तिहारको विदाईसँगै छठ पर्वको तयारी सुरु : जनकपुर क्षेत्रमा विशेष रौनक

तिहारको विदाईसँगै छठ पर्वको तयारी सुरु : जनकपुर क्षेत्रमा विशेष रौनक

एजेन्सी

@antaranganews

२०८१ कार्तिक १९ गते सोमबार ०७:४६

आज १९ गतेदेखि सुरु भएको पर्वअन्तर्गत २१ गते साँझ अस्ताउँदो सूर्यलाई र २२ गते उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । सरकारले कार्तिक २२ गतेलाई छठको मुख्य दिन मानेर त्यो दिनका लागि विदा समेत दिएको छ ।

विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

जनकपुर– यो वर्षका चाडपर्वहरू निख्रदैछन् । नेपालीको दोस्रो ठूलो चाड तिहारको विदाई गरिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण कार्य भाइटीका लगाइसकिएपछि कार्तिक १८ गते थालिएको हो । यस वर्ष कार्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
छठका बर्तालुहरूले कार्तिक शुक्ल पञ्चमीका दिन सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । आज १९ गतेदेखि सुरु भएको पर्वअन्तर्गत २१ गते साँझ अस्ताउँदो सूर्यलाई र २२ गते उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । सरकारले कार्तिक २२ गतेलाई छठको मुख्य दिन मानेर त्यो दिनका लागि विदा समेत दिएको छ ।
खास गरी यो पर्वले मिथिला क्षेत्र अर्थात जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै हर्षोल्लास पूर्वक मनाइने गर्दछ । छठपर्वको तयारी शुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौं रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन शुरु गरेका छन् । जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरी जस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ ।
कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ ।
पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।
यसैबीच, गुह्येश्वरी क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ । यहाँ हरेक वर्ष गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण गर्ने प्रचलन छ ।
एउटा छठ घाट पूजाका लागि समितिले एक हजार एक सय रुपैयाँ शुल्क लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको समितिको भनाइ छ । विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई छ लाख रुपैयाँ सहयोग गर्ने गरेकोमा यो वर्ष पनि त्यो सहयोगले निरन्तरता पाउने समितिले जनाएको छ ।
त्यस्तै, कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ ।
छठका लागि पाँच करोड रुपैयाँको केरा खरिद :
जनकपुरधाममा छठका लागि पाँच करोड रुपैयाँ बराबरको केरा धनुषा– छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।
जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष करिब चार करोडभन्दा बढीको केरा ल्याइएका थियो, यसवर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा ल्याइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘१० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ ।’
जनकपुरधाममा नेपालका गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट ल्याउने गरिएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केराहरू भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वे बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको छ ।’
नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीहरू बताउँछन् । देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेको हुँदा पनि सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको उनीहरूले जानकारी दिए ।
यतिबेला बजारमा प्रति एक घरी केराको मूल्य पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १९, सोमबार ०७:४६ गते
हजुरको प्रतिक्रिया