बेसीशहर– आज हरिबोधिनी एकादशी । यो वर्ष कार्तिक २८ गतेका दिनमा यो पर्व परेको छ । यो पर्व मनाउन जिल्लामा रहेका आठमध्ये चार पालिकाले आफ्नो पालिकामा स्थानीय विदा दिएका छन् । यसबाट पनि यस पर्वको महत्व झल्कन्छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ ।
आज मर्स्याङ्दी गाउँपालिकाले आयोजना गरेको पाँच दिने ‘मर्स्याङ्दी महोत्सव’को उदघाटन हुने कार्यक्रम रहेको छ भने सुन्दरबजार नगरपालिका– ७, राइनास नगरपालिका– ८ र तनहुँको भानु नगरपालिकाको संगम स्थलका रुपमा परिचित पाउँदीबजारमा विशेष मेला लाग्ने गर्दछ । आज त्यहाँ सातभन्दा बढी फूलको डोली तार्ने काम हुने भएको छ । यसैगरी, बेलघारी, चेपे नदी किनार, मादी नदी किनारको कास्की सीमामा रहेको रामबजार कास्कीको पिप्ले बीचमा मादी र पास्ते खोलको संगम स्थलका साथै मादी र रिस्ती खोलाको दोभानमा फूलको डोली तार्ने तयारी छ ।
एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरू मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गर्ने प्रचलन छ ।
असार शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कार्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी र कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।
भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने उल्लेख छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरूले बिहानै नुवाईधुवाई गरि ब्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्ने प्रचलन छ ।
महाभारत ग्रन्थका अनुसार कहिल्यै भोको नबस्ने भीमसेनले पनि यस दिन ब्रत बसेका थिए । त्यसैलै अरु दिनमा ब्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत ठूलो एकादशीको दिनमा भने ब्रत बस्नै पर्ने मान्यता रहेको छ ।
चार महिना अघि अर्थात असार शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ ।
भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन पनि गरिन्छ ।
हरीबोधनी एकादशीको दिनमा प्रसादको रुपमा विशेषगरी सेलरोटी, सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर ब्रतालुहरूले प्रसादको रुपमा खाने गर्छन् ।
हिन्दू धर्मग्रन्थहरूमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।
एकादशीको जन्म :
यसबारे एउटा रोचक मिथक छ । परापूर्व कालमा ब्रह्माको वंशमा ‘तालजङ्घ’ नाम गरेको डरलाग्दो असुर जन्मियो । उसको छोरा ‘मुर’ चन्द्रावती नामको नगरमा बस्दथ्यो । ‘मुर दानव’ सारै पराक्रमी भएकाले आफ्नो वीरताबाट तीनै लोकमा प्रसिद्ध हुन गयो । एक पटक उसले स्वर्गमा बस्ने देवताहरूलाई युद्धमा परास्त गरी त्यहाँबाट लखेट्यो । यतिसम्म एकछत्र पार्यो कि अग्नि, चन्द्र, सूर्य, वायु र वरुणजस्तालाई पनि पदच्युत गरी अर्कै व्यवस्था लागू गर्यो । मुर दानवको यो अत्याचारबाट मुक्त हुन देवगण शिवजीकहाँ सल्लाह गर्न गए ।
शिवजीले देवगणलाई क्षीर सागरमा शयन गरिरहनुभएका विष्णुको स्तुति गर्न सुझाव दिए । भगवान् विष्णुलाई स्तुतिमार्फत प्रसन्न गराएपछि उनी जागा भए ।
