पोखरा– यहाँ चलिरहेको स्वाभिमान र देशभक्तिपूर्ण शान्ति आन्दोलनमा प्रहरीले दमन गरेको छ । सरकारले दुईतिहाईको दम्भ देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका विरुद्धमा गरेको प्रतिशोधपूर्ण गिरफ्तारीको विरुद्धमा सुरु भएको नागरिक आन्दोलनका क्रममा आज प्रहरीले बर्बर दमन गरेको छ । यहाँको रत्नचोकमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै केही मानिसलाई घाइते समेत बनाउँदै गिरफ्तार गर्ने कार्य कार्तिक २० गते गरेको हो ।
शान्तिपूर्ण उक्त र्याली रास्वपाको गण्डकी प्रदेश कार्यालय जिरो किमि स्थित घण्टीघरबाट सुरु भई सिर्जना चोक, रत्न चोक हुँदै राष्ट्रबैंक चोकतर्फ अघि बढी रहेको थियो । सो अवसरमा राष्ट्रबैंक चोकसम्म र्याली जान दिने पूर्वसहमति विपरित प्रहरीले करिब डेढ सय मिटर माथिनै र्यालीलाई रोक्ने काम गरेपछि स्थिति केही असहज बन्न गएको आयोजकको भनाइ छ ।
प्रदर्शनकारीहरू नाराबाजीमा व्यस्त रहेका बेलामा प्रहरीले अचानक पूर्वचेतावनी बिनै अश्रुग्यास प्रहार गरेको थियो । त्यो ग्यास पनि म्याद सकिएको भएको आयोजकले जानकारी दिए । आयोजकका अनुसार म्याद सकिएको अश्रुग्यास प्रयोग गरी नागरिकको स्वास्थ्यमा खेलवाड गरिएको बारेमा भोलिका दिनमा अन्तराष्ट्रिय अदालतमा समेत सरकारका विरुद्ध त्यो प्रश्न उठाइने भएको छ ।
सो आन्दोलनको रास्वपाले नेतृत्व गरिरहेको भएता पनि सो दलको झण्डा वा चुनाव चिन्हको संकेत र्यालीमा कतै देखिदैनथ्यो । जसले त्यो आन्दोलन स्वाभिमान र देशभक्तिपूर्ण भएको पुष्टि गर्दथ्यो । प्रदर्शनकारीहरूले लगाउने गरेका नाराका बीचबीचमा गाइएका राष्ट्रवादी गीत ‘गाउँ गाउँबाट उठ, बस्तीबस्तीबाट उठ … ’, ‘गाउँछ गीत नेपाली ….. ’, ‘दोषि निर्दोषिको छानविन हुनुपर्छ …’ जस्ता गीतबाट पनि आन्दोलन स्वाभिमान र देशभक्तिपूर्ण भएको पुष्टि गरेको प्रदर्शनका सहभागीहरूले बताएका थिए ।
सो सभामा रास्वपाका उपसभापति डिपि अर्याल, केन्द्रीय सदस्य रमेश प्रसाई, सांसद तोसिमा गौतमले सम्बोधन गर्नु भएको थियो ।
रास्वपाका केन्द्रीय उपसभापति डिपि अर्यालले आजको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमन, अश्रुग्यास प्रहार, गिरफ्तारी, गाडीको चावी खोस्ने, राजनीतिक प्रतिशोध आदि कार्यको भर्त्सनाकासाथ घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै गिरफ्तारवालाहरूको तत्काल रिहाइको माग गर्नुभयो । उहाँले प्रदर्शनमा प्रहरी हस्तक्षेप सैह्य हुने छैन भन्दै प्रहरी दमनका विरुद्धमा आफूहरूले थप कडा आन्दोलन गर्नु नपरोस् भन्ने चेतावनी दिनुभयो ।
सांसद सोभिता गौतमले सभापति रविलाई मुद्दा लगाउनुको रहस्य खोल्दै सहकारी ठगी बारेमा छानविन गर्न गठित संसदीय छानविन समितिको १२४४ पृष्ठ लामो प्रतिवेदनले प्रष्ट रुपमा रवि कुनै सहकारीमा सञ्चालक नरहेको र ऋण लिएको नदेखिएको उल्लेख गरेको छ । तर स्थापनाको छोटो अवधिमा २१ सिटका साथ संसदमा उपस्थिति हुनु र संसदको मर्यादा अनुसार तथ्य र तथ्यांकका आधारमा आफ्ना बिचार सांसदहरुले राख्न थालेपछि भ्रष्टाचारका मतियारहरू तिल्मिलाएर रातारात गठबन्धन बदली वर्तमान सरकार गठन गरी रास्वपाका सभापति रवि लामिछानेका विरुद्ध प्रतिशोधपूर्ण कारवाहीमा सरकार उत्रिएको दावी गर्नुभयो ।
