
काठमाडौँ– झापाको दमक नगरपालिका– ३ स्थित मावाखोलामा देशु भनिने यामु निरौलाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आलटाल गरेको पीडित पक्षको आरोप छ । सो हत्या प्रकरणमा सत्ता पक्षीय कार्यकर्ता जोडिएको गन्धपछि अनुसन्धान प्रभावित भएको उनीहरूले बताएका छन् ।
दमक नगरपालिका– ९ घर भएका ३७ वर्षीय निरौला पहिले जग्गा किनबेच व्यवसाय गर्थे । उनको कार्तिक ६ मा हत्या भएको थियो ।
सत्ता निकटस्थहरूलाई नियन्त्रणमा लिन र अनुसन्धान अघि बढाउन प्रहरीले आलटाल गरिरहेको पीडित परिवारको आरोप छ । हत्यामा संलग्न ७ जना विरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भए पनि अहिलेसम्म ३ जना मात्र पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भएका ४२ वर्षीय प्रकाश कार्की, ४९ वर्षीय ध्रुव गौतम र सङ्खुवासभाका २६ वर्षीय गणेश दर्जी छन् ।
मावा खोलास्थित मिक्लाजुङ जोड्ने पुल छेउको जग्गाबारे विवाद हुँदा ७ जना मिलेर उनको हत्या गरेका हुन् । दुई समूहको बिचमा जग्गाको स्वामित्वबारे विवाद सुरु भएपछि कुटाकुट हुँदा उनको हत्या भएको हो ।
हत्या भएपछि इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापाले झापाका दुई जना एमालेका कार्यकर्ताविरुद्ध जाहेरी लिन अस्वीकार गरेका थिए । डीएसपी थापाले एमालेका कार्यकर्ताका रुपमा परिचित बुद्धि थापा र नम चेम्जोङको नाम हटाएर जाहेरी ल्याउन भनेका थिए । थापा एमाले प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ हुन् । उनी झापाका एमाले इन्चार्ज रोमनाथ ओलीको नातेदारह हुन् । चेम्जोङ एमालेको भातृ सङ्गठन युवासंघका पूर्वकेन्द्रीय सदस्य भएको बताइएको छ ।
प्रहरीले सत्ता निकटहरूको नाम मेटाएर जाहेरी ल्याउन भनेपछि पीडित पक्षले दमकमा आन्दोलन चर्काएका थिए । आन्दोलनपछि बल्ल दुई जनाको नाममा पनि किटानी जाहेरी लिन प्रहरी सहमत भएको मृतका दाजु नवराज निरौलाले जानकारी दिनुभयो । निरौलाले भन्नुभयो, ‘जाहेरी लिए पनि हत्यामा संलग्नहरू खुलेआम हिँडिरहेका छन्, प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।’
घटनास्थलमा रहेको मे.१ च २३९९ र प्रदेश– १–०१–००१ च ८६३१ नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ ।
हत्यामा संलग्न ४ जना अझै फरार रहेको प्रहरी दावी छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले घट्नाबारे अनुसन्धान भइरहेको बताउनु भयो । उहाँका अनुसार घटनास्थल नजिकै रहेको सीसीटिभीको फुजेट सङ्कलन गरेर विश्लेषण गर्ने काम भइरहेको र फरार आरोपीहरूको खोजी भइरहेको छ ।
प्रकाशित मिति २०८१ कार्तिक १८, आईतवार ०८:०३ गते