जागेका विष्णुले सबै देवताहरूलाई लिएर चन्द्रावती नगरमा जानुभयो । दानवहरूलाई युद्धमार्फत संहार गरेर भगवान् विष्णुलगत्तै बदरिका–श्रमको सिंहावती गुफामा गएर सुत्नुभयो । यता मुर नामक दैत्य विष्णुको पिछा गर्दै गुफाभित्र पुग्यो । सुतेका विष्णुलाई मार्न तम्सियो । तत्काल विष्णुको शरीरबाट अत्यन्त रूपवती एवम् दिव्य अस्त्रशस्त्रले युक्त कुमारी प्रकट भइन् । भगवानको तेजको अंशबाट जन्मिएकी ती कन्याले मुर दानवलाई युद्धको हाँक दिइन् । तर लड्दालड्दै मुर खरानीको रासमा परिणत भयो । त्यसपछि विष्णु व्यूँझनु भयो । कन्याको वीरताबाट प्रभावित हुँदै विष्णुले वर माग्न अनुरोध गरे । ती गुणवतीले पनि प्रभु साँच्चै प्रसन्न हुनुहुन्छ भने हजुरको कृपाले सबै तीर्थमा मुख्य, विघ्नबाधा नाश गर्ने, सबै प्रकारका सिद्धि दिने देव बन्न सकूम् भनिन् । विष्णुले पनि वरदान दिए । तिनै रूपवती कन्या एकादशीको नामले संसार प्रसिद्ध भइन् ।
उहिल्यै कालनेमि नाम गरेका दैत्यले आफ्नी छोरी वृन्दालाई जालन्धर नामक दानवसित बिहे गरिदिए छन् । समुद्र मन्थन गरेको बेला महादेवको पसिनाबाट जालन्धरको जन्म भएको थियो । त्यति बेला महादेवको कुनै कुरामा स्वर्गका राजा इन्द्रले अपमान गरेका थिए । त्यसै भएर जालन्धरले आपूm समुद्रबाट जन्मिएको हुँदा महासागरबाट उत्पन्न भएका १४ रत्न इन्द्रसित माग्यो । अनि इन्द्रले दिन आनाकानी गरेछि उसले ब्रह्माको घोर तपस्या गर्यो । ब्रह्मा प्रसन्न भएर जालन्धरलाई वर दिए । जबसम्म तिम्रो स्त्री तिमीलाई छोडेर कुनै परपुरुषसित सम्बन्ध राख्दिनन् तब तिम्रो मृत्यु असम्भव छ । त्यसपछि जालन्धर सुरिएर इन्द्रलोकमा आक्रमण गरी अमरावतीमा विजयको झण्डा फहरायो ।
सबै देवताहरूको भागदौड मच्चियो । विष्णु भगवान् ज्यान बचाउन वैकुण्ठलोक पुगी लुक्नु भयो । आफ्नी परम प्रिया लक्ष्मीलाई सबै हाल बताउँदै उपायबारे लक्ष्मीसित अनुरोध गरे । लक्ष्मीले विष्णुसित वृन्दाको सती बलबारे बताइन् । सतीशिरोमणि वृन्दाको सतीत्व नष्ट गर्न देवगण असफल भएपछि स्वयम् विष्णु भगवान् जालन्धरको रूप लिएर गई सतीत्व हरण गरे । लगत्तै इन्द्रले जालन्धरको टाउको काटेर वृन्दाको आगनमा खसालिदिए । यो थाहा भएछि वृन्दाले विष्णुलाई श्राप दिइन् । विष्णु कालो ढुङ्गा बने । त्यसै बेलादेखि विष्णु शालिग्राम बने भने वृन्दा तुलसी भइन् । त्यसैले विष्णुमार्गीहरू तुलसी रूपी वृन्दाको विवाह बर्षेनी गर्ने गर्छन् ।
एकादशीका नामहरू :
उत्पन्ना, मोक्षा, सफला, पुत्रदा, षट्तिला, जया, विजया, आमलकी, पापमोचनी, कामदा, बरुथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापाङ्कुशा, रमा, हरिप्रबोधिनी, कमला, कामदा हुन् । यतिखेर चर्चा गर्न लागेको एकादशी प्रबोधिनी एकादशी हो ।
प्राकृतिक विपत्तिमा मान्छेहरू पर्न नपरोस् भन्ने चाहना नै यस पर्वको ब्रतको अन्तर आसय हो । विष्णुभक्तहरू यो चतुर्मासको व्रत गर्छन् । चतुर्मासमा विवाह, ब्रतबन्ध र अन्य माङ्गलिक काम गर्न हुँदैन । यसको मूल कारण चाहिँ यो समय बर्षाको हुँदा बिच्छी, सर्प, नदीखोला, बाढीपहिरो र हिंस्रक जनावरहरूले दुःख नदिउन् भन्ने हो ।
भनिको छ–
तावत् गर्जन्ति तीर्थानि, गङ्गाभागीरथी क्षितौ ।
यावन् नायाति पापघ्नी, कार्तिके हरिबोधिनी ।।
