्ध प्रगाढ बन्दै जान्छ भन्ने शास्त्रीय मान्यता छ ।
प्रकाशित मिति २०८१ कार्तिक १८, आईतवार ०६:३५ गते