उहाँले आफ्ना माग दुई वटामा रहेको जानकारी दिदै पहिलो रविको रिहाई र दोस्रो सहकारीका अपचलन भयो भनिएको ८८ अर्ब रुपैयाँको खोजी गर्नु रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले देशका सबै संघसंस्थामा राजनीतिकरण गरिएको बताउँदै न्यायालयमात्र बाँकी रहेको र त्यो पनि अछुत रहेन भने सबै स्वाहा हुनेछ भन्नुभयो ।
रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले प्रहरी हस्तक्षेपको कडा शब्दमा भर्त्सना गर्दै आफूहरू गोली खान पनि तयार रहेको तर न्यायको यो लडाईको मैदानबाट नहट्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भ्रष्टाचारलाई मलजल गर्नका लागि वर्तमान गठबन्धनको सरकार रातारात बनेको र यसले भ्रष्टहरूको संरक्षणको कार्य गरेको बताउनु भयो । उहाँले यो अभियान रविलाई बचाउनका लागि नभई यो प्रदर्शन स्वाभिमान र देशभक्तिपूर्ण शान्ति आन्दोलन भएको उल्लेख गर्नुभयो ।
रास्वपाका सभापति राजन गौतमले आजको शान्तिपूर्ण प्रदर्शनका क्रममा सात जना साथीलाई गिरफ्तार गरिएको र पाँच जना घाइते भएको जानकारी दिदै उनीहरूको तत्काल रिहाई र स्वास्थ्य लाभको कामना गर्दछु भन्नुभयो । उहाँले कार्तिक २ गतेबाट सुरु भएको यो आन्दोलनको दोस्रो चरण आजबाट प्रारम्भ भएको जानकारी दिनुभयो । उहाँले रवि अब व्यक्ति नभई विचार, संस्था र अभियान भएको उल्लेख गर्नु भयो । दुई तिहाईको सरकारको जुन दम्भ छ तागत भए मध्यावधि निर्वाचन घोषणा गरेर हेर, रविले जेलबाट नेतृत्व गरेर दुई तिहाई बहुमत रास्वपालाई दिलाउनु हुनेछ उहाँले भन्नुभयो ।
उक्त र्याली तथा कोणसभाको सञ्चालन रास्वपाका प्रदेश सचिव नवीन त्रिपाठीले गर्नु भएको थियो ।
संयमताले जिते प्रदर्शनकारीहरूले :
प्रहरीले प्रदर्शनकारीहरूलाई उत्तेजित बनाई अराजक स्थिति उत्पन्न गर्न पटक पटक प्रयास गरेको भएता पनि उनीहरूले संयमपूर्ण व्यवहारले जितेका छन् । शान्तिपूर्ण प्रदर्शनमा अश्रुग्यास छाड्ने, गिरफ्तारी गर्ने, नाराका लागि प्रयोग गरेको गाडीको चावी खोस्ने, प्रदर्शनकारीहरूको किल्ला दुईपटकसम्म भत्काउने जस्ता हरकत गरी नाराका लागि प्रयोग गरेको गाडी घेर्ने काम गरेको भएता पनि प्रदर्शनकारीहरूले संयमता अपनउँदै स्थितिलाई अनियन्त्रित हुन नदिई जित्ने काम गरेको फोटाहरूमा समेत प्रष्ट देख्न सकिन्छ । यसबाट सरकारले सोचेजस्तो सहजै आन्दोलनकारीहरूले सडक नछाड्ने स्थिति थप प्रष्ट भएको रुपमा आजको यो प्रदर्शनले पुष्टि गरेको छ ।
स्मरणीय छ, सो अवसरमा दुई जना ७२ वर्षका आमाहरूले प्रदर्शनकारीहरूका लागि पानीको प्रवन्ध गर्नका लागि आफ्नो बृद्धभत्तामा पाएको रकमबाट पाँच सय पाँच र एक हजार रुपैयाँ प्रदान गर्नु भएको थियो भने अन्य दर्जनौं महानुभावहरूबाट दुई हजार रुपैयाँदेखि विदेशबाट पनि पानी पिलाउन ३५ हजार रुपैयाँसम्म सहयोग एक दाताबाट प्राप्त भएको जानकारी दिइएको थियो ।
उक्त प्रदर्शनको फोटो फिचर सहित :



प्रकाशित मिति २०८१ कार्तिक २०, मंगलवार २२:१३ गते