अर्थात् पृथ्वीमा जहाँसम्म पापलाई नाश गर्ने कार्तिक शुक्लको हरिबोधनी एकादशी आउन्नन् त्यहाँसम्म गङ्गा भागीरथी आदि तीर्थहरू गर्जन्छन् । यो भनाइले हरिबोधनी एकादशीको महाशक्तिलाई नमन गरेको बुझिन्छ । कृष्ण भगवानले युधिष्ठिरलाई भन्नुहुन्छ– कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी एकादशीमा भगवान् विष्णु जागा हुन्छन् । यस दिनलाई देवोत्थान पनि भनिन्छ । यो एकादशीको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबर हुन्छ । भक्तिपूर्वक उपवास गर्नाले ऐश्वर्य, सम्पत्ति, उत्तम बुद्धि, राज्य तथा सुख पाउन सकिन्छ । कार्तिक महिनामा भगवान् जनार्दनलाई तुलसी पत्र, पूmल अर्पण गरी भक्तिपूर्वक पूज्नाले र तुलसीको हरेक दिन दर्शन, स्पर्शन, ध्यान, नाम कीर्तन, स्तवन, अर्पण, सेचन, नित्य पूजन गरेमा त्यस्तालाई कोटीसहस्र युगसम्म पुण्य प्राप्त हुन्छ ।
यसै दिन घरआगनमा मण्डप बनाएर तुलसीको विवाह गर्ने चलन छ । यो कार्यक्रममा नवग्रह तथा मातृकाको पूजा गरिन्छ । सेतो रङ, पूmलको माला र पछ्यौरा वा सलहरूले तुलसीलाई सिँगार्ने चलन छ । भव्य मण्डप बनाएर विष्णुको प्रतीकको रूपमा निगालाको लिङ्गा गाडिन्छ । हाम्रो धर्ममा तुलसीको महिमा यसरी गाइएको छ । ‘तुल–सी त्वं जगत् माता तुलसी त्वं जगत् पिता’ यसरी तुलसीलाई संसारकै आमा र बा भनेर सम्मान बर्साइएको पाउँछौं । त्यसैले तुलसीको मठ भएको घर तीर्थ वा देवालयसमान हुन्छ । कार्तिक महिनाभरि सबै देवदेवी तुलसीमा निवास गर्छन् । तुलसीको सुगन्धले दशै दिशा पवित्र हुन्छ । त्यस्तो घरमा यमदूतहरू पस्न सक्दैनन् । गरुड पुराणले त यतिसम्म किटान गरिदिएको छ कि कार्तिक महिनामा एउटा तुलसी पत्र विष्णुलाई अर्पण गर्दा दश हजार गोदान गरे सरह फल प्राप्त हुन्छ । सत्यभामाले गरेको तुला दानमा सबै सम्पत्ति राख्दा पनि कृष्ण नै ओजनदार हुँदा रुक्मिणीले तुलामा तुलसी पत्ता राखिदिने सङ्केत गरेर यसको गरिमालाई महिमामण्डित बनाएको रोचक कथा हामी सबैलाई थाहा भएकै कुरा हो ।
विज्ञानको दृष्टि अनुसार पनि तुलसी बहुमुखी महौषधि हो । यसको पात, डाँठ वा पूmलको रसले रुघाखोकी, औलो भगाउँछ भने यसको रस जिउमा लगाएर सुत्दा लामखुट्टेको टोकाइबाट मुक्ति पाइन्छ । पञ्चामृत वा चरणामृतमा तुलसी पात राखेछि कुनै पनि कीटाणु पर्न सक्दैनन् । परे पनि त्यस्ता पेय पदार्थ अपेय बन्दैनन् । सर्प, बिच्छीजस्ता विषधरहरू तुलसीको अगाडि एकछिन पनि टिक्न सक्दैनन् । तुलसी पत्र नचढाई शालिग्रामको पूजा हुन सक्दैन । तुलसीको बास्नाले श्वासप्रश्वासका बिरामीलाई सन्चो दिन्छ । मर्न लागेका प्राणीहरूलाई तुलसी जल दिन सके मुक्त हुन्छन् ।
त्यसैगरी मृत व्यक्तिको शव पोल्दा तुलसीको दाउरा थोरै मात्रामा प्रयोग गर्दा पनि वातावरण दुर्गन्धित बन्दैन । तुलसीसित सङ्क्रामक रोगलाई निरोध गर्ने अद्भूत तागत छ । हाम्रा ऋषिमुनिहरूले त्यसै हचुवाको भरमा पूजा गर्न लगाएका हैनन् भनेर बुझ्नु नयाँ पुस्ताको जिज्ञासु कर्तव्य हो ।
‘हरि’को लाक्षणिक अर्थ विवेक हो । न्याय अन्याय, ठीक बेठीक, गुण अवगुण, उचित अनुचित छुट्याउने क्षमता नै विवेक वा हरि हो । त्यस्तो परमार्थ (परोपकारी) भाव जागा हुने वा ब्यूझने शुभ मुहूर्त भएरै यो दिनलाई ‘हरिप्रबोधिनी’ एकादशी भनेर पुकारिएको हो ।
यस दिन लमजुङका अतिरिक्त काठमाडौंको बूढानिलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् । त्यस्तै, सुनसरीको बराह क्षेत्रमा पनि मेला लाग्ने गर्दछ ।
हरि जागा हुने र मानव मनमष्तिष्क जाग्रत गराउने जस्ता थुप्रै गुरु गर्व बोकेको पर्व हो हरिबोधनी एकादशी ।
प्रकाशित मिति २०८१ कार्तिक २७, मंगलवार ०६:२७